मेलम्चीको पाइप फुट्दा छेउछाउका पसलको लाखौँ नाेक्सान

फाल्गुन २०, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको थापाथली चोकनजिक मेलम्चीको पाइप फुटेर बगेको पानी छेउछाउका पसलभित्र छिर्दा लाखौंको नोक्सान भएको छ ।

थोक औषधिको कारोबार गर्ने सत्यनारण मेहताको औषधि गोदामभित्र पाइप फुटेर बगेको भल छिर्दा पचास लाखभन्दा धेरैको नोक्सान भएको बताए । उनले भने, 'अब यसको क्षतिपूर्ति कसले दिन्छ ? यसका लागि कसलाई कहाँ भन्न जाने हो ?' मंगलबार बिहान खानेपानीको पाइप फुट्दा प्रसूति अस्पताल जानेतिरको सहायक सडकमा खाल्डो पर्नुका साथै पैदलयात्रु हिँड्ने सडकपेटीसमेत भत्किएको छ । पानीको भल करिब एक दर्जन पसलभित्रै छिरेको थियो ।

स्थानीय किराना व्यवसायी नारायण धरेलले जेनतेन आफ्नो पसलभित्रका सामान सारेर क्षतिबाट जोगिए पनि छेउछाउका केही पसलभित्रै पानी छिरेर नोक्सान पुगेको बताए । उनले भने, 'यो मेलम्चीको पानी त पानी बमजस्तो पो भयो ?  कहाँ कतिबेला पाइप फुटछ र क्षति पुर्‍याउँछ टुंगै नहुने ।' उनले यस्तो क्षतिको जिम्मेवार को हुने हो ? भनेर प्रश्न पनि गरे ।

यस्तै अवस्था गत माघ ३० गते पनि बबरमहलमा पनि देखिएको थियो । पाइप फुटेपछि जिल्ला अदालत काठमाडौं अगाडिको सडक र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरू डुबानमा परेका थिए । 

अहिले काठमान्डौ महानगरपालिकाले पानी फुटेर खाल्डो परेको ठाउँमा घेरा बनाएको छ । अनि नर्भिक अस्पताल जाने बाटो बन्द गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully