काठमाडौँ — १४ वर्षको उमेरमा सारेगम लिटि च्याम्पको स्टेजको फाईलिस्टमा पुगेपछि अभिज्ञा घिमिरे धेरैको आँखामा मात्रै परिनन् । धेरैको कानमा पनि गुन्जिइन् । यिनै अभिज्ञाले पछिल्लोपटक नेपालयले सुरु गरेको पलेटी श्रृंखलामा आधुनिक संगीतका एक से एक हस्तीहरुको गीतमा स्वर भरेर आफ्नो स्वरको जादुलाई फेरि एकपटक प्रमाणित गरिन् ।
फत्तेमान राजभण्डारीदेखि कुमार सुब्बासम्म र प्रेमध्वजदेखि भीम विरागसम्म, अमर गुरुङदेखि योगेश वैद्यसम्मका गीतमा स्वर भरिरहँदा अभिज्ञाको खुबी आफै प्रमाणित भइरहेजस्तो देखिन्थ्यो । २० वर्षअघि सुरु भएको पलेटी श्रृंखलाको मञ्चमा बसेकी अभिज्ञालाई हेर्दै त्यस दिन संगीतकार आभाषले भनेका थिए, पलेटी सुरु हुनुभन्दा पछि जन्मेकी छोरी पुस्ताको प्रस्तुति । यिनै अभिज्ञाले कान्तिपुर स्टुडियोमा आफ्नो सांगीतिक यात्राको सुरुवाती संघर्षदेखि आफ्नो करिअरबारे बताइन् ।
चार वर्षको उमेरदेखि भजन सिकेर गाउन थालेकी अभिज्ञा सधैं केही न केही गुनगुनाइरहने बाबु र आमाबाट प्रभावित थिइन् । तर बाबुभन्दा एक कदम अघि बढेर उनी गुरुबाटै सिक्न चाहन्थिन् । भनिन्, ‘एकदिन मैले बाबालाई गुरु खोजिदिन भनेको थिए । पछि भास्कर माधवदास श्रेष्ठ गुरुसँग हार्मोनियम बजाउँदै भजन गाउन थाले ।’
स्वरसम्राट नारायण गोपालदेखि तारादेवी, अरुणा लामा र लता मंगेशकरसम्मको गीत सुनेर हुर्केकी अभिज्ञासँग भर्सटाईल गीतकार बन्ने धोको छ । त्यही भएर त उनले भजनदेखि आधुनिक र शास्त्रीय संगीतसम्म सिकेकी छिन् । ९ वर्षअघि शास्त्रीय संगीत सिकेकी उनले भनिन्, ‘सानैदेखि पुरानो गीतहरू सुन्ने बानी पर्यो । भारतीय गायिका लता मंगेशकर मेरो आइडल सिंगर हो ।’
पलेटी प्रस्तुति आफ्ना लागि एउटा सिकाइनको नयाँ मञ्च भएको बताउँदै उनले गीतको भावसँगै गाउनुपर्ने, हरेक शब्दमा ध्यान दिनुपर्ने र गीतलाई महसुस पनि गर्नुपर्ने कुरा सिकेको अनुभव सुनाइन् । ‘पुरानो गीत सुन्दा सजिलो लागे पनि गहिरिएर सुन्दा यसलाई हामीले महसुस पनि गर्नुपर्ने रहेछ,’ भनिन्, ‘निराश छ भने त्यसरी नै, माया र खुसी छ भने हामीले गीत गाउँदा त्यसरी भाव ल्याउनुपर्ने रहेछ ।’
जेनजी पुस्ताका अभिज्ञा समयसँगै धेरै कुरा बदलिएको विषयमा उत्तिकै जानकार छिन् । त्यही भएर त उनी सामाजिक संजालमा भाइरल भए पनि यो दिगो हुने कुरा होइन भन्ने बुझाई राख्छिन् । भाइरल हुने चक्करमा नलागेर लामो बाटो हिँड्नुपर्ने बताउँदै उनले भनिन्, ‘भाइरल हुँदा स्रोता र दर्शकले चाँडै चिन्ने भए पनि दिगो हुने काममा लाग्नुपर्छ ।’
त्यसैले उनलाई धेरैबाट गीतको अवसर आए पनि शब्द, शब्दअनुसारको संगीतको मिश्रण चित्त नभबुझेसम्म गाउन तयार नहुने बताउँछिन् । ‘गीतको शब्द मन परेको छैन भने म गाउँदिन । मलाई कति धेरै अफर आइरहेको हुन्छ तर मलाई मन नपरेसम्म म तयार हुन्न । शब्दसँग जोडिन सकिएन भने गाउन सकिँदैन,’ आफ्नो कुरा राख्छिन्, ‘त्यसपछि मेलोडी सुन्छु र दुवै मिल्यो भने म तयार हुन्छु । त्यही भएर मेरो गीत आउने ग्याप छ । अहिले गीतहरू आएको छैन ।’
अभिज्ञालाई संगीतको कुनै विधामा अडिएर गाउन रहर छैन । उनी आफ्ना स्रोतासामु भर्सटायल सिंगरको रूपमा चिनिन चाहन्छिन् । भर्सटायल भए सबै पुस्ताको लागि गाउन सकिने उनको बुझाई छ । ‘भर्सटालिटी मसँग छ । मेरो यो विधा नै मन पर्छ भन्ने छैन । मलाई सबै मनपर्छ,’ उनले भनिन् ।
सारेगममा हुँदा नै अभिज्ञाले साथी आलोक घिमिरेसँग मिलेर ‘द सुरताल ब्यान्ड’ स्थापना गरेकी थिइन् । सा सदस्यको यो ब्यान्डकी उनी एक्ली महिला सदस्य हुन् । उनले सुनाइन् ‘ब्यान्डलाई हामीले फ्युजन तरिकाले चलाइरहेका छौं । हामीले जात्रा र मासमा पनि प्रस्तुति गरेका छौं ।’
गत वर्ष मात्रै गीत गाएर धरान, बर्दिबास, नवलपरासीमा ब्यान्ड टुर गरेकी अभिज्ञाले धरानमा वर्षा कर्माचार्यसँगको सहकार्यमा गाएका सम्झना सुनाइन् । भनिन्, ‘काठमाडौं वरिपरि चाहिँ हामीले कुमा सागरलगायतको लागि धेरैजसो ओपनिङ ब्यान्ड बनेर गाएका छौं ।’