काठमाडौँ — काठमाडौँमा आयोजना हुन लागेको एउटा सांगीतिक साँझका लागि गायिका डेजी बराइली दार्जिलिङदेखि आइपुगेकी छन्। उनीसँगै उनका श्रीमान्, संगीतकार चन्दन लम्जेल र छोरी गायिका विमोचना लम्जेल पनि काठमाडौँ आइपुगेकी हुन्।
सन् १९७५ मा पहिलो पटक काठमाडौँ आएकी डेजीले कमल दर्नालको शब्दमा स्वर भर्न पाइन् । रेडियो नेपालमा रेकर्ड भएको यो पहिलो गीत थियो- 'भैँसी लड्यो है माया भिरबाट हेर'! यही गीतले उनलाई रातारात चर्चित बनाइदियो। त्यसो त दार्जिलिङकै खार्साङ स्टुडियोमा पनि उनले जस योञ्जन 'प्यासी'का शब्द र बद्री दुर्गा खरेलको संगीतमा 'झझल्कोमा सधैँ मलाई देखे पनि' बोलको गीत रेकर्ड गराइसकेकी थिइन्।
जस योञ्जन 'प्यासी'कै शब्दमा कर्मा योञ्जनको संगीतमा उनले गाएको 'एउटा खुल्ला किताब हुँ म', भैरवनाथ रिमाल 'कदम'को शब्दमा चन्दन लम्जेलको संगीतमा 'भिखारी हुँ' बोलका गीतहरूले उनलाई भर्सइटल गायिकाको रूपमा स्थापित गरे ।
संगीतकार चन्दन लम्जेलले भने सन् १९८३ मा पहिलो पटक रेडियो नेपालमा आफ्नो संगीतमा गीत रेकर्डिङ गराउने अवसर पाए। डेजीको स्वर र भैरवनाथ रिमालको शब्दमा 'भिखारी हुँ म' बोलको गीतमा उनले दिएको संगीत पहिलो पटक रेडियो नेपालमा रेकर्ड भयो। स्वर सम्राट नारायण गोपालको आवाजलाई पनि उनले संगीतबद्ध गर्ने अवसर पाए । नारायण गोपालको स्वर र नरदेन रुम्बाको शब्दमा रहेको 'मेरा सबै रात अब मातहरू भए' बोलको गीतमा लम्जेलले संगीत दिएका छन् । नरदेन रुम्बाकै शब्द 'म मरेर खाली हुँदैन धर्ती' बोलको गीतमा पनि लम्जेलकै संगीत छ।
यतिबेला संगीतकार लम्जेल र गायिका बराइली आफ्नी छोरी विमोचना लम्जेलसहित काठमाडौँ आइपुगेका छन्। भ्वाइस अफ नेपालको सिजन टुमा आमा डेजी बराइलीको गीत 'भैँसी लड्यो है माया' गाएर नेपालमा लोकप्रियता कमाएकी विमोचना लम्जेलले आफ्नै गीतहरू पनि रेकर्ड गरिसकेकी छन्। उनले गाएका 'वनपखा गुञ्जियो है', 'के थाहा तिमीलाई यो मनमा तिमी नै छौ', 'भुमरीमा फसे नि लै लै', 'सपना मेरो खुल्ला आँखाको' लगायतका गीतहरू श्रोताले रुचाइरहेका छन्।
फेब्रुअरी २८ र मार्च १ मा नेपालयले आयोजना गर्ने 'पलेँटी' शृङ्खलालाई 'नरदेन रुम्बा' विशेष बनाउन रुम्बाका समकालीन लम्जेल-बराइली परिवार दार्जिलिङदेखि काठमाडौँ आइपुगेका हुन्। कार्यक्रममा उनीहरूले वरिष्ठ गीतकार नरदेन रुम्बाको विशेष सम्झनामा रुम्बाकै गीतहरू प्रस्तुत गर्नेछन्।