टिकटकले नेपाली प्रयोगकर्तालाई बाढीका समयमा आधिकारिक सूचना दिने उद्देश्यले 'सर्च गाइड' ल्याएको छ ।
काठमाडौँ — भिडियो सेयरिङ प्लाटफर्म, टिकटकले नेपाली प्रयोगकर्तालाई मनसुनी वर्षाका कारण आउने बाढीका क्रममा आधिकारिक र अप-टु-डेट जानकारी उपलब्ध गराउने उद्देश्यले नयाँ 'सर्च गाइड' सार्वजनिक गरेको छ । अब टिकटकमा बाढीसम्बन्धी कन्टेन्ट खोज्ने प्रयोगकर्ताले विश्वसनीय स्रोतबाट जानकारी प्रमाणित गर्न प्रेरित गर्ने ब्यानर देख्नेछन् ।
उक्त 'सर्च गाइड'मार्फत प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपद् सूचना पोर्टल 'विपद्', टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस र ट्र्याजिक इभेन्ट सपोर्ट गाइडमा सिधै पुग्ने सुविधा दिइएको छ । 'यस गाइडमा प्राकृतिक विपद् तथा व्यक्तिगत क्षतिजस्ता दुःखद घटना के हुन् भन्ने जानकारीका साथै मानसिक स्वास्थ्यसम्बन्धी सहयोग कसरी प्राप्त गर्ने र यस्ता घटनासँग सम्बन्धित कन्टेन्ट जिम्मेवारीपूर्वक कसरी सेयर गर्ने वा रिपोर्ट गर्ने भन्ने विषयमा पनि उपयोगी जानकारी समावेश गरिएको छ,' विज्ञप्तीमा भनिएको छ ।
दक्षिण एसियाका लागि टिकटकका पब्लिक पोलिसी एन्ड गभर्मेन्ट रिलेसन्स हेड फिरदोस मोत्ताकिनले भने, 'संकटका बेला सही जानकारी पनि अरू सहायताजत्तिकै महत्त्वपूर्ण हुन्छ । त्यसैले हामीले समुदायले जानकारी खोज्ने स्थानमै विश्वसनीय स्रोत उपलब्ध गराएका छौँ ।'
