पृथ्वीको कक्षमा उपग्रहको ट्राफिक बढ्दो, अन्तरिक्ष सुरक्षासम्बन्धी नयाँ व्यवस्था

पृथ्वीको कक्षमा १८ हजारभन्दा बढी सक्रिय र निष्क्रिय उपग्रह छन् । तिनको सम्भावित टक्कर र अन्तरिक्ष फोहोरको जोखिम घटाउन अमेरिकाले वास्तविक समयको अवस्थिति सार्वजनिक गर्नुपर्ने नयाँ नियम लागू गरेको छ ।

श्रावण ७, २०८३

गोविन्द देवकोटा

Increasing Satellite Traffic in Earth's Orbit, New Arrangements for Space Security

What you should know

काठमाडौँ — प्रविधिको विकाससँगै विश्वका शक्तिशाली देशहरु अन्तरिक्ष दौडको तीव्र प्रतिस्पर्धामा छन् । झन्डै ६ दशकको यो अन्तरिक्ष दौडले मानिसलाई पृथ्वीबाहिरको सूचना मात्र दिएको छैन, त्यसका लागि उपयोग हुने संरचनाले पृथ्वीलाई नै गम्भीर सुरक्षा चुनौतीतिर धकेलिरहेको छ ।

राति आकाशमा हेर्दा सुनसान देखिन्छ। एक/दुईवटा तारा हिँडेजस्तै देखिने अन्तरिक्ष यानबाहेक पूरा अन्तरिक्ष खाली होलाजस्तै लाग्छ। तर पृथ्वीको वायुमण्डलबाहिर हजारौं भू–उपग्र छन्, जो म्याराथनको गतिमा पृथ्वीलाई परिक्रमा गरिरहन्छन्। 

हालै गरिएको एक अध्ययनमा यी उपग्रहरुको संख्या यति धेरै छ कि उनीहरुबीच टक्कर हुने जोखिम बढ्दो छ। यस्ता टक्करले अन्तरिक्षमा ठूलो मात्रामा फोहोर उत्पन्न गर्न सक्छ, जसका कारण कक्षका केही क्षेत्रलाई भविष्यका लागि प्रयोग गर्नै नसकिने बनाउन सक्ने चिन्तासमेत बढेको छ।

यस्ता घटना यसअघि पनि भइरहेका छन्। अहिलेसम्म दुर्लभ घटना भए पनि हाल पृथ्वीको कक्षमा सक्रिय र निष्क्रिय गरी १८ हजारभन्दा बढी उपग्रह छन्। अन्तरिक्षमा मानव पहुँच विस्तार भएको ६ दशकभन्दा बढी भइसक्यो। तर पृथ्वीको कक्षमा यति धेरै उपग्रहको संख्या पछिल्लो ६ वर्षमा मात्रै दोब्बरले वृद्धि भएका छन्। 

तीमध्ये अधिकांश पृथ्वीको तल्लो कक्ष (लो–अर्थ अर्बिट) मा केन्द्रित भएकाले त्यहाँको भीड बढ्दै गएको छ। यी उपग्रहरुबीच टक्करको सम्भावना पनि संख्यात्मक हिसाबले उच्च बन्दै गएको अन्तरिक्षसम्बन्धी जानकारहरुले चेतावनी दिँदै आएका छन्। 

हाल अमेरिकी फेडरल कम्युनिकेसन्स कमिसनले भविष्यमा हुने उपग्रहरुको टक्कर, अन्तरिक्षमा बढ्ने फोहोरको मात्रा र त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमलाई ध्यामा राख्दै उपग्रह अनुमतिसम्बन्धी प्रक्रियालाई आधुनिक बनाउने र अन्तरिक्ष सुरक्षाका नयाँ व्यवस्था लागू गर्ने नियम पारित गरेको छ। 

नयाँ नियमअनुसार उपग्रह सञ्चालकहरूले आफ्नो उपग्रहको वास्तविक समयको (रियल–टाइम) अवस्थिति सम्बन्धी तथ्यांक अनिवार्य रूपमा खुलाउनुपर्नेछ। यसबाट अन्तरिक्ष यातायात व्यवस्थापन गर्ने निकायहरूले कक्षमा रहेका वस्तुहरूको अवस्थाबारे समग्र जानकारी पाउने र सम्भावित टक्करको पूर्वानुमान गर्न सहज हुने अपेक्षा गरिएको छ।

एफसीसीका यी नियमप्रति उद्योगको व्यापक समर्थन भए पनि यसले अन्तरिक्ष नियमनको अधिकार कसको हुने भन्ने विवादलाई फेरि चर्काएको छ। रेडियो तरंग व्यवस्थापन गर्ने अधिकारका कारण एफसीसी दशकौँदेखि उपग्रह नियामकको भूमिकामा रहँदै आएको छ। तर अन्तरिक्ष उद्योग विस्तार भएसँगै अमेरिकी सांसदहरूले यो जिम्मेवारी वाणिज्य विभाग (डिपार्टमेन्ट अफ कमर्स) लाई दिनुपर्ने तर्क गर्दै आएका छन्। उनीहरूको भनाइमा वाणिज्य विभागले उद्योगसँग नजिकबाट समन्वय गर्दै अमेरिकी अन्तरिक्ष क्षेत्रलाई विश्वव्यापी प्रतिस्पर्धामा सक्षम बनाउन सक्छ।

दुवै प्रमुख राजनीतिक दलका सांसदहरूले पनि यो प्रस्तावलाई समर्थन गरेका छन्। प्रतिनिधिसभाको विज्ञान समितिका रिपब्लिकन सदस्य ब्रायन बेबिन र डेमोक्रेट सदस्य जो लोफग्रेनले फेब्रुअरीमा एफसीसीलाई पत्र लेख्दै नयाँ नियम स्थगित वा परिमार्जन गर्न आग्रह गरेका थिए। अन्तरिक्ष सुरक्षा, अन्तरिक्ष यातायात व्यवस्थापन वा सञ्चारबाहेकका अन्तरिक्ष गतिविधि नियमन गर्ने स्पष्ट कानुनी अधिकार एफसीसीलाई नभएको उनीहरुको दाबी थियो। 

एफसीसीले उक्त पत्रको सार्वजनिक जवाफ दिएको छैन। तर बुधबार आयोगले सर्वसम्मत रूपमा नयाँ नियम पारित गरिसकेको छ। 

अन्तरिक्ष उद्योगको तीव्र विस्तार

स्पेसएक्स, वनवेब र अमेजनजस्ता कम्पनीहरूले सयौँदेखि हजारौँ नयाँ उपग्रह प्रक्षेपण गरिरहेकाले अन्तरिक्ष नियमनसम्बन्धी बहस झन् तीव्र बनेको छ।

स्याटलाइट इन्डस्ट्री एसोसिएसनका अध्यक्ष टम स्ट्राउपका अनुसार अन्तरिक्षको दीगो उपयोग र टक्कर रोकथामका लागि पर्याप्त काम भएको छैन। उनका अनुसार समय अत्यन्त महत्त्वपूर्ण छ। उदाहरणका लागि स्पेसएक्सले भविष्यमा एक लाखभन्दा बढी होइन, १० लाखसम्म उपग्रह सम्मिलित विशाल तारामण्डल निर्माण गर्ने योजना अघि सारेको छ।

स्ट्राउपका अनुसार यस्ता सुरक्षा नियम पाँच वर्षअघि नै लागू हुनुपर्थ्यो। ‘अब थप पाँच वर्ष पर्खने अवस्था छैन,’ उनले भनेका छन्।

नयाँ नियमले के परिवर्तन ल्याउँछ ?

हाल अन्तरिक्षमा रहेका वस्तुहरूको निगरानी सरकार र निजी कम्पनीका टेलिस्कोप तथा राडारमार्फत गरिन्छ। तर ती प्रणालीमा सीमितता छन्। अर्कोतर्फ उपग्रह सञ्चालकहरूसँग आफ्ना उपग्रहको वास्तविक समयको अवस्थिति जानकारी भए पनि उनीहरूले गोपनीयता र व्यावसायिक हितका कारण तेस्रो पक्षसँग ती तथ्यांक साझा गर्न हिचकिचाउँदै आएका थिए।

व्यावसायिक अन्तरिक्ष निगरानी कम्पनी लिओल्याब्सका प्राविधिक समाधान उपाध्यक्ष एडम मार्शका अनुसार अहिले अधिकांश सञ्चालक तथ्यांक साझा गर्न तयार छन्। तर एफसीसीको नयाँ नियमले यसलाई अनिवार्य बनाएको छ र साझा गरिने जानकारी सही तथा समयमै उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ।

एफसीसीका अनुसार गुणस्तरीय तथ्यांक नहुँदा निगरानी प्रणालीले केवल आफ्नै अवलोकनमा भर पर्नुपर्छ, जसले उपग्रहको सानो वा आकस्मिक चालसमेत छुटाउन सक्छ। त्यसैले नयाँ व्यवस्थाले सम्भावित दुर्घटनाको जोखिम मूल्यांकन अझ विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

लाइसेन्स प्रक्रिया पनि सहज

नयाँ नियमले अन्तरिक्ष सुरक्षा मात्र होइन, उपग्रह अनुमतिसम्बन्धी प्रक्रियालाई पनि सरल बनाउने लक्ष्य राखेको छ।

हालको प्रणाली अत्यधिक कागजी प्रक्रिया, प्राविधिक समीक्षा र कडा मापदण्डका कारण लामो र महँगो भएको उद्योगको गुनासो छ। एफसीसीले अब विस्तृत प्रक्रिया पालना गर्न बाध्य पार्ने पुरानो पद्धतिभन्दा कम्पनीहरूले सुरक्षा मापदण्ड पूरा गरेको परिणाम देखाउन सक्ने ‘प्रदर्शनमा आधारित’ (परफर्मेन्स–बेस्ड) प्रणाली लागू गर्ने जनाएको छ।

पूर्व स्पेसएक्स अधिकारी तथा इकलिप्स स्पेसका संस्थापक डेरेक हुर्टाका अनुसार यसले विशेषगरी साना कम्पनी र स्टार्टअपलाई ठूलो राहत दिनेछ। अहिले लाइसेन्स प्रक्रियामा लाखौँ डलर बराबरको धरौटी राख्नुपर्ने भएकाले नयाँ उद्यमीका लागि बजार प्रवेश नै कठिन हुने गरेको उनले बताए।

उनका अनुसार नयाँ नियमले लाइसेन्स प्रक्रिया छिटो, स्पष्ट र कम खर्चिलो बनाउनेछ, जसले अन्तरिक्ष उद्योगको विकासलाई थप गति दिनेछ।

स्ट्राउपका अनुसार अन्तरिक्ष उद्योगको तीव्र विस्तारसँगै त्यसको राष्ट्रिय महत्त्व पनि बढेको छ। ‘उद्योगको विकाससँगै नयाँ चुनौती आएका छन्,’ उनले भने, ‘तर यी समाधान गर्नैपर्ने चुनौती हुन्।’ (एजेन्सीको सहयोगमा)

गोविन्द

Link copied successfully