यी हुन् एआई मन्त्री बनाउने देश

बेलायत, यूएई, क्यानडा, काजकिस्तान, अल्बानियालगायत देशले एआई मन्त्री नियुक्त गर्दै सरकारी सेवा र डिजिटल रूपान्तरणमा प्रतिस्पर्धा सुरु गरेका छन् ।

श्रावण ७, २०८३

एजेन्सी

These are the countries appointing AI ministers

What you should know

काठमाडौँ — बेलायतले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई विशेष महत्व दिँदै कनिष्क नारायणलाई देशको पहिलो एआई मन्त्री नियुक्त गरेको छ । प्रधानमन्त्री एन्डी बर्नहमले उनलाई मन्त्रिपरिषद्को उच्च तहमा स्थान दिँदै नयाँ जिम्मेवारी सुम्पेका हुन् ।

नारायणले अब बेलायतको एआई रणनीति र एआई सुरक्षा संस्थानको नेतृत्व गर्ने छन् । उनी यसअघि पूर्वप्रधानमन्त्री केयर स्टार्मरको सरकारमा एआई र अनलाइन सुरक्षा राज्यमन्त्रीका रूपमा कार्यरत थिए ।

भारतको बिहारस्थित मुजफ्फरपुरमा जन्मिएका नारायण १२ वर्षको छँदा अभिभावकसँग बेलायत सरेका थिए । द प्रिन्टका अनुसार मन्त्री बनेपछि उनले एआईलाई मानव इतिहासकै सबैभन्दा महत्वपूर्ण प्रविधिको रूपमा वर्णन गरेको र यसको प्रभाव अन्य धेरै कुराभन्दा विशाल हुने बताएका छन् ।  ‘एआईको सही प्रयोगले बेलायतलाई पुन: औद्योगिकीकरण गर्न, राष्ट्रिय सुरक्षा बलियो बनाउन र सार्वजनिक सेवा सुधार गर्ने छ,’ नारायणले भनेका छन्, ‘एआईका जोखिम पनि छन् । रोजगारी र परिवर्तनको गतिलाई यसले तीव्र बनाएको विषयमा जनतामा रहेको चिन्ता र डर जायज छ ।’ 

देशहरूले एआईलाई आकार दिने वा एआईलाई नै आकार तय गर्ने  दिने भन्ने निर्णय गर्न अब निकै छोटो समय रहेको र बेलायत अहिले त्यही निर्णायक घडीमा पुगेको मन्त्री नारायणले उल्लेख गरेका छन् । एआईको छुट्टै मन्त्रालय स्थापना गर्ने बेलायत पहिलो देश भने होइन् । सन् २०१७ मै संयुक्त अरब इमिरेट्स (यूएई) ले विश्वमै पहिलोपटक एआई मन्त्री नियुक्त गरेको थियो । त्यहाँ ओमार सुल्तान अल-ओलामाले यो जिम्मेवारी सम्हालिरहेका छन् । सन् २०२३ मा टाइम म्यागजिनले ओमरलाई एआईका १०० प्रभावशाली व्यक्तिको सूचीमा राखेको थियो ।

मन्त्री ओमारले यूएईलाई एआई क्षेत्रमा विश्वकै अग्रणी बनाउने लक्ष्यका साथ ‘एआई रणनीति २०३१’ कार्यान्वयन गरिरहेका छन् । उनले हरेक सरकारी मन्त्रालयमा अनिवार्य रूपमा ‘मुख्य एआई अधिकारी’ नियुक्त गर्नुपर्ने नीति ल्याएका छन् । यसका साथै, एक लाख प्रोग्रामरलाई तालिम दिने र टेक स्टार्टअपलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि उनकै नेतृत्वमा अघि बढेको छ ।

क्यानडाले सन् २०२५ मा इभान सोलोमनलाई एआई मन्त्री चयन गरेको थियो । सोलोमनले क्यानडाको आफ्नै एआई पूर्वाधार र डेटा सेन्टर निर्माणलाई प्राथमिकता दिएका छन् । उनको मुख्य उद्देश्य क्यानडाका दक्ष एआई अनुसन्धानकर्तालाई विदेशिन नदिई स्वदेशमै टिकाउनु र आर्थिक स्वतन्त्रता कायम गर्नु हो । उनले निजी क्षेत्रमा एआईको प्रयोग गर्दा पालना गर्नुपर्ने नियम र डेटा गोपनीयताका मापदण्ड तयार पारिरहेका छन् ।

यसैगरी, काजकिस्तानले सन् २०२५ को सेप्टेम्बरमा झस्लान मडियेभलाई एआई तथा डिजिटल विकासमन्त्री नियुक्त गरेको थियो । मडियेभले मध्य एसियाकै ठूलो सुपरकम्प्युटिङ केन्द्र स्थापनाका लागि पहल गरिरहेको स्थानीय सञ्चार माध्यम ‘अस्टना टाइम्स’ ले जनाएको छ । उनले सरकारी सेवालाई पूर्ण रूपमा डिजिटल बनाउन र ई-गभर्नेन्स प्रणालीमा एआई प्रयोग बढाउन खोजेका छन् । उनी अन्तर्राष्ट्रिय स्तरमा एआईको सुशासन र स्ट्यान्डर्ड तय गर्ने राष्ट्र संघीय एआई सम्मेलनजस्ता विश्वव्यापी मञ्चमा पनि सक्रिय रूपमा सहभागी हुँदै आएका छन् ।

युरोपेली देश, अल्बानियाले भने फरक प्रयोग गर्दै ‘डिएला’ नामक भर्चुअल एआई मन्त्री सार्वजनिक गरेको छ । प्रधानमन्त्री एडी रामाले सरकारी सेवामा हुने भ्रष्टाचार नियन्त्रण गर्न डिजिटल मन्त्री ल्याएका हुन् । डिएलाले सरकारी टेन्डरको निगरानी गर्ने र सम्झौताहरू भ्रष्टाचारमुक्त भएको सुनिश्चित गर्ने जिम्मेवारी पाएकी छिन् । यो एआई मन्त्रीले सरकारी पोर्टलमार्फत नागरिकका प्रश्नको उत्तर दिने र प्रशासनिक प्रक्रियालाई सहज बनाउने काम पनि गर्छ ।

सन् २०२५ अक्टोबरमा डिएलालाई मन्त्रीपरिषद्कै तहको मन्त्री नियुक्त गरिएपछि अल्बानियाको प्रतिपक्षी दलले भने यसलाई ‘प्रोपोगान्डा फ्यान्टासी’ का रूपमा आलोचना गर्दै यसविरुद्ध अदालत जाने प्रतिक्रिया दिएको टाइम म्यागजिनको समाचारमा उल्लेख छ । ‘कतिपयले मलाई असंवैधानिक चित्रण गरेका छन् किनभने म मानिस होइन,’ त्यो बेला डिएलाले भिडियोमार्फत प्रतिक्रिया दिएकी थिइन्, ‘यसले मेरो चित्त दुखेको छ ।’

अल्बानियाले एआईलाई मन्त्री बनाउनु अब देखावटी वा राजनीतिक नाटक मात्र नरहेको र विभिन्न देशका सरकारले आफ्ना प्रणालीमा एआई समावेश गर्न थालेको टाइमको विश्लेषण छ । ‘सरकारहरूले प्रशासनिक झन्झट घटाउन,  सेवा प्रवाह छिटो-छरितो बनाउन र निर्णय प्रक्रियामा मद्दत लिन एआईको प्रयोग बढाउँदै लगेका छन्,’ टाइमका एडिटोरियल फेलो थरिन पिल्लेले लेखेका छन्, ‘डिएलाजस्ता एआईको नियुक्तीले एआईलाई सहयोगी टुलका रूपमा नभइ कुनै दिन हामी यसलाई सरकार चलाउने क्रममा आफैँ निर्णय लिने अधिकारसमेत दिने विन्दुमा पुग्छौँ ? यो प्रश्न भने उठेको छ ।’ 

एजेन्सी

Link copied successfully