कोड फर इम्प्याक्टमा चार टोली उत्कृष्ट, जनही एक हजार डलर पुरस्कार

‘कोड फर इम्प्याक्ट’ ह्याकाथनमा उत्कृष्ट सात टोलीमध्ये चारले एआई, पर्यटन र शिक्षा क्षेत्रमा नवप्रवर्तन गर्दै नगद पुरस्कार र थप स्रोत जितेका छन् ।

श्रावण २, २०८३

कान्तिपुर संवाददाता

Four teams excel in Code for Impact, each receiving a prize of $1,000

What you should know

काठमाडौँ — नेपालका युवा उद्यमीका लागि सञ्चालन गरिएको ६ महिने नवप्रवर्तन यात्रा ‘कोड फर इम्प्याक्ट’ मा सहभागी १९० टोलीमध्ये उत्कृष्ट ठहरिँदै चारवटा टोलीले जनही १ हजार अमेरिकी डलर पुरस्कार जितेका छन् ।

अमेरिकी दूतावासको सहयोग र अद्यान्त एडभाइजरीको आयोजनामा भएको प्रतियोगितामा नेप्टु, डेटा हिटी, सिनप्टिक र आशिर्वाद केयरले नगद पुरस्कार जिते ।

शुक्रबार आयोजिता कार्यक्रममा उत्कृष्ट ७ समूह र चार राष्ट्रिय विजेता घोषणा गरिएको थियो । यी टोलीले नगदका साथै अमेजन वेब सर्भिस क्लाउड क्रेडिट र निरन्तर मेन्टरसिपको अवसरसमेत प्राप्त गरेका छन् ।

प्रतियोगिताको उत्कृष्ट सातमा पर्न सफल अन्य टोलीमा एक्सेस कोड, क्याड कोडर र मिथिला कोडर रहेका छन् । विजेता टोलीहरूले वृद्धवृद्धाको हेरचाह, एआईमा आधारित पर्यटकीय गन्तव्य पहिचान र फरक क्षमता भएका बालबालिकाका लागि अग्मेन्टेड रियालिटि (एआर) प्रविधिमार्फत सिकाइ प्रणाली विकास गर्ने जस्ता आइडियामा काम गरिरहेका छन् ।

पुरस्कार वितरण समारोहमा बोल्दै अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले नेपाली युवाको सिर्जनशीलता र अमेरिकी प्रविधिको सहकार्यले नयाँ अवसर सिर्जना गर्ने बताए । उनले उद्यमशीलतालाई सगरमाथा आरोहणसँग तुलना गर्दै शिखरमा पुग्नु मात्र सफलता नभई यो यात्राको आधा भाग मात्र भएको उल्लेख गरे । ‘सफलताका लागि एक्लै नभई बलियो साझेदारी र तयारी आवश्यक पर्छ,’ उनले भने ।

आद्यन्त एडभाइजरीकी सह-संस्थापक स्तुति बस्न्यातले यो कार्यक्रम ह्याकाथन मात्र नभई नयाँ सोचलाई दिगो व्यवसायमा बदल्ने एउटा पुल भएको उल्लेख गरिन् । उनले प्रविधिलाई मानिसका वास्तविक समस्या समाधानमा जोड्नु नै कार्यक्रमको मुख्य उपलब्धि रहेको बताइन् ।

‘एआईले आर्थिक सफलताको समीकरण नै बदलिरहेको छ, अब एउटा सानो टोलीले काठमाडौँ वा जनकपुरमा बसेर विश्वव्यापी बजारका लागि उत्पादन बनाउन सक्छ,’ उनले भनिन्, ‘तर, प्रविधि मात्र सबैथोक होइन, मानिसका समस्या बुझ्नु, विश्वास जित्नु र सहकार्य गर्नु ठूलो कुरा हो ।’ 

अमेरिकन च्याम्बर अफ कमर्स (एमच्याम) नेपालका अध्यक्ष कैलाश बिजयानन्दले प्रविधि आफैँमा साध्य नभई लक्ष्य प्राप्तिको माध्यम मात्र भएको बताए । उनले उद्यमीहरूलाई मानिसको जीवनमा सकारात्मक प्रभाव पार्ने समाधान खोज्न प्रेरित गरे । बलियो व्यावसायिक प्रणाली निर्माणका लागि धेरै संस्थाहरूबीच सहकार्य र समन्वय आवश्यक हुने उनको भनाइ थियो ।

कार्यक्रममा ग्लोबल इम्प्याक्ट कलेक्टिभका संस्थापक जेम्स बर्नाडले लगानीकर्ताहरूलाई प्रविधि मात्र नभएर बलियो व्यापारिक मोडेल खोज्न सुझाव दिए । उनका अनुसार प्रयोगकर्ता, ग्राहक र लगानीकर्ताबीच सन्तुलन मिलाउन सके मात्र कुनै पनि स्टार्टअपले सफलता पाउँछ । प्रतियोगितामा सहभागी टिमहरूले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र वित्तीय क्षेत्रका समस्या समाधानका लागि नवीन प्रविधिहरू प्रस्तुत गरेका थिए ।

कान्तिपुर

Link copied successfully