सन् २०२६ को पहिलो त्रैमासिकमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घनका कारण नेपालबाट १९ लाख ६१ हजार ६ सय ९८ भिडियो हटाएको छ । अधिकांश भिडियो स्वचालित प्रविधि (एआई) मार्फत हटाउने गरिएको कम्पनीले जनाएको छ ।
What you should know
काठमाडौँ — भिडियो सेयरिङ प्लाटफर्म, टिकटकले सन् २०२६ को पहिलो तीन महिनामा नेपालबाट करिब २० लाखवटा भिडियो हटाएको छ । कम्पनीले ‘टिकटक लाइभ’ मा हुने गतिविधिमाथि पनि निगरानी बढाएर सस्पेन्सन दर २.७ प्रतिशत पुऱ्याएको जनाएको छ । नेपालमा हटाइएका सामग्रीहरू यस अवधिमा पोस्ट भएका कुल भिडियोको ०.४ प्रतिशत हुन् ।
टिकटकले जनवरीदेखि मार्चभित्र नेपालबाट १९ लाख ६१ हजार ६ सय ९८ वटा भिडियो हटाएको छ । कम्युनिटी गाइडलाइन उल्लंघन गरेको भन्दै ती भिडियो प्लाटफर्मबाट हटाइएका हुन् । कुल हटाइएका भिडियोमध्ये ९९.२ प्रतिशत भिडियो कम्पनीले सक्रिय रूपमा आफैँ पत्ता लगाएर हटाएको जनाएको छ ।
त्यस्तै, ८६.५ प्रतिशत भिडियो पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए । केही भिडियोहरू भने थप समीक्षापछि रिस्टोर गरिएका छन् । नेपालमा यस अवधिमा ६१ हजार ९ सय ९२ वटा भिडियो रिस्टोर भएका हुन् ।
यो अवधिमा टिकटकले विश्वभरबाट १८ करोड ४० लाखभन्दा बढी भिडियो हटाएको छ । यो संख्या प्लाटफर्ममा अपलोड गरिएका कुल सामग्रीको करिब ०.५ प्रतिशत हो । कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने अधिकांश कन्टेन्ट अटोमेसन प्रविधिमार्फत पहिचान गरी हटाइँदै आएको कम्पनीले जनाएको छ ।
टिकटकले विश्वभर ८ करोड ६२ लाखभन्दा बढी फेक एकाउन्ट पनि बन्द गरेको कम्पनीको वेबसाइनमा रहेको कम्युनिटी गाइडलाइन्स इनफोर्समेन्ट रिपोर्टमा देखिन्छ । यसैगरी १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंकामा २ करोड ५७ लाखभन्दा बढी खाताहरू हटाइएको कम्पनीले जनाएको छ ।
टिकटकले पछिल्लो समय लाइभ प्रसारणमा पनि निगरानी थप कडा बनाएको छ । लाइभ सस्पेन्सन दर बढेर २.७ प्रतिशत पुगेको र यो अहिलेसम्मकै उच्च रहेको विज्ञप्तीमा उल्लेख छ । यस अवधिमा ५ करोड ८२ लाखभन्दा बढी लाइभ सेसनमा चेतावनी दिने वा मनिटाइजेसन बन्द गर्ने जस्ता कारबाही गरिएको भनिएको छ ।
यसबीच २ करोड १९ लाखभन्दा बढी लाइभ क्रियटरहरूमाथि पनि कारबाही भएको प्रतिवेदनमा उल्लेख छ । सुरक्षित डिजिटल वातावरण निर्माणका लागि आफ्नो कन्टेन्ट मोडेरेसन प्रणालीलाई निरन्तर विकास गरिरहेको टिकटकले जनाएको छ ।
टिकटकले आफ्नै सक्रियतामा र सरकारी स्तरबाट हुने अनुरोधका आधारमा पनि भिडियो हटाउने गर्छ । ‘गभरमेन्ट रिमुभल रिक्वेस्ट’बारे कम्पनीको पछिल्लो तथ्यांकअनुसार सन् २०२५ को दोस्रो अर्धवार्षिक अवधिमा नेपाल सरकारले ७ सय ४५ वटा अनुरोध पठाएको थियो । ती अनुरोधमा कुल २ हजार ४७ वटा सामग्री हटाउन माग गरिएको थियो । सरकारको आग्रहमा टिकटकले १ हजार २९ सामग्री र स्थानीय कानुनविपरीतका १ सय ३० कन्टेन्टमाथि कारबाही गरिएको जनाएको छ ।
सरकारी अनुरोधमा परेका ८ सय ८८ वटा कन्टेन्टमा भने टिकटकले कुनै कारबाही नगरेको प्रतिवेदनमा उल्लेख छ । सोही अवधिमा सरकारले ८ सय १७ वटा खाताहरूको विवरणसमेत माग गरेको प्रतिवेदनमा देखिन्छ ।
