सफ्टवेयर निर्माणमा एआईको प्रवेश : नेपाल टेलिकमदेखि निजी क्षेत्रसम्म ‘भाइब कोडिङ’ को लहर

कम्प्युटर प्रोग्रामिङको जटिल भाषा नजान्नेले पनि आवश्यकताअनुसार सफ्टवेयर तयार पार्ने शैली नै भाइब कोडिङ हो । पछिल्लो समय नेपालका सरकारी र निजी क्षेत्रमा यसको प्रयोग व्यापक बन्दै गएको छ ।

असार ११, २०८३

सजना बराल

AI's entry into software development: A wave of 'vibe coding' from Nepal Telecom to the private sector

What you should know

काठमाडौँ — एआईलाई आवश्यक निर्देशन (प्रम्प्ट) दिएर केही घण्टामै सफ्टवेयर तयार पार्ने ‘भाइब कोडिङ’ प्रविधि नेपालमा पनि तीव्र रूपमा फैलिन थालेको छ । सरकारी निकायदेखि निजी कम्पनीहरूले यसलाई अपनाउन थालेका छन् ।

दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले आफ्नो कार्यालयमा हालै स्थापना गरेको ‘सफ्टवेयर विङ’ले छोटो समयमै आधा दर्जनजति पोर्टल र डिजिटल प्रणाली तयार पारिसकेको छ । टेलिकमसँग सम्बन्धित वडादेखि मन्त्रालयसम्मका मागहरू एकीकृत गर्न ‘डिमान्ड पोर्टल’, धेरै मिटिङ हुने तर ठाउँ अभाव हुने समस्या समाधानका लागि ‘मिटिङ म्यानेजमेन्ट पोर्टल’ जस्ता प्रणाली बनाएको कम्पनीले जनाएको छ । यी प्रणालीहरू  टेलिकमका इन्जिनियरहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहायतामा तयार पारेका हुन् ।

युनिफाइड टिकेटिङ सिस्टम, कस्टमर केयर पोर्टलजस्ता अन्य प्रणाली पनि विकास गरिरहेको कम्पनीका वरिष्ठ व्यापार अधिकृत प्रकाशचन्द्र सिग्देलले जानकारी दिए । ‘रिक्वेस्ट आउनेबित्तिकै हाम्रो सिस्टमले आफै आईपी असाइन गरिदिने गरी हामीले हाम्रो आईपी प्लानिङलाई स्वचालित बनाएका छौं,’ यसै साता आयोजित दूरसञ्चार क्षेत्रको वर्तमान अवस्थासम्बन्धी कार्यक्रममा उनले भनेका थिए, ‘कतिपय ठाउँमा गुणस्तर र ग्राहकको अनुभवमा सम्झौता गर्न नसकिने हुनाले बाहिरी भेन्डरको पनि सहयोग लिन्छौँ तर साना र विशिष्ट आवश्यकताका सफ्टवेयरहरू आफैँ बनाउने बाटोमा छौँ ।’

टेलिकम सेवाको सबैभन्दा महत्वपूर्ण मानिने बिलिङ प्रणालीसमेत यस्तै नयाँ प्रविधि प्रयोग गरेर तयार पार्ने विषयमा अध्ययन भइरहेको उनले जानकारी दिए । टेलिकमको बिलिङ प्रणाली साह्रै पुरानो भएको र बारम्बार समस्या आउँदा ग्राहकले कल ड्रप हुने, फोन नलाग्ने, ब्यालेन्स काटिने, डेटा नचल्नेजस्ता समस्या भोग्दै आएका छन् । नेपाल टेलिकम मात्र होइन, पछिल्लो समय देशैभरका सरकारी कार्यालय र निजी क्षेत्रका कम्पनीहरूले एआईमार्फत कोड जेनेरेट गरेर त्यसलाई आवश्यकताअनुसार परिमार्जन गरी सफ्टवेयर एप्लिकेसनहरू बनाउने गरेका छन् । प्राविधिक भाषमा यसलाई भाइब कोडिङ भनिन्छ ।

सामान्य अर्थमा भन्दा कम्प्युटर प्रोग्रामिङको जटिल भाषा नजान्नेले पनि आफ्नो आवश्यकताअनुसार सफ्टवेयर तयार पार्ने शैली नै भाइब कोडिङ हो । पछिल्लो समय नेपालका सरकारी र निजी क्षेत्रमा यसको प्रयोग व्यापक बन्दै गएको देखिन्छ । नेपाल टेलिकमजस्ता ठूला सार्वजनिक संस्थानले यसलाई आत्मसात गरेपछि यसको चर्चा चुलिएको छ । ‘कम्पनीलाई के चाहिन्छ भन्ने कुराको स्कोप कम्पनी आफैँलाई राम्रो थाहा हुने भएकाले इन–हाउस कोडिङ प्रभावकारी देखिएको छ,’ टेलिकमका सिग्देलले भने ।

निजी क्षेत्रका सफ्टवेयर कम्पनीहरूमा पनि यसको व्यापक प्रयोग हुन थालेको छ । एम्निल टेक्नोलोजिजका चिफ टेक्नोलोजी अफिसर निश्चल श्रेष्ठका अनुसार प्रविधि क्षेत्रमा ‘भाइब कोडिङ’ को विकसित अभ्यासका रूपमा ‘एजेन्टिक इन्जिनियरिङ’ को अवधारणा आइसकेको छ । यसमा विभिन्न एआई एजेन्टले सफ्टवेयर विकासको सम्पूर्ण काम आफैँले गर्छन् । ‘एआईले कोड लेख्ने मात्र होइन, त्यसलाई रन गर्ने र चेक गर्ने काम पनि गर्छ,’ उनले भने, ‘यस्ता एआई एजेन्टहरूले प्रोजेक्ट म्यानेजर, आर्किटेक्ट र टेस्टरको समेत भूमिका निर्वाह गर्न थालेका छन् । ग्राहकले हामीलाई भन्न छुटाएका फिचरसमेत एआईले कुन क्षेत्रको कम्पनी हो, त्यसअनुसार आवश्यकता पहिचान गर्न कोड तयार पारिदिन सक्छ ।’

एआई प्रविधिको यो सहजताले गर्दा नेपाली इन्जिनियरहरू अहिले भारतीय इन्जिनियरहरूसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेको श्रेष्ठको ठम्याइ छ । भाइब कोडिङले उत्पादकत्वमा १० गुणासम्म वृद्धि ल्याउन सक्ने उनी औँल्याउँछन् । पहिले हप्तौँ लाग्ने कोडिङ र एप डेभेलपमेन्टका कामहरू अहिले केही घण्टामै सम्पन्न हुन थालेका छन् । तथापि, भाइब कोडिङका चुनौती पनि उत्तिकै रहेको जानकार औँल्याउँछन् । कोडिङ नबुझ्नेले भाइब कोडिङ गर्दा सुरक्षा चुनौती आइपर्ने श्रेष्ठले बताए । उनका अनुसार कोडिङ बुझ्ने मात्रै होइन, एआईलाई राम्रो प्रम्ट दिन सक्ने वा एकएक लाइन दिशानिर्देश गर्न सकेमा भाइब कोडिङबाट उत्पादकत्व बढाउन सकिन्छ ।

एआईसम्बन्धी सेवा प्रदान गर्ने अमेरिकी प्रविधि कम्पनी, फ्युज मसिन्सको एआई एजुकेसन एन्ड ट्यालेन्ट डिभलपमेन्ट इकाइका निर्देशक रोजेश शिख्रकारका अनुसार भाइब कोडिङको जोखिम भनेको सुरक्षा कमजोरी हो । प्रोग्रामिङको आधारभूत ज्ञान नभएका मानिसले एआईको भरमा मात्र काम गर्दा सुरक्षामा गम्भीर असर पर्न सक्ने उनले औंल्याए । ‘केही समयअघि एउटा नगरपालिकाको एक्सेल सिटको डेटा अनलाइनमा सार्वजनिक भएको समाचार आएका थिए, भाइब कोडिङ गर्दा यस्ता सुरक्षा कमजोरी आइपर्छन्,’ उनले भने, ‘एआईले कन्टेन्ट त जेनेरेट गर्छ तर त्यसले कस्ता प्याकेजहरू प्रयोग गरेको छ भन्ने कुरामा ध्यान दिएन भने साइबर सुरक्षाको जोखिम बढ्छ ।’

पछिल्लो समय हरेक कम्पनीले आफ्ना इन्जिनियरहरूलाई एआई टुल्स प्रयोग गर्न अनिवार्य गर्न थालेका छन् । यसले गर्दा जटिल प्रणालीहरू निर्माण गर्न र विश्व बजारमा प्रतिस्पर्धा गर्न सजिलो भएको इन्जिनियरहरू बताउँछन् । तर, सूचना प्रविधि क्षेत्रमा भर्खरै प्रवेश गर्न लागेका इन्ट्री लेभलका कोडरहरूलाई भने भाइब कोडिङका कारण रोजगारी नै नपाउने अवस्था सिर्जना हुन सक्ने खतरा रहेको कतिपयको भनाइ छ । तर, नेपालमा एआईले गर्दा रोजगारी नपाउने भन्दा पनि दक्षता अभावले काम नपाउने अवस्था रहेको यस क्षेत्रका जानकारहरू औँल्याउँछन् । ‘नेपालमा विद्यार्थीहरूले १४ देखि २० लाख रुपैयाँसम्म खर्च गरेर डिग्रीसम्मको पढाइ पूरा गर्छन् तर अन्तर्वार्ता लिँदा उनीहरू ३० हजारको जागिरका लागि पनि योग्य हुँदैनन्,’ नास–आईटीका अध्यक्ष गौरव पाण्डेले भने, ‘उद्योगको माग र विश्वविद्यालयका पढाइबीच तालमेल मिलिरहेको छैन ।’

अहिलेको समयमा एआईको प्रयोग कोडिङमा मात्र सीमित छैन । कोडविङ सलुसनका चिफ प्रोडक्ट अफिसर नविन जैसवालका अनुसार एआईको प्रयोग गरेर घण्टौँ लाग्ने अनुसन्धानका कामहरू केही मिनेटमै गर्न सकिन्छ । उनले बजेट भाषणजस्ता लामा दस्ताबेजहरूलाई एआईको सहयोगले छोटो समयमै विश्लेषण गरेर समाचारका बुँदाहरू निकाल्न सकिने उदाहरण प्रस्तुत गरे । नेपाली भाषामा पनि एआईको क्षमता सुधार हुँदै गएकाले यसले स्थानीय स्तरमा धेरै समस्या समाधान गर्ने उनको विश्वास छ ।

AI's entry into software development: A wave of 'vibe coding' from Nepal Telecom to the private sector

नेपालमा भाइब कोडिङ र एआई इन्जिनियरिङको यात्रा भर्खर सुरु भए पनि तीव्र विस्तार भइरहेको छ । यसको प्रयोग बढ्दै जाँदा विभिन्न आधुनिक टुलहरू लोकप्रिय भइरहेका छन् । हाल नेपाली डेभलपर र इन्जिनियरहरूले कोडिङ पार्टनरका रूपमा मुख्यतया भीएस कोड, गिटहब कोपाइलट, च्याटजीपीटीको कोडेक्स, क्लड र गुगल जेमिनाइजस्ता टुल प्रयोग गरिरहेका छन् । साथै, कर्सर नामक टुल पनि निकै प्रयोग हुनेमा पर्छ । यसले कोड लेख्न मात्र नभइ त्यसलाई रन गर्ने र त्रुटि जाँच एवं बग पत्ता लगाउनेसमेत गर्छ । वेबसाइटहरू बनाउन लभेबलजस्ता भाइब कोडिङ प्लाटफर्म र व्यावसायिक प्रयोजनका लागि माइक्रोसफ्‌टको पावर एप्स र कोपाइलट प्रयोग भइरहेको देखिन्छ । नि:शुल्क विकल्पका रूपमा ओलामाजस्ता टुल पनि लोकप्रिय छन् । यस्तै, बेस४४ जस्ता एआई एप बिल्डरहरूले कोडिङ नजान्नेहरूलाई एप बनाउन मद्दत गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा पनि ठूल्ठूला कम्पनीहरूले भाइब कोडिङ र एआईको प्रयोगमार्फत एप्लिकेसन बनाउने गरेको सार्वजनिक रूपमा बताउने गरेका छन् । हालै एउटा एआई स्टार्टअपका संस्थापक जीवेन शुले ‘क्लाउड म्याक्स ट्वान्सी एक्स’ नामक शक्तिशाली एआई मोडल प्रयोग गरेर चर्चित गेम ‘ग्रान्ड थेफ्ट अटो सिक्स’ को आफ्नै भर्सन तयार पार्ने प्रयास गरिरहेका छन् । उनले कोडिङबिना नै एआईलाई प्रम्प्ट दिएको भरमा यति ठूलो गेम बनाउन सकिन्छ भन्ने कुराको परीक्षण गरिरहेका हुन् ।

त्यसैगरी, इलन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी, स्पेसएक्सले हालै मात्र ‘कर्सर’ नामक भाइब कोडिङ स्टार्टअपलाई ६० अर्ब डलरमा खरिद गर्ने योजना सार्वजनिक गरेको थियो । सिलिकन एन्जल नामक समाचार पोर्टलमा पत्रकार मारिया दुत्सरले कर्सरलाई आफ्नो मोडल विकास गर्न स्पेक्स एक्सले हजारौँ ग्राफिक कार्डमा पहुँच दिएको उल्लेख गरेकी छन् । कर्सर एउटा यस्तो प्लाटफर्म हो जसले डेभलपरहरूलाई सरल भाषाका प्रम्प्ट प्रयोग गरेर जटिल सफ्टवेयर बनाउन मद्दत गर्छ ।

स्पेसएक्सजस्तो ठूलो कम्पनीले यति ठूलो रकम खर्चर गरेर भाइबर कोडिङ प्लाटफर्म किन्नुले भविष्यमा सफ्टवेयर विकासको शैली कता जाँदै छ भन्ने थोरबहुत संकेत गर्छ । माइक्रोसफ्ट, गुगलजस्ता विश्वका ठूला टेक जायन्टहरूले समेत आफ्नो ४० प्रतिशतभन्दा बढी कोड एआईको सहयोगमा लेख्न थालिसकेको सन्दर्भ केलाउँदा अबको यात्रा एजेन्टिक इन्जिनियरिङतर्फ नै रहेको बुझ्न सकिन्छ ।

‘नयाँ पुस्ताका विद्यार्थीहरूले एआई एजेन्टहरू चलाउन र जटिल प्रणली व्यवस्थापन गर्न जानेनन् भने उनीहरूलाई बजरमा प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ,’ एम्निलका सीटीओ श्रेष्ठ भन्छन्, ‘इन्जिनियरहरूले एआईले गर्ने अटोमेसनभन्दा माथिल्लो तहको एजेन्टिक इन्जिनियरिङ बुझ्न जरुरी भइसकेको छ ।’

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully