एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढाउँदै छ :  सीईओ कुक

के सेप्टेम्बरमा रिलिज हुने आईफोन-१८ को मूल्य पनि बढ्ला ? अनुसन्धान संस्था ओम्डियाका अनुसार सन् २०२६ मा विश्वभर स्मार्टफोनको औसत बिक्री मूल्य करिब २० प्रतिशतले वृद्धि भई अहिलेसम्मकै उच्च स्तरमा पुग्ने अपेक्षा गरिएको छ ।

असार ४, २०८३

कान्तिपुर संवाददाता

Apple is raising the prices of its products: CEO Cook

What you should know

काठमाडौँ — एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढाउने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) टिम कुकले अब मूल्य यथावत राख्न नसकिने अवस्था रहेको बताएका हुन् । 

वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा सीईओ कुकले मेमोरी चिप्समा बढेको लागतले उत्पादनको मूल्य बढाउनुपर्ने अवस्था आएको बताएका हुन् । तर उनले मूल्य कहिले बढ्छ र कुन-कुन उत्पादनको बढ्छ भन्नेचाहिँ खुलाएका छैनन् । सेप्टेम्बरमा लन्च हुने आईफोन-१८ मूल्यवृद्धिबाट प्रभावित हुन्छ/हुँदैन भन्ने कुरा स्पष्ट छैन । 

मोबाइल फोनजस्ता स्मार्ट उपकरणका लागि मेमोरी चिप अत्यावश्यक सामान हुन् । तर कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विस्तारसँगै पछिल्ला महिनाहरूमा मेमोरी चिपको मूल्य उल्लेख्य रूपमा बढेको छ ।

Apple is raising the prices of its products: CEO Cook

'हामीमाथि परेको ठूलो मूल्यवृद्धिको प्रभाव कम गर्न सक्दो प्रयास गरिरहेका छौँ । साथै ग्राहकहरूलाई यसको असरबाट जोगाउन पनि प्रयासरत थियौँ । तर अहिलेको अवस्था दिगो रूपमा धान्न नसकिने भएको छ,' कुकले द वाल स्ट्रिट जर्नललाई बताएका छन् ।

'उपभोक्ताहरूले उपकरणहरू चाहिरहेका बेला आपूर्ति कम छ, र मेमोरी उत्पादकहरूले ठूलो मूल्यवृद्धि उपभोक्ताको टाउकोमा थोपरिरहेका छन्,' कुकले भनेका छन् । झन्डै १५ वर्षसम्म एप्पलको सीईओको जिम्मेवारीमा रहेका कुकलाई सेप्टेम्बरमा जोन टर्नसले प्रतिस्थापन गर्दैछन् । सामान्यतया कम्प्युटरका सबैभन्दा सस्तो पुर्जामध्ये एक मानिने र्‍यामको मूल्य सन् २०२५ को अक्टोबरयता दोब्बरभन्दा बढीले बढेको छ ।

एआईको माग र प्रयोग उच्च भइरहेका बेला इरान-अमेरिका युद्धले सेमिकन्डक्टर (चिप) उत्पादनमा अत्यावश्यक मानिने हिलियम ग्यासको विश्वव्यापी आपूर्तिमा समेत अवरोध पुर्‍याएको छ । यसले कम्प्युटर चिप उत्पादनको लागत थप बढाएको छ । अनुसन्धान संस्था ओम्डियाका अनुसार सन् २०२६ मा विश्वभर स्मार्टफोनको औसत बिक्री मूल्य करिब २० प्रतिशतले वृद्धि भई अहिलेसम्मकै उच्च स्तरमा पुग्ने अपेक्षा गरिएको छ ।

ओम्डियाकी स्मार्टफोन बजार विश्लेषक चिउ ले सुआनले बीबीसीसँगको कुराकानीमा एप्पलका नयाँ फोनहरूको मूल्य आईफोन-१७ सिरिजभन्दा १५० अमेरिकी डलरसम्म बढी हुन सक्ने बताइन् । 

कान्तिपुर

Link copied successfully