नेपाली भाषाका डिजिटल डेटासेट, स्पिच-टु-टेक्स्ट प्रविधि र लोपोन्मुख भाषाको संरक्षणमा सहकार्य गर्ने उद्देश्यसहित काठमाडौं विश्वविद्यालय र भारतको भाषिनी डिभिजनबीच सम्झौता भएको छ ।
What you should know
काठमाडौँ — नेपाल र भारतबीच भाषिक एआई, बहुभाषिक डिजिटल सार्वजनिक पूर्वाधार र समावेशी डिजिटल प्रणालीको विकासमा सहकार्य गर्ने उद्देश्यसहित भारतको डिजिटल इन्डिया भाषिणी डिभिजन र नेपालको काठमाडौं विश्वविद्यालयबीच समझदारी भएको छ । नयाँ दिल्लीमा शनिबार साँझ आयोजित कार्यक्रममा भाषिणीका प्रमुख कार्यकारी अधिकृत अमिताभ नाग र काठमाडौं विश्वविद्यालयका सह-डिन प्रा. बालकृष्ण बलले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सो अवसरमा भारतका विदेश मन्त्री एस. जयशंकर र नेपालका परराष्ट्र मन्त्री शिशिर खनालको पनि उपस्थिति थियो । यो सहकार्यले भाषासम्बन्धी एआई र बहुभाषिक डिजिटल प्रणालीलाई प्रवर्द्धन गर्ने विज्ञप्तीमा उल्लेख छ । ‘यसअन्तर्गत नेपाली भाषाका उच्च गुणस्तरीय डेटासेट र स्पिच-टु-टेक्स्ट तथा मसिन ट्रान्सलेसनजस्ता प्रविधि विकासमा दुई निकायले सहकार्य गर्नेछन्,’ भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयको विज्ञप्तीमा भनिएको छ ।
यसले नेपालमा कम प्रयोग हुने र लोपोन्मुख भाषाहरूको संरक्षण र डिजिटाइजेसनमा पनि मद्दत पुर्याउने अपेक्षा गरिएको छ । यो पहलले डिजिटल माध्यममा भाषा र साक्षरताका अवरोध हटाउन ठूलो भूमिका खेल्ने विज्ञप्तिमा उल्लेख छ । यसबाट नेपाली नागरिकले आफ्नै मातृभाषामा सरकारी सेवाहरू र शिक्षा प्राप्त गर्न सहज हुनेछ। यो सम्झौताले दुई देशबीचको जनस्तरको सम्बन्ध र प्रविधि सहकार्यलाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।
समारोहमा इन्डिया भाषिनी डिभिजनका प्रमुख नागले यस साझेदारीलाई समावेशी भाषा प्रविधि निर्माण गर्ने भारतको प्रतिबद्धताको एउटा महत्त्वपूर्ण पहलका रूपमा औँल्याएका थिए । ‘भाषिनीको ओपेन डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर मोडलले दक्षिण एसियाका लाखौँ नागरिकको डिजिटल पहुँचमा आमूल परिवर्तन ल्याउने क्षमता राख्छ,’ उनले भनेका छन्, ‘यो साझेदारीले भारतभन्दा बाहिर पनि आफ्नो परिकल्पनालाई विस्तार गर्न र साझा भाषिक तथा सांस्कृतिक सम्पदालाई सुदृढ बनाउन मद्दत गर्नेछ ।’
काठमाडौं विश्वविद्यालयका सह-डिन प्रा. बलका अनुसार यस समझदारीले भाषिक समावेशिता र सामाजिक प्रभावका लागि आर्टिफिसियल इन्टेलिजेन्सको शक्तिको उपयोग गर्न नेपाल र भारतबीचको साझा प्रतिबद्धतालाई झल्काउँछ । काठमाडौँ विश्वविद्यालयको डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर-एआई केन्द्र र भाषिणीबीचको सहकार्यमार्फत बहुभाषिक एआईमा अनुसन्धान, नवप्रवर्तन र क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । काठमाडौं विश्वविद्यालयले न्याचुरल ल्याङ्ग्वेज प्रोसेसिङ र एआई क्षेत्रमा विभिन्न पहल गर्दै आएको छ ।
डिजिटल इन्डिया भाषिनी डिभिजन भारत सरकारको इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयअन्तर्गतको पहल हो । यो प्लाटफर्मले विशेषगरी भारतीय भाषाहरूमा केन्द्रित भएर एआई र मसिन लर्निङमार्फत एउटा भाषामा बोलिएको वा लेखिएको कुरालाई तुरुन्तै अर्को भाषामा अनुवाद गर्ने, बोलेको कुरालाई टाइप गरिदिने र लेखिएको पाठलाई आवाजमा रूपान्तरण गर्नुका साथै फाइल, सरकारी नीति तथा कागजातहरूलाई विभिन्न भाषाहरूमा अनुवाद र डिजिटाइज गरिदिन्छ ।
यसको प्लगइन प्रयोग गरेर कुनै पनि वेबसाइटलाई सहजै विभिन्न क्षेत्रीय भाषाहरूमा परिवर्तन गर्न सकिन्छ । यसले हालसम्म ३६ वटा भाषाहरू, २३ वटा भ्वाइस र ३५ वटा अन्तर्राष्ट्रिय भाषा पहिचान गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
