ट्रम्पसँगै चीन भ्रमणमा मस्कसहित १७ ठूला अमेरिकी कम्पनीका उच्च अधिकारीहरू

डोनाल्ड ट्रम्पको चीन भ्रमणमा एप्पल, टेस्ला, बोइङलगायत दर्जनभन्दा बढी ठूला अमेरिकी कम्पनीका प्रमुखहरू सहभागी हुने भनिएको छ, व्यापार र प्रविधिमा छलफल हुनेछ ।

वैशाख २९, २०८३

कान्तिपुर संवाददाता

Musk, 17 top executives from major US companies on China trip with Trump

What you should know

काठमाडौँ — झण्डै ९ वर्षपछि चीन भ्रमणमा जान लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दर्जनभन्दा बढी ठूला अमेरिकी कम्पनीका उच्च अधिकारीहरूलाई पनि समावेश गरेको व्हाइट हाउसलाई उदृ्त गर्दै रोयटर्सले जनाएको छ । बुधबारबाट शुरू हुने भ्रमण दलमा विश्वकै धनाढ्य एवं ट्रम्पका मित्र इलन मस्क, एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुक, बोइङका प्रमुख केली ओटवर्गसँगै अन्य प्रमुख अमेरिकी कम्पनीका उच्च अधिकारी र व्यावसायीहरू समावेश रहेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसअघि नै हुने तय भएर पश्चिम एसियाको तनावका कारण पछि सारिएको यो भ्रमण शुक्रबारसम्म चल्नेछ । अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहिबार भेटवार्ता हुने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा द्वीपक्षीय व्यापार, आपसी लगानी, इरानसँगको तनाव, आणविक हातहतियारदेखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को व्यवस्थापनका विभिन्न विषयमा छलफल र घोषणाहरू हुने कार्यक्रम रहेको सीएनबीसीले जनाएको छ । 

झण्डै ५०० ठूला आकारका बोइङ जहाजसँगै कृषि, ऊर्जा, सेमीकन्डक्टर र अन्य अमेरिकी प्रविधि उत्पादन चीनले खरीद गर्ने घोषणा हुनसक्ने मानिएको छ । यो भ्रमणमा रेयर अर्थ मिनरल्सका विषयमा पनि छलफल हुने र ठूला अमेरिकी कम्पनीका प्रमुखहरूले चीनमा थप लगानीको घोषणा गर्ने गरी सीईओ फोरममा भाग लिने पनि कार्यक्रम रहेको छ ।

ट्रम्पसँगै चीन भ्रमणमा निस्किन लागेका अन्य व्यापारिक कम्पनीका उच्च अधिकारीहरूमा मेटाका डिना पावेल, ब्ल्याकरकका ल्यारी फिंक, ब्ल्याकरकका स्टेफेन स्वार्जम्यान, माइक्रोनका सञ्जय महोरोत्रा, मास्टरकार्डका माइकल मिब्याक, क्वालकमका क्रिस्टियानो एमोन, भिसाका रायन म्याक्लनरे, कार्गिलका ब्रायन साइक्स, कोहेरेन्टका जिम एन्डर्सन र इल्लुमिनाका जेकब थायसन, गोल्डम्यान स्याक्स, सिटीका प्रमुखहरू रहेको रोयटर्सले उल्लेख गरेको छ । 

यस भ्रमण दलमा रहने अपेक्षा गरिएका र निम्तो नपाएका प्रमुख नाममा एनभिडियाका प्रमुख जान्सेन हुवाङ रहेको बीबीसीले जनाएको छ। बिहिबार हुने ट्रम्प र सीबीचको औपचारिक भेटवार्तापछि अमेरिका र चीनबीच व्यापार र लगानी सम्बन्धी बोर्डहरूको घोषणा गर्ने कार्यक्रम रहेको छ । दुई देशबीचको प्रविधि तनाव कम गर्नुका साथै एआईजस्ता नविनतम प्रविधिको विश्वव्यापी सुरक्षाका बारेमा पनि छलफल र घोषणा हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको दाबी छ ।

आफ्ना औपचारिक भ्रमणहरूमा ठूला कम्पनीका प्रमुखहरूलाई उल्लेख्य महत्व दिन रूचाउने ट्रम्पले सन् २०१७ को आफ्नो चीन भ्रमणमा पनि झन्डै २९ जना ठूला कम्पनीका प्रमुख लिएर गएका थिए । बढ्दो भूराजनीतिक तनाव र एआई प्रविधिमा दुई देशको प्रतिस्पर्धासँगै ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा ट्यारिफजस्ता आक्रामक प्रतिबन्धहरू घोषणा गरेका छन् । यसबीच हुन लागेको यो भ्रमणलाई विश्वभरकै व्यवसायिक जगतले उत्सुकतापूर्वक हेरिरहेको छ ।

कान्तिपुर

Link copied successfully