हुवावे नेपालका नयाँ प्रमुख, चेस्टरको युक्रेन-माल्दिभ्स अनुभव र नेपालको डिजिटल लक्ष्य

हुवावे नेपालका सीईओ चेस्टरले दूरसञ्चार उद्योगलाई दिगो र गुणस्तरीय बनाउन सरकारको नीति, डिजिटल भिजन र एआईको लक्ष्य सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

वैशाख १८, २०८३

सजना बराल

Huawei Nepal's new head, Chester's Ukraine-Maldives experience and Nepal's digital goals

What you should know

काठमाडौँ — हुवावे नेपालका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) चेन केयाङ (चेस्टर) नेपालमा सूचना प्रविधिका पर्याप्त दक्ष जनशक्ति भए पनि समग्र सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा नेपाल छिमेकी देशहरूभन्दा पछाडि रहेको बताउँछन् । तथापि, यो अवस्थालाई उनले सुधार गर्ने र अघि बढ्ने अवसरका रूपमा व्याख्या गरे । गत असोजमा हुवावे नेपालको नेतृत्व सम्हाल्न आइपुगेका ३२ वर्षीय चेस्टर प्रविधि विस्तार र डिजिटल रूपान्तरणमा वर्तमान सरकारले लिएको नीति तथा सक्रियताप्रति आशावादी छन् ।

बिहिबार ‘टेक फर्वाड: मिडिया डाइलग २०२६’ कार्यक्रममा बोल्दै नेपालको डिजिटल भिजन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डेटा सेन्टर निर्माणमा सरकारले देखाएको तदारुकताप्रति चेस्टर उत्साहित सुनिए । ‘अहिले मैले थुप्रै सकारात्मक परिवर्तन महसुस गरिरहेको छु, सरकारको दृष्टिकोण र सय बुँदे कार्यक्रममा डिजिटलाइजेसनका लागि स्पष्ट भिजन र यसको आवश्यकता बोध गरेको देखिन्छ,’ उनले भने, ‘प्रविधिको विकासप्रति सरकारले जुन किसिमको सम्मान देखाएको छ, त्यो हुवावे र समग्र प्रविधि क्षेत्रका लागि खुसीको कुरा हो ।’ 

चेस्टरले सन् २०१५ मा चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनी, हुवावे प्रवेश गरेका थिए । चीनमा केही समय काम गरेपछि उनी कम्पनीकै युक्रेन कार्यालय गए । त्यहाँ सोलुसन म्यानेजर, टिम लिडर हुँदै एकाउन्ट डाइरेक्टरसम्मको जिम्मेवारी सम्हाले । नेपाल आउनुअघि साढे दुई वर्ष माल्दिभ्समा ‘कन्ट्री म्यानेजर’का रूपमा काम गरेका थिए । भौतिकशास्त्रमा स्नातक गरेका उनी नेपालको दूरसञ्चार उद्योगलाई ‘दिगो’ र गुणस्तरीय बनाउनुपर्ने धारणा राख्छन् । ‘दूरसञ्चार सेवा प्रदायक (अपरेटर), हुवावेजस्ता प्रविधि प्रदायक र इन्जिनियरिङ पार्टनरहरू सबै अहिले कठिन अवस्थाबाट गुज्रिरहेका छन्,’ उनले भने, ‘उद्योग नै स्वस्थ रहेन भने यसमा आबद्ध कोही पनि सफल हुन सक्दैनन् ।’

अबका दिनमा हुवावेले नेपालको ‘प्रविधि इकोसिस्टम’ सुधारमा जोड दिने चेस्टरले कान्तिपुरलाई बताए । हाल नेपालको टेलिकम उद्योग बाँच्नका लागि संघर्ष गरिरहेको अवस्थामा रहँदा यहाँको सरकारले दूरसञ्चारका विषयमा माल्दिभ्सबाट व्यावसायिक वातावरण र नीतिगत स्पष्टताबारे पाठ सिक्न सक्ने औँल्याए । ‘त्यहाँ पनि नेपालमाजस्तै दुईटा अपरेटर छन्, एउटा सरकारी र अर्को चाहिँ पूर्ण विदेशी लगानी भएको कम्पनी छ,’ चेस्टरले भने, ‘दुवैलाई सबैलाई समान र निष्पक्ष व्यवहार गरिन्छ । फाइभजी विस्तार गर्नेबेला नि:शुल्क स्पेक्ट्रम दिएको थियो, त्यसबापत कम्पनीहरूले पूर्वाधार विस्तार गर्नुपर्ने सर्त थियो । यसले राम्रो नतिजा ल्यायो ।’  

Huawei Nepal's new head, Chester's Ukraine-Maldives experience and Nepal's digital goals

सूचना प्रविधिको विकासलाई फाइभजीजस्ता कुनै एउटा प्रविधिको विस्तारका रूपमा मात्र नभई समग्र आर्थिक विकासको आधारको रूपमा हेर्नुपर्ने चेस्टर बताउँछन् । ‘जसरी सडकले मानिसको जीवन शैली सहज बनाएर उत्पादकत्व दोब्बर बढाउँछ, नेटवर्क कनेक्टिभिटीले पनि देशको कुल गार्हस्थ्य उत्पादन वृद्धिमा योगदान पुर्‍याउन सक्छ,’ उनले भने, ‘स्पेक्ट्रम प्रयोग गरेबापत लाग्ने उच्च दस्तुर, महँगा उपकरण, उच्च कर र अधिक विद्युत् खपतले नेपालमा फाइभजीजस्ता प्रविधिको विस्तार र दिगो प्रयोग कठिन बनेको छ ।’ 

चेस्टरका अनुसार नेपालमा दूरसञ्चारका प्रतिप्रयोगकर्ताको औसत खर्च विश्वकै न्यून छ । प्रयोगकर्ताहरूले राम्रो गुणस्तरको सेवा चाहने हो भने त्यसका लागि थोरै बढी शुल्क तिर्न तयार हुनुपर्ने उनको धारणा छ । ‘नेपालमा एक प्रयोगकर्ताले महिनामा औसत करिब १.५ देखि १.८ डलर (करिब २०० देखि २५० रुपैयाँ) मोबाइलमा खर्च गर्छन्,’ उनले भने, ‘माल्दिभ्समा एकजनाले महिनामा औसत २० डलर खर्च गर्छन् । नेपालको जनसंख्या ३ करोड र माल्दिभ्सको साढे ५ लाख मात्र भएकाले नेपालमा प्रतिग्राहक २० डलर पुग्न आवश्यक छैन । तर, उद्योगलाई दिगो बनाउन र गुणस्तरीय सेवा उपलब्ध गराउन २ डलरभन्दा माथिको खर्च उचित हुन्छ ।’ 

हुवावेले नेपालमा २७ वर्षदेखि काम गरिरहेको र यो सम्बन्ध निकै मजबुत रहेको उनी बताउँछन् । आफ्नो नेतृत्वमा नेपाललाई थप डिजिटल र कनेक्टेड बनाउन प्रयास जारी राख्ने उनको प्रतिबद्धता छ । नयाँ पुस्ताका प्रविधिप्रेमीहरूसँग मिलेर नेपालको डिजिटल स्तर उकास्नु नै आफ्नो मुख्य लक्ष्य रहेको चेस्टरले उल्लेख गरे । ‘दूरसञ्चार क्षेत्रलाई दिगो बनाउन सके मात्रै समग्र देशको डिजिटल रूपान्तरण र आर्थिक भविष्यको जग दरिलो बन्छ,’ उनले भने, ‘नयाँ सरकारको सक्रियताले नेपालमा प्रविधि क्षेत्रमा सुधारको वातावरण बन्दै गएको महसुस गरेको छु ।’ 

Huawei Nepal's new head, Chester's Ukraine-Maldives experience and Nepal's digital goals

चेस्टरले दूरसञ्चारमा ‘सब्सक्रिप्सन मोडल’ कार्यान्वयनमा ल्याउनुलाई ठूलो सुधारका रूपमा लिएका छन् । सार्वजनिक खरिद नियमावली परिमार्जनको विषयलाई पनि उनले सकारात्मक कदम भनेका छन् । ‘यसबाट प्राविधिक योग्यता र व्यावसायिक पक्षबीच सन्तुलन कायम हुन्छ,’ उनले भने, ‘धेरै विदेशी कम्पनीहरू नेपालमा काम गर्न आकर्षित हुनसक्छन् ।’ सरकारले नेपाललाई एआई र डेटा सेन्टरको हब बनाउन लिएको लक्ष्यलाई पनि उनले राम्रो भनेका छन् । एआईको क्षेत्रमा ठोस कार्ययोजना नआइसकेको तर सरकारको सोच सही रहेको उनले टिप्पणी गरे ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully