अमेरिकी प्रविधि कम्पनीहरू नेपालमा लगानी विस्तार गर्न इच्छुक

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँगको भेटमा लगानी विस्तार र व्यवसायमैत्री नीति निर्माणमा जोड दिएका छन् ।

वैशाख ११, २०८३

सजना बराल

US technology companies keen to expand investment in Nepal

What you should know

काठमाडौँ — नेपालमा उबर, मेटाजस्ता अमेरिकी प्रविधि कम्पनीले व्यवसाय विस्तार गर्न चाहेको चर्चा चलिरहेका बेला नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनालाई भेटेर यस्तै आशय व्यक्त गरेका छन् । शुक्रबार सिंहदरबारमा भएको शिष्टाचार भेटमा नेपालको सूचना प्रविधि क्षेत्रको रूपान्तरण र द्विपक्षीय सहयोगलाई सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा कार्यवाहक राजदूत अर्बमले नेपालको सूचना प्रविधि क्षेत्रमा अमेरिकी निजी क्षेत्रका लगानीकर्ताहरूले निकै चासो देखाएको जानकारी गराएका थिए । नेपालले उपयुक्त नीति र सहज लगानी वातावरण निर्माण गर्न सके थप अमेरिकी लगानी भित्रिन सक्ने उनको भनाइ थियो ।

विश्वकै ठूलो राइड-हेलिङ कम्पनी ‘उबर’ एक महिनाभित्रै नेपाली बजारमा प्रवेश गर्न लागेको विषयमा द काठमान्डु पोस्टले अघिल्लो साता मात्रै समाचार प्रकाशन गरेको थियो । सान फ्रान्सिस्कोमा मुख्यालय रहेको यो अमेरिकी बहुराष्ट्रिय कम्पनीले विगत केही महिनादेखि नेपाली बजारको अध्ययन गरिरहेको र स्थानीय सरोकारवालाहरूसँग छलफल गरिरहेको स्रोतले जनाएको छ । हाल नेपालमा पठाओ, इनड्राइभ, याङ्‌गोजस्ता राइड-हेलिङ सेवाहरू सञ्चालनमा छन् । उबरको आगमनले प्रतिस्पर्धा बढ्ने अनुमान गरिएको छ । 

यस्तै, नेपालमा सबैभन्दा धेरै मानिसले चलाउने सामाजिक सञ्जाल प्लाटफर्म, ‘मेटा’ (फेसबुक) ले पनि यहाँ डेटा सेन्टर स्थापना गर्ने तयारी गरेको भन्दै नेपालन्युज डटकमका अध्यक्ष प्रमोदराज सेढाईँले सामाजिक सञ्जालमा लेखेका छन् । यसबाट अन्तर्राष्ट्रिय ब्यान्डविथ लागत २५ प्रतिशतसम्म घट्ने र इन्टरनेट पूर्वाधारमा पर्ने चाप कम हुने उनले उल्लेख गरेका छन् । ‘गुगल र अमेजनजस्ता अन्य ठूला प्रविधि कम्पनीहरूले पनि नेपालमा यस्तै कदम चाल्ने विचार गरिरहेका छन्,’ उनको दाबी छ । 

सरकारले पनि सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन केही प्रक्रियाहरू सहज बनाएको छ । हाल सूचना प्रविधि क्षेत्रका आयोजनाहरूका लागि वैदेशिक लगानीको न्यूनतम सीमा (थ्रेसहोल्ड) नलाग्ने व्यवस्था गरिएको छ । सञ्चारमन्त्री तिमिल्सिनाले भेटका क्रममा सरकारले व्यवसायमैत्री वातावरण र नियामकीय स्पष्टता ल्याउन तीव्र गतिमा काम गरिरहेको बताएका थिए । यातायात व्यवस्था विभागले उबरजस्ता सेवाहरूलाई नियमन गर्न ‘डिजिटल मोबिलिटी सेवा सञ्चालन मापदण्ड २०२६’ को मस्यौदा तयार पारी मन्त्रालयमा पठाएको र यो स्वीकृतिको चरणमा रहेको जनाएको छ । 

केही वर्षअघि गुगलले नेपालमा डेटा सेन्टर खोल्न सकिन्छ भनेर अध्ययन गरेको चर्चा चलेको थियो । गुगलले जलविद्युत् परियोजना नै सञ्चालन गरेर डेटा सेन्टरलाई चाहिने अधिक बिजुली जुटाउने उद्देश्य राखे पनि त्यो बेला नियामकीय झन्झट देखेर नआएको प्रविधि क्षेत्रका कतिपय जानकार बताउँछन् । सम्भाव्यता अध्ययनका लागि गुगलका प्रतिनिधि नेपाल आएको विषयमा डिसहोमका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुदीप आर्चायले सार्वजनिक कार्यक्रममै बताएका थिए ।

हाल नेपालमा प्रत्यक्ष र संयुक्त लगानी (जेभी) वा फ्रेन्चाइजका रूपका केही अमेरिकी कम्पनीहरू सञ्चालनमा छन् । सूचना प्रविधि सेवा निर्यात गर्ने कोटीभिटी, लिपफ्रग टेक्नोलोजीदेखि अमेरिकी स्टक एक्चेन्ज, नासडाकमा सूचीकृत फ्युजमेसिन्सको मुख्य कार्यालय नेपालमा छ । कोकाकोला, पेप्सिकोजस्ता पेय पदार्थ पनि लामो समयदेखि नेपाली बजारमा छन् । अमेरिकी ब्रान्ड केएफसी र पिज्जा हट देवयानी इन्टरनेसनलमार्फत नेपालमा सञ्चालनमा छन् । डीएचएल कुरियर सेवा, वेस्टर्न युनियनलगायत अमेरिकी सेवा प्रदायकको नेपालमा उपस्थिति छ । पछिल्लो समय अमेरिकी लगानीकर्ताहरूले नेपालको सूचना प्रविधि क्षेत्रमा बढी चासो देखाएको पाइन्छ । 

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully