अब गुगलका एप्सका व्यक्तिगत तस्विरलाई जेमिनाईमा अटाेमेटिक कनेक्ट गर्न सकिने

गत वर्ष लन्च हुँदा नानो बनाना निकै चर्चित बनेको थियो । मानिसहरुले यसमा आफ्ना व्यक्तिगत फोटोहरु राखेर नयाँ तस्विर बनाएका थिए ।

वैशाख ४, २०८३

कान्तिपुर संवाददाता

Now personal photos from Google apps can be automatically connected to Gemini

काठमाडौँ — गुगलले जेमिनाई एआई च्याटबोटमा व्यक्तिगत फोटोहरुलाई अटोमेटिक कनेक्ट गर्न सकिने सुविधा ल्याएको छ । गुगल एप्समा रहेका व्यक्तिगत तस्विर जेमिनाई हुँदै नानो बनानासँग जोड्ने अनुमति दिइने घोषणा बिहीबार गुगलले गरेको हो । 

‘पर्सनल इन्टेलिजेन्सले गुगल एप्समा रहेका तस्विरहरुलाई जेमिनाई च्याटबोटमा कनेक्ट गर्छ, ’ गुगलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘नानो बनानाले उनीहरुका निजी गुगल फोटोमा आधारित रहेर व्यक्तिगत नयाँ फोटोहरु सिर्जना गर्छ ।’ 

मानिसका प्रश्नहरुको व्यक्तिगत उत्तर दिनसक्नेगरी यो प्रविधि तयार गरिएको गुगलले जनाएको छ । अहिलेसम्म नानो बनानामा  फोटो तयार गर्नका म्यानुअल्ली नै अपलोड गर्नुपर्ने व्यवस्था छ । 

तर, अब अटोमेटिक रुपमा जेमिनाईमा आफ्ना फोटो कनेक्ट गरेर प्रयोगकर्ताहरुले कमाण्ड दिनसक्छन्, जस्तो, ‘ मेरो परिवारसँग घुम्दै गरेको तस्विर बनाइदिनुस् ।’ कम्पनीकाअनुसार जेमिनाईले गुगल फोटोमा पहुँचका लागि अनुमति माग्‍नेछ । त्यसपछि व्यक्तिगत फोटो हेरेर त्यसैका आधारमा नयाँ बनाइदिनेछ । 

गत वर्ष लन्च हुँदा नानो बनाना निकै चर्चित बनेको थियो । मानिसहरुले यसमा आफ्ना व्यक्तिगत फोटोहरु राखेर नयाँ तस्विर बनाएका थिए । प्रयोगकर्ताको ओभरफ्लोपछि कम्पनीको पूर्वाधारमै यसले ओभरलोड सिर्जना गर्‍यो । दबाब कम गर्नका लागि अस्थायी रुपमा प्रयोगकर्ताहरुलाई गुगलले प्रयोगको सीमा तोकिदियो । 

यही फिचरको लोकप्रियताले जेमिनाई एपलाई एप्पल एप स्टोरको पहिलो नम्बरमा पुर्‍याएको थियो ।  प्रयोगकर्ताको निजी फोटो लाइब्रेरीमा  सीधा कनेक्ट गर्नसक्ने जेमिनाईको क्षमतालाई निजी सुचनामा एआई च्याटबोटको ठूलो प्रभावका रुपमा लिइएको छ । 

आगामी केही दिनभित्रै पेड सस्क्राइबर्सले यो सुविधा प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । गुगलले जनवरीमा पर्सनल इन्टेलिजेन्स लन्च गरेको थियो । नानो बनाना २ फेब्रुअरीमा लन्च गर्‍यो । कम्पनीले स्पिड बढाइएको, टेक्स्ट रेन्डरिङलाई सुधार गरिएको र कमाण्डलाई थप सटिक बनाइएको जनाएको छ ।

कान्तिपुर

Link copied successfully