पश्चिम एसियामा रहेका ठूला प्रविधि कम्पनी इरानको निसानामा

यूएई, बहराइन, कतार, साउदी अरेबियादेखि इजरायलको तेल अभिभसम्म रहेका अमेरिकी कम्पनीका पूर्वाधारहरूमा आक्रमण गर्ने सूची नै जारी गरेको रिपोर्ट प्रकाशित भएको छ ।

चैत्र २०, २०८२

एजेन्सी

Iran targets major tech companies in West Asia

What you should know

काठमाडौँ — इरानको इस्लामिक रिभोलुसनरी गार्डस् (आईआरजीसी) ले पश्चिम एसियामा रहेका अमेरिकी प्रविधि कम्पनीका पूर्वाधारहरूलाई निसाना बनाएर आक्रमण गर्दै आएको छ । आईआरजीसीले अमेरिका तथा उसका सहयोगी १८ कम्पनी अब ‘वैध सैन्य लक्ष्य’ हुने चेतावनी दिएको छ ।

सिलिकन भ्यालीका एनभिडिया, डेल, एचपी, इन्टेल, अमेजन, ओर्‍याकल, माइक्रोसफ्ट र गुगलजस्ता कम्पनीलाई लक्ष्य गर्दै ड्रोन, क्षेप्यास्त्र तथा साइबर आक्रमणहरू तीव्र पारेको छ ।

एक महिनादेखि चलेको अमेरिका-इजरायल-इरान युद्धले निजी क्षेत्रलाई पनि प्रत्यक्ष द्वन्द्वको घेरामा ल्याएको रोयटर्सको समाचारमा उल्लेख छ । आईआरजीसीसँग सम्बद्ध मानिने तास्निम समाचार संस्थाले संयुक्त अरब इमिरेट्स, बहराइन, कतार, साउदी अरेबियादेखि इजरायलको तेल अभिभसम्म रहेका अमेरिकी कम्पनीका पूर्वाधारहरूमा आक्रमण गर्ने सूची नै जारी गरेको रिपोर्ट प्रकाशित गरेको छ । 

मंगलबार मात्रै बहराइनस्थित अमेजनको क्लाउड कम्प्युटिङ केन्द्र रहेको भवनमा आक्रमण गरिएको रोयटर्सले जनाएको छ । इरानका सरकारी सञ्चार माध्यमलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार इरानमाथि भएको आक्रमणको प्रतिकारस्वरूप बहराइनस्थित अमेजन क्लाउड कम्प्युटिङ केन्द्रलाई लक्षित गरेको दाबी गरिएको छ । 

त्यस्तै, दुबईमा कार्यालय रहेको अमेरिकी कम्पनी ओर्‍याकलको डेटा सेन्टरमा पनि आक्रमण गरिएको समाचार बाहिरिएका थिए । यसलाई भने दुबई सरकारले अस्वीकार गरेको छ । यसअघि मार्चमा संयुक्त अरब इमिरेट्स र बहराइनमा रहेका अमेजन वेब सर्भिसका डेटा सेन्टरहरू ड्रोन आक्रमणबाट प्रभावित हुँदा केही समय क्षेत्रीय सेवा अवरुद्ध भएको थियो । 

यी आक्रमणले डिजिटल पूर्वाधारमा क्षति पुर्‍याएका छन् । अमेजनका सेवाहरू अवरुद्ध हुँदा बैंकिङ, भुक्तानी प्रणाली र विभिन्न अनलाइन सेवा प्रभावित भएका थिए । कम्पनीले जारी गरेको विज्ञप्तिमा ‘संरचनात्मक क्षति, विद्युत् आपूर्ति अवरोध र आगलागी नियन्त्रण प्रणाली सक्रिय हुँदा थप क्षति भएको’ उल्लेख छ ।

बहराइनमा इरानी आक्रमणपछि एक बृहत् औद्योगिक संरचनामा आगलागी भएको र क्षति मूल्यांकन भइरहेको स्थानीय अधिकारीहरूले बताएको फाइनान्सियल टाइम्सलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । यसैबीच, बहराइनको अलुमिनियम कम्पनी अल्बा र यूएईको एमिरेट्स ग्लोबल अलुमिनियमजस्ता बहुर्राष्ट्रिय औद्योगिक कम्पनीहरू पनि इरानी आक्रमणको निसानामा परेका छन् । यी घटनामा दुईजना सामान्य घाइते भएका थिए। 

पछिल्ला यी घटनाबारे सिलिकन भ्यालीका ठूला कम्पनीहरूको आधिकारिक प्रतिक्रिया आएको छैन । इजरायल र अन्य पश्चिम एसिया कार्यालयहरूमा कैयौं अमेरिकी प्रविधि कम्पनिका दसौं हजार कर्मचारी कार्यरत रहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

एजेन्सी

Link copied successfully