मुगुका युवाले दिए सञ्चारमन्त्रीलाई बार फोन उपहार, मन्त्रीले लिएनन्

बार फोन (सामान्य मोबाइल) चलाउनेले पनि सरकारका सूचना पाउनुपर्ने मुगुका युवाको माग छ ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

Youth from Mugu gifted a bar phone to the Minister of Communications, but the Minister did not accept it.

काठमाडौँ — स्मार्टफोनको सट्टा बार फोन (सामान्य मोबाइल) चलाउनेले पनि सरकारका सूचनाहरू पाउनुपर्ने माग मुगुका युवाहरूले राखेका छन् । उनीहरूले दुर्गम जिल्लामा इन्टरनेट पहुँच विस्तार गर्न आग्रह गर्दै बुधबार सूचना तथा सञ्चार मन्त्रीसमक्ष ध्यानाकर्षण गराए । उनीहरूले वालेन्द्र शाह प्रधानमन्त्री भइसकेको खबर सामान्य मोबाइल बोक्ने प्रयोगकर्तालाई पुर्‍याउन सञ्चारमन्त्रीलाई अनुरोध समेत गरे ।

स्थानीय युवा आशिष देवकोटाको नेतृत्वमा गएको टोलीले मुगुमा करिब ५ प्रतिशत नागरिक मात्र इन्टरनेट प्रयोगकर्ता रहेको र बाँकी ९५ प्रतिशतले अझै पनि पुराना मोबाइल प्रयोग गरिरहेको बताए । 

सोही सन्दर्भमा उनीहरूले त्यस्ता मोबाइल प्रयोगकर्तालाई पनि सूचना प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याउँदै नवनियुक्त सञ्चारमन्त्री विक्रम तिमल्सिनालाई सांकेतिक रूपमा दुईवटा बार फोन उपहार दिएका छन् । तर, मन्त्री तिमल्सिनाले उक्त उपहार अस्वीकार गरेका छन् । मन्त्री तिमिल्सिनाले प्रधानमन्त्री शाहको भनाइ उदृत गर्दै सुदूर अब दूर नभएको प्रतिक्रिया दिए ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा अनलाइन प्रविधि सहज बनाउन १२ सयवटा फोरजी टावरलाई बढाएर ३ हजार पुर्‍याउने लक्ष्य रहेको उनले दाबी गरे । उनले दुर्गम क्षेत्रलाई डिजिटल पहुँचमा ल्याउने प्रतिबद्धता सरकारको प्राथमिकतामा रहेको पनि उल्लेख गरे ।

युवा टोलीले मुगुमा इन्टरनेट प्रयोगकर्ताको संख्या न्यून हुनुका चुनौतीहरू र त्यसका समाधानका सम्भावित उपायहरू पनि मन्त्रीसमक्ष पेस गरेका थिए ।

कान्तिपुर

Link copied successfully