ग्राहकहरूले पुरानोलाई फोरजी सिममा निःशुल्क रूपान्तरण गर्न सक्ने कम्पनीले जनाएको छ ।
काठमाडौँ — नेपाल टेलिकमले थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजीमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई सिम परिवर्तनका लागि भ्वाइस कल तथा एसएमएसमार्फत जानकारी गराइएको छ ।
पुरानो सिमलाई फोरजीमा अपग्रेड गर्न ग्राहकले नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । 'फोरजीमा परिवर्तन गर्न ग्राहकले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्रलगायत पहिचान खुल्ने कुनै आधिकारिक परिचयपत्र देखाएर फोरजी सिम लिन सक्नु हुनेछ,' टेलिकमले भनेको छ ।
नेपाल टेलिकमले थ्रीजी प्रयोगकर्तालाई फोरजीमा रुपान्तर गर्ने कार्यलाई तीव्र बनाएको छ । थ्रीजीभन्दा फोरजी प्रविधिको सिम चलाउँदा मोबाइल इन्टरनेटको गति र सेवाको गुणस्तरमा सुधार हुने भएकाले यसबाट ग्राहकलाई फाइदा हुने कम्पनीको विश्वास छ ।
सिम फोरजी प्रविधिको हो वा होइन भन्ने थाहा पाउन *444# डायल गर्न सकिन्छ । यसबाट फोरजी सेवा सक्रिय गर्नुका साथै उच्च गुणस्तरको भोल्टी सेवासमेत सक्रिय गर्न सकिने टेलिकमले जनाएको छ ।
