नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कतारलगायत विभिन्न देशमा होस्ट गरिएका र नेपालमा सक्रिय ४ सयभन्दा धेरै बेटिङ एप र वेबसाइट पहिचान गरेको छ ।
काठमाडौँ — सरकारले अवैध सट्टेबाजी (बेटिङ) एप र वेबसाइटहरू धमाधम बन्द गर्न थालेको छ । हालसम्म करिब २६१ वटा बेटिङ एपहरू बन्द भइसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
शनिबार मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सयवटा कार्यसूचीअन्तर्गत सञ्चार मन्त्रालयलाई सट्टेबाजी एप र त्यससँग सम्बन्धित वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्न निर्देशन दिइएको थियो । मन्त्रालयका प्रवक्ता उदयबहादुर रानाले हालसम्म करिब २६१ वटा बेटिङ एपहरू बन्द भइसकेको र अन्य यस्ता एपहरूको खोजी गर्ने कार्य जारी रहेको जानकारी दिए ।
प्रवक्ता रानाका अनुसार सरकारले त्यस्ता एप र वेबसाइटहरूको खोजी गर्दै बन्द गराउने क्रम जारी राखेको छ । मन्त्रालयले आइतबार नै दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेर यस्ता अवैध एप बन्द गराउन निर्देशन दिएको थियो ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले मन्त्रालयबाट पत्र प्राप्त भएलगत्तै सबै मोबाइल र इन्टरनेट सेवा प्रदायकहरूलाई तत्काल त्यस्ता एप र वेबसाइटहरू बन्द गर्न निर्देशन पठाइएको जानकारी दिए । उनका अनुसार प्राधिकरणले सोमबार मात्रै सबै इन्टरनेट सेवा प्रदायकहरूलाई बोलाएर कार्यान्वयनको प्रगति समीक्षासमेत गरेको छ । अर्यालले यस्ता एपहरू बन्द गर्दा अन्य आवश्यक साइटहरू बन्द नहुने गरी सावधानी अपनाउनु पर्ने चुनौती रहेको उल्लेख गरे ।
नेपालमा वानएक्स बेट, क्रिक्सबेट, मेलबेटजस्ता अनलाइन बेटिङ एप सक्रिए देखिन्थे ।
