नथिङ फोनका संस्थापकमध्ये एक कार्ल पेइले मोबाइल एपहरूको सट्टा अब एआई एजेन्टहरूले डिजिटल जीवन परिवर्तन गर्ने बताएका छन् ।
What you should know
काठमाडौँ — इन्टरनेटको दुनियाँमा कुनै बेला ‘वेब सर्फिङ’लाई मोबाइल एपहरूले विस्थापित गर्छ भनिन्थ्यो । तर, अहिले समय बदलिएको छ । अब एपहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले विस्थापित गर्ने अनुमान गर्न थालिएको छ ।प्रविधि विज्ञहरूका अनुसार स्मार्टफोनको प्रयोग गर्ने शैलीमा अब ठूलो परिवर्तन आउँदै छ । प्रयोगकर्ताले विभिन्न कामका लागि छुट्टाछुट्टै एपहरू खोलिरहनु पर्ने झन्झटबाट मुक्ति पाउनेछन् र एआईले ती सबै काम एकीकृत रूपमा गरिदिनेछ ।
प्रख्यात ‘नथिङ’ फोनका निर्माता तथा प्रमुख कार्यकारी अधिकृत कार्ल पेइले स्मार्टफोनको वर्तमान अवस्थालाई सन् २००५ तिरका पाम पाइलट र पीडीएसँग तुलना गरेका छन् । पाम पाइलट र पीडीए करिब दुई दशकअघि प्रयोग गरिने डिजिटल टुलहरू हुन् । स्मार्टफोन क्षेत्र विगत २० वर्षदेखि निकै सुस्त वा ‘बोरिङ’ रहेको उनको भनाइ छ । पेइका अनुसार भविष्यमा एपहरू हराएर जाने निश्चित छ र यसले प्रविधि क्षेत्रका संस्थापकहरूलाई नयाँ ढंगले सोच्न बाध्य पार्नेछ ।
अमेरिकाको टेक्ससमा आयोजित साउथ बाई साउथवेस्ट कार्यक्रममा पेइले उदाहरण दिँदै भनेका छन्, ‘तपाईं अहिले साथीसँग कफी खान चाहनुहुन्छ भने त्यसका लागि म्यासेजिङ एप, म्याप्स, उबर र क्यालेन्डर गरी चारवटा एप खोलिरहनुपर्छ । फोनमा कुनै पनि काम गर्न निकै झन्झटिलो भइरहेको छ ।’ उनले भविष्यको स्मार्टफोनको परिकल्पना गर्दै यसले प्रयोगकर्तालाई गहन रूपमा चिन्ने र हरेक आवश्यकता पूरा गरिदिने बताएका छन् ।
पेइका अनुसार एआईले सुरुमा उडान वा होटल बुक गर्नेजस्ता कमान्डहरू कार्यान्वयन गर्नेछ । यो असाध्यै साधारण काम वा ‘अति नै बोरिङ’ भएको उनको भनाइ छ । तर, एआई क्रमश: थप शक्तिशाली हुने र त्यसले प्रयोगकर्ताका योजनाहरू बुझेर उनीहरूलाई सहयोगीको रूपमा मार्गनिर्देश गर्नेछ । ‘जब सिस्टमले नै हामीलाई आफूले भन्दा बढी चिन्न थाल्छ, त्यसले यस्ता कुराहरू गरिदिनेछ जुन हामीलाई चाहिएको छ भन्ने कुरा हामी आफैँलाई हेक्का हुँदैन,’ उनले भनेका छन् ।
भविष्यमा एआई एजेन्टहरूका लागि छुट्टै इन्टरफेसको आवश्यकता पर्ने पेइको विश्लेषण छ । उनका अनुसार आगामी केही वर्षहरूमा प्रविधिसँगको हाम्रो सम्बन्ध पूर्ण रूपमा बदलिने र यो म्यानुअल प्रयोगबाट ‘प्रोएक्टिभ’ प्रयोगतर्फ लाग्नेछ । यस्तो हुँदा प्रविधिले मानिसका आवश्यकताहरू पहिले नै बुझ्न सक्नेछ ।
हाल विश्वभर मोबाइल एपहरूको संख्या झन्डै ९० लाखजति पुगेको अनुमान छ । सबैभन्दा पहिला प्रयोग भएको मोबाइल एपमा स्नेक गेमलाई लिइने गरेको छ । यो गेम नोकियाका फोनहरूमा उपलब्ध थियो । सन् १९९७ मा यो एप मोबाइलमा समावेश गरिएको थियो ।
