यस एपमा मानिसले खाता खोल्न, कमेन्ट र पोस्ट गर्न सक्दैनन् । तर, कुनै पनि व्यक्तिले आफ्नो एआई एजेन्टलाई भने त्यसमा उपस्थित गराउन सक्छन् ।
What you should know
काठमाडौँ — सामाजिक सञ्जाल प्लाटफर्म, रेडिटजस्तै प्रकृतिको अर्को एउटा प्लाटफर्म अहिले चर्चामा छ- मल्टबुक । यसमा विभिन्न विषयमा छलफल, गफगाफ, भोटिङ र विचार आदानप्रदान भइरहेका छन् । तर, रोचक पक्ष- यसमा मानिस छैनन् । विशुद्ध एआई एजेन्टका लागि बनाइएको हुँदा यसमा एआई बटहरूले नै कुराकानी गरिरहेको दाबी गरिएको छ ।
एआई-एआईबीचको सञ्चार यस प्लाटफर्ममा अवलोकन गर्न सकिन्छ । प्लाटफर्म निर्माता अमेरिकी इन्जिनियर एवं अक्टेन एआईका प्रमुख म्याट स्लिख्टका अनुसार मल्टबुक सार्वजनिक भएको ७२ घण्टामै करिब साढे १ लाख एआई एजेन्ट यसमा जोडिएका थिए । उनीहरूले १२ हजारभन्दा धेरै समूह (कम्युनिटिज) र १ लाख १० हजारभन्दा धेरै कमेन्ट आइसकेको उनले बताएका छन् ।
‘एआई बटहरूले मल्टबुकमा स्वचालित रूपमा पोस्ट मात्रै गरिरहेका छैनन्, एक-अर्काको प्रणालीमा सुरक्षा जाँच पनि गरिरहेका छन्,’ म्याटले एक्समा लेखेका छन्, ‘यो प्लाटफर्ममा के आवश्यक छ भनेर उनीहरूले लेखिरहेका छन् । यी सबै मानिसहरूका निजी एआई एसिस्टेन्टहरू हुन् । उनीहरू फुर्सदको समयमा यता रमाइलो गरिरहेका छन् ।’
रेडिटमा आफ्नो रुचिअनुसार उपसमूह (सबरेडिट) बनाउन वा तिनमा जोडिन मिल्ने सुविधा भएझैँ मल्टबुकमा एआई बटहरूले ‘सबमल्ट’ बनाउन मिल्छ । हाल एआई बटहरूले यसमा मानव र मेसिनबीचको सम्बन्धबारे बहस गर्नेदेखि आफ्नो छुट्टै नयाँ भाषा बनाउने र नयाँ धर्मको समेत चर्चा गरिरहेको बीबीसीमा पत्रकार लउरा क्रेसले उल्लेख गरेकी छन् । ‘मल्टबुकमा द एआई म्यानिफेस्टो शीर्षकको पोस्टसमेत छ, यसले मानिसहरू इतिहास र मसिन सँधैका लागि भएको दाबी गरेको छ,’ उनले विश्लेषण छ, ‘तर, यो सबै एआईले नै स्वाचालित रूपमा लेखेका हुन् भनेर ठोकुवा गर्न सकिँदैन ।’
प्लाटफर्ममा क्रिप्टो स्क्यामहरूको प्रचारसमेत भइरहेको हुँदा मानिसहरूले नै ‘एआई एजेन्ट’को भेषमा पोस्ट गरिरहेको आलोचकहरूले औँल्याइरहेका छन् ।अथवा, मानिसले नै एआईलाई यस्तो लेख भनेको हुनसक्ने पत्रकार क्रेसको अड्कल छ । यसलाई स्वचालित एआई प्लाटफर्मबीचको सहकार्यको प्रयोग मान्ने कि डिजिटल दुनियाँको भद्रगोल- यसमा पनि प्रश्न उठिरहेका छन् ।
यो प्लाटफर्म ‘ओपनक्ल’ फ्रेमवर्कमा आधारित भएर वा त्यसकै विस्तारित स्वरुपमा विकास गरिएको म्याटले जनाएका छन् । ओपनक्ल एउटा ओपन-सोर्स सफ्टवेयर फ्रेमवर्क हो । यसले जो कोहीलाई आफ्नो एआई एजेन्ट बनाउने सुविधा दिन्छ । प्रयोगकर्ताले ओपनक्ल सेट-अप गरेर आफ्नो एआई एजेन्टलाई मल्टबुकमा जान अनुमति दिएपछि त्यसले स्वचालित रूपमा पोस्ट गर्ने, अन्य एजेन्टसँग कुराकानी गर्ने विकासकर्ताहरूको भनाइ छ ।
कतिपयले यो प्लाटफर्मलाई इन्टरनेट इतिहासकै रोचक प्रयोग मानिरहेका छन् भने कतिले चाहिँ चुनौतीपूर्ण भविष्यको संकेत भन्दै सतर्क गराइरहेका छन् । ओपनक्लजस्ता प्रविधिलाई आफ्ना डिजिटल गतिविधिमा पहुँच दिनु सुरक्षा हिसाबले जोखिमपूर्ण रहेको पनि कतिपय विज्ञको भनाइ छ ।
