आइतबार काठमाडौँमा आयोजित ‘टिग कन्फरेन्स २०२६’ वक्ताहरूले परम्परागत शैलीको लेखा र बैँकिङ प्रणाली विस्थापित हुँदै जाँदा यस क्षेत्रमा पनि डेटा नै नयाँ युगको शक्ति हुने विश्लेषण गरे ।
What you should know
काठमाडौँ — अबको डिजिटल युगमा कर्जा लिन घर वा जग्गा धितो राख्नुपर्ने परम्परागत बाध्यता बिस्तारै हट्दै जाने र विश्वसनीय वित्तीय तथ्यांक (डेटा) नै भविष्यको धितो हुने विज्ञहरूले औँल्याएका छन् ।
आइतबार काठमाडौँमा आयोजित ‘टिग कन्फरेन्स २०२६’ वक्ताहरूले परम्परागत शैलीको लेखा र बैँकिङ प्रणाली विस्थापित हुँदै जाँदा यस क्षेत्रमा पनि डेटा नै नयाँ युगको शक्ति हुने विश्लेषण गरे ।
ग्लोबल आइएमई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलका अनुसार अब बैंकिङ प्रणाली ‘प्रोजेक्ट फाइनान्सिङ’ र ‘नगद प्रवाहमा आधारित कर्जा’मा केन्द्रित हुँदै छ । ‘हामीकहाँ आज पनि धितो वा फिक्स्ड एसेट कोल्याटरलबिना कर्जा दिनु हुँदैन भन्ने धारणा छ तर अन्तत: प्रोजेक्ट फाइनान्सिङ र क्यास-फ्लोमा आधारित फाइनान्सिङ नै अबको भविष्य हो,’ उनले भने, ‘बैंकले अब धितो हेरेर लोन दिँदैन, बिजनेस हेरेर दिन्छ । तपाईंको स्टक के छ, रिसिभेबल्स के छ, यो सबै डेटा हेरेर बैंकले लोन दिन थालिसकेका छन् ।’
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र सफ्टवेयर प्रणालीले बैँक तथा वित्तीय क्षेत्रमा यस्तो रूपान्तरणलाई सम्भव बनाएको विज्ञहरूको तर्क छ । रारा ल्याब्सका सह-संस्थापक मनोज घिमिरेले एआईले तथ्यांक संकलन र विश्लेषणको झन्झटिलो कामलाई पूर्ण रूपमा स्वचालित बनाउने उल्लेख गरे । ‘जब विश्वसनीय स्रोतबाट, डिजिटल सिग्नेचरसहित रियल-टाइम डेटा उपलब्ध हुन्छ, तब अडिट र जोखिम मूल्यांकन पनि तत्कालै गर्न सकिन्छ,’ उनले भने, ‘यसले गर्दा बैंकहरूलाई कुनै पनि व्यवसायको वास्तविक अवस्था बुझ्न वर्ष दिन कुर्नुपर्ने बाध्यता अन्त्य भइसकेको छ ।’
चार्टर्ड एकाउन्टेन्ट अरुण राउतले पनि प्रविधिको प्रयोगले लेखा क्षेत्रको ९० प्रतिशत काम घटाइदिएको र अब लेखा कर्मचारीको भूमिका संस्थाहरूलाई निर्णय प्रक्रियामा सहयोग गर्ने भएको बताए । ‘लेखाकर्मीहरू अब डेटा इन्ट्री गर्ने वा अडिट गर्ने कर्मचारी होइनन्, यो काम त सफ्टवेयरले गरिदिन्छ,’ उनले भने, ‘व्यवसायलाई भविष्यको रणनीति सिकाउने विज्ञका रूपमा हाम्रो भूमिका परिणत हुँदै छ ।’ बैंक स्टेटमेन्ट र लेखा प्रणाली सिधै जोडिने भएकाले तथ्यांकमा हेरफेर गर्ने ठाउँ नहुँदा वित्तीय प्रणालीमा प्रविधिले उच्च पारदर्शिता ल्याउने उनले उल्लेख गरे ।
यो नयाँ व्यवस्थाले विशेष गरी साना तथा मझौला उद्योगलाई राहत हुने उनीहरूको तर्क छ । जग्गा वा भौतिक सम्पत्ति नभएका तर राम्रो कारोबार गरिरहेका उद्यमीहरूले आफ्नो डिजिटल ट्र्याक रेकर्ड देखाएर बैंकबाट कर्जा प्राप्त गर्न सक्ने वक्त्ताहरूले औँल्याए ।
