साइबर अपराध बढ्दै, एक वर्षमै ९ हजारभन्दा बढी उजुरी

अनलाइन दुर्व्यवहार, नक्कली पहिचान (इम्पर्सोनेसन), ब्ल्याकमेलिङ तथा व्यक्तिगत तस्बिर र सूचनाको दुरुपयोगजस्ता घटना बढी देखिएका छन् ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Cybercrime on the rise, more than 9,000 complaints in a year

काठमाडौँ — नेपाल प्रहरीको साइबर ब्युरोले चालु आर्थिक वर्षमा ९ हजारभन्दा धेरै साइबर अपराधसम्बन्धी उजुरी दर्ता भएको जनाएको छ । देशभर साइबर अपराधका घटना बढिरहेको ब्युरोको ठहर छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा ब्युरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) गजेन्द्र आचार्यले इन्टरनेट, डिजिटल भुक्तानी, सामाजिक सञ्जाल र अनलाइन सञ्चारको बढ्दो प्रयोगसँगै साइबर जोखिम पनि बढेको बताए । 

डीएसपी आचार्यका अनुसार साइबर अपराधका घटनामा महिलाहरू धेरै पीडित हुने गरेका छन् । साइबर अपराधले आर्थिक क्षति, मानसिक तनाव, प्रतिष्ठामा आँच र डेटा चोरीजस्ता गम्भीर असर पार्ने उनको भनाइ छ । 

कार्यक्रममा फिसिङ, डिपफेक, डक्सिङ, सामाजिक सञ्जाल ह्याकिङ, अनलाइन ठगी र डिजिटल भुक्तानीसम्बन्धी स्क्यामलाई प्रमुख साइबर अपराधका रूपमा उल्लेख गरिएको थियो । यस्ता जोखिमबाट बच्न बलियो पासवर्ड प्रयोग गर्न, दुई तहको प्रमाणीकरण (टु-फ्याक्टर अथेन्टिकेसन) अपनाउन, शंकास्पद लिंक नखोल्न र व्यक्तिगत सूचना सुरक्षित राख्न साइबर ब्युरोले आग्रह गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully