साइबर अपराधका घटना पहिचान गर्न एआई प्रविधि

काठमाडौँमा आयोजित साइबर सुरक्षासम्बन्धी छलफलमा बैंकिङ क्षेत्र, साइबर सुरक्षा र सरकारी निकायका प्रतिनिधिहरूले डिजिटल सुरक्षामा एआई महत्त्वपूर्ण टुल हुने धारणा राखेका छन् । 

माघ ५, २०८२

कान्तिपुर संवाददाता

AI technology to identify cybercrime incidents

काठमाडौँ — पछिल्लो समय साइबर अपराधका घटना बढ्दै जाँदा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिबाट साइबर जोखिम पहिचान, ठगी नियन्त्रण र साइबर आक्रमणको द्रुत प्रतिकार गर्न सकिने विज्ञहरूले औँल्याएका छन् ।

सुलभ तिमिल्सिनाले सहजीकरण गरेको छलफलमा बैंकिङ क्षेत्रको अनुभव प्रस्तुत गर्दै प्रवेश पौडेलले शंकास्पद कारोबार पहिचान गर्न, डिजिटल बैंकिङ प्लाटफर्म सुरक्षित राख्न र अनलाइन ठगी नियन्त्रण गर्न एआई प्रविधिले सहयोग गरिरहेको अनुभव सुनाए । उनका अनुसार परम्परागत प्रणालीभन्दा एआईले ठूलो मात्रामा डेटा विश्लेषण गरेर जोखिम छिटो पत्ता लगाउन सक्ने भएकाले बैंकिङ सुरक्षामा यसको प्रयोग बढ्दो क्रममा छ । 

साइबर सुरक्षा कम्पनी ‘सेक्युरिटी पल’का समीर गौतमले चाहिँ साइबर सुरक्षा मजबुत बनाउन एआई प्रभावकारी भए पनि यसलाई साइबर अपराधीहरूले दुरुपयोग गरिरहेको औँल्याए । फिसिङ, सोसल इन्जिनियरिङ, आइडेन्टिटी थेफ्ट, डिपफेकमार्फत ठगीजस्ता अपराध बढ्दै गएको उनको भनाइ थियो । यसलाई न्यूनीकरण गर्न परम्परागत सुरक्षा उपाय मात्र पर्याप्त नहुने भन्दै उनले उन्नत प्रविधि र सुरक्षा रणनीति आवश्यक पर्ने उल्लेख गरे । 

राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक राजकुमार महर्जनले एआईको सुरक्षित र जिम्मेवार प्रयोगका लागि नीतिगत व्यवस्था र नियमनको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले डेटा संरक्षण नीतिको आवश्यकता औँल्याउँदै संकलित डेटा जुन प्रयोजनका लागि लिइएको हो, त्यही प्रयोजनका लागि मात्र प्रयोग हुनुपर्ने स्पष्ट पारे । साइबर अपराध न्यूनीकरणका लागि डिजिटल साक्षरता सबैभन्दा प्रभावकारी उपाय भएको उनको भनाइ थियो ।

कान्तिपुर

Link copied successfully