नेपालको भविष्य एआईमा कति सक्षम भन्नेमा निर्भर रहन्छ : प्राध्यापक पोखरेल

केही वर्षअघि नै एक्सिलेन्स सेन्टरहरू बनाउन सरकारलाई सुझाव दिएको समेत उनले बताए ।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

Nepal's future depends on how competent it is in AI: Professor Pokharel

काठमाडौँ — एआईमा हामी कति सक्षम हुन्छौं भन्ने कुराले नेपालको सूचना प्रविधि क्षेत्र फराकिलो बन्ने काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन प्राध्यापक मनिष पोखरेलले बताएका छन् ।

विश्वविद्यालयको एआई क्लबले हालै आयोजना गरेको एआई कन्क्लेभमा पोखरेलले देशको प्रगतिका लागि एआई प्रविधिमा अब्बल हुनुपर्ने औँल्याए ।

केही वर्षअघि नेपालमा ‘एआई सेन्टर अफ एक्सिलेन्स’ बनाउन आफूहरूले शिक्षा मन्त्रालय, सूचना प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लगायत निकायलाई सुझाव दिए पनि त्यो बेला खासै राम्रो प्रतिक्रिया नपाएको उनले स्मरण गरे ।

‘हाम्रो देशको भविष्य हामी एआईमा कति सक्षम हुन्छौँ भन्ने कुरामा निर्भर रहनेछ भन्ने निष्कर्षसहित हामीले केही वर्षअघि नै एक्सिलेन्स सेन्टरहरू बनाउन सरकारलाई सुझाव दिएका थियौँ,’ उनले भने, ‘सबैले आइडिया राम्रो छ भनेर प्रशंसा मात्रै गर्थे, काम गर्दैन थिए ।’ 

त्यसपछि विश्वविद्यालय आफैँले एआई र डीपीआई केन्द्र स्थापना गरेको उनले जानकारी दिए । ‘म सम्झन्छु, यो एउटा यस्तो विमान उडाउनु जस्तै थियो जसको कन्डिसन हामीलाई थाहा थिएन,’ उनले भने, ‘रनवे उपयुक्त थिएन, विमान कसरी उड्छ भन्ने पनि थाहा थिएन तर हामीलाई हाम्रा सबै क्रु मेम्बरको दक्षतामा भने विश्वास थियो ।’ त्यही विश्वासले ‘एआई विमान’ उडाउने निर्णय गरेको उनको भनाइ थियो । 

तीनदिने एआई कन्क्लेभ आयोजना गरेका विद्यार्थीलाई हेर्दै प्रा.पोखरेलले सो विमान आज सुरक्षित पाइलटको हातमा पुगेको देख्दा सन्तुष्टि महसुस भएको अभिव्यक्ति दिए । विद्यार्थीहरूले आयोजना गरेको बृहत् कार्यक्रमले आफूलाई निकै खुसी तुल्याएको उनको भनाइ थियो । उनका अनुसार अब एआईको गन्तव्य विद्यार्थीहरूले नै तय गर्नेछन् । 

कान्तिपुर संवाददाता

Link copied successfully