साइबर सुरक्षा अनुसन्धान प्रवर्द्धनसँगै डिजिटल वित्तीय पूर्वाधार मजबुत बनाउन र प्राविधिक जनशक्तीको सिप विकासको उदेश्यसहित नेपाल इन्जिनियरिङ कलेजको कम्प्युटर इन्जिनियरिङ स्टुडेन्ट्स सोसाइटीले ‘एनसीएचएल पेन टेस्टिङ च्यालेन्ज’ आयोजना गर्ने भएको छ ।
What you should know
काठमाडौँ — जनवरी १७ देखि १९ सम्म भक्तपुरको चाँगुनारायणस्थित कलेज परिसरमा सञ्चालन हुने प्रतियोगितामा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को प्रणालीमा भएका कमजोरीहरू खोजेर त्यसलाई सुधार्न मद्दत गर्नुपर्नेछ ।कलेजमा ‘साइबर सुरक्षा सिम्पोजियम २०२६’ र ‘टेकस्प्रिन्ट ह्याकाथन’ पनि हुनेछ ।
कार्यक्रममा निरन्तर ४८ घण्टा बग बाउन्टी तथा सिस्टम पेनिट्रेसन टेस्टिङ हुने आयोजकले जनाएका छन् । यसले नेपालको महत्वपूर्ण वित्तीय पूर्वाधारको सुरक्षा सुदृढ गर्न र साइबर सुरक्षामा रुचि राख्नेहरूलाई प्रणालीमा रहेका सुरक्षा कमजोरी (बग) पत्ता लगाएर रिपोर्ट गर्ने अवसर प्रदान गर्ने विज्ञप्तिमा भनिएको छ ।
पेन टेस्टिङ च्यालेन्जमा भाग लिन चाहनेले १५ जनवरीभित्र ५ सय रुपैयाँ दर्ता शुल्क बुझाएर नाम दर्ता गर्नुपर्नेछ । उत्कृष्ट प्रदर्शन गर्नेलाई २० हजार रुपैयाँ बराबरको पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा भाग लिनुअघि सहभागीहरूलाई जनवरी १६ मा एथिकल ह्याकिङका आधारभूत सिद्धान्त, कमजोरी पत्ता लगाउने प्रविधि र रिपोर्टिङ विधिबारे तालिम दिइने कम्प्युटर इन्निनियरिङ स्टुन्डेन्ट्स सोसाइटीले जनाएको छ ।
जनवरी १७ मा भने लगातार ४८ घण्टासम्म बग बाउन्टी च्यालेन्ज आयोजना हुनेछ । त्यसमा सहभागीहरूले एनसीएचएलका तोकिएका सिस्टमहरूमा कमजोरी (बग)हरू खोज्नु पर्नेछ । एनसीएचएलले नेपालको ‘कनेक्ट आईपीएस’, नेसनल पेमेन्ट स्विचजस्ता महत्वपूर्ण वित्तीय सेवाहरू सञ्चालन गर्दै आएको छ ।
यसैगरी, जनवरी १६देखि १९ बीच नै नेपाल इन्जिनियरिश्र कलेजमा ‘साइबर सुरक्षा सिम्पोजियम २०२६’ र ‘टेकस्प्रिन्ट ह्याकाथन’ पनि हुनेछ । त्यसमा साइबर सुरक्षाका क्षेत्रमा रहेका वर्तमान चुनौती र भविष्यका सुरक्षा रणनीतिबारे बृहत छलफल र विशेषज्ञहरूको अन्तरक्रियालाई विशेष जोड दिइने आयोजकले जनाएका छन् ।
