टिकटक बन्दै सर्च इन्जिन टुल

नेपाली प्रयोगकर्ताहरूले नयाँ आइडिया खोज्न, सीप सिक्न, प्रेरणा लिन र आफ्नो भाषा, संस्कृति एवं दैनिक जीवनसँग सम्बन्धित सामग्रीहरू फेला पार्न टिकटकको ‘सर्च’ फिचर व्यापक रूपमा प्रयोग गरिरहेको कम्पनीले जनाएको छ ।

पुस २६, २०८२

कान्तिपुर संवाददाता

TikTok is becoming a search engine tool

What you should know

काठमाडौँ — मनोरञ्जनका लागि मात्र नभएर, टिकटक प्रभावशाली ‘भिडियो-फर्स्ट’ सर्च इन्जिनका रूपमा पनि स्थापित भइरहेको विज्ञप्तीमा उल्लेख छ । परीक्षाको तयारीदेखि यात्राको योजना बनाउन, ताजा समाचार बुझ्न वा नयाँ सीप सिक्न पनि प्रयोगकर्ताहरूले टिकटक भिडियोबाटै जानकारी खोज्ने प्रवृत्ती बढेको कम्पनीले जनाएको छ ।

पछिल्लो एक वर्षमा नेपालमा शिक्षा, खाना, यात्रा, सौन्दर्य र जीवनशैलीजस्ता विषयका साथै ‘हाउ टु’ भिडियोहरूको खोजी उल्लेख्य वृद्धि भएको कम्पनीले जानकारी दिएको छ । टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन प्रमुख उमैस नवीदका अनुसार नेपालका प्रयोगकर्ताहरूले कुनै पनि कुराले कसरी काम गर्छ भनेर बुझ्न वा वास्तविक मानिसहरूबाट प्रेरणा लिन टिकटक सर्चलाई एउटा स्वाभाविक प्रस्थान बिन्दुको रूपमा प्रयोग गरिरहेका छन् । यसैगरी नेपालको टिकटक समुदायमा ह्यासट्याग लर्न अन टिकटक, ह्यास ट्राभल टक, ह्यास फुड टकसँग सम्बन्धित खोजीहरू पनि तीव्र गतिमा बढिरहेको विज्ञप्तीमा भनिएको छ । 

खोजको दायरा बढ्दै जाँदा टिकटकले प्रयोगकर्ताको सुरक्षाका लागि 'सर्च इन्टरभेन्सन' जस्ता सुविधा मजबुत बनाएको उल्लेख गरेको छ । यसअन्तर्गत यौन दुर्व्यवहारसम्बन्धी खोज गर्दा देखिने ‘सर्च गाइड’ समावेश रहेको र यसले प्रयोगकर्तालाई इन-एप ब्यानरमार्फत स्थानीय हेल्पलाइन तथा टिकटक ‘सेफ्टी सेन्टर’ भित्रको ‘सेक्सुअल एब्युज सपोर्ट’ पेजतर्फ निर्देशित गर्ने जानकारी दिइएको छ । 

साथै, बाढी तथा प्राकृतिक प्रकोपसँग सम्बन्धित विषयमा पनि टिकटकले इन्टरभेन्सनहरू लागू गरेको छ । मनसुनको समयमा प्रयोगकर्ताले समयमै आधिकारिक सूचनाहरू पाउन् भनेर विपद्सम्बन्धी सर्च इन्टरभेन्सनहरू सक्रिय गरिएको टिकटकले जनाएको छ । 

'टिकटकको सर्च फिचर सेफ्टी बाई डिजाइन अवधारणामा आधारित छ,' टिकटक दक्षिण एसियाकी क्षेत्रीय ट्रस्ट एन्ड सेफ्टी लिड आस्मा अन्जुमले भनिन्, 'सर्च इन्टरभेन्सनहरूले सहायता माग्दा वा संवेदनशील विषय खोज्दा प्रयोगकर्तालाई वेल-विइङ, तथ्यपरक र सामाजिक जिम्मेवारीमा आधारित मार्गदर्शन प्रदान गर्छ ।'

कान्तिपुर संवाददाता

Link copied successfully