तामाङ भाषालाई फागुनसम्ममा गुगल अनुवादमा लैजाने तयारी 

तामाङ अनुवाद टोलीका संयोजक अमृत योञ्जन तामाङले आउँदो फागुनसम्ममा गुगल अनुवाद प्रणालीमा लैजाने प्रयास भइरहेको जानकारी दिएका हुन् ।

पुस २४, २०८२

कान्तिपुर संवाददाता

Preparations to bring Tamang language to Google Translate by Falgun

What you should know

काठमाडौँ — तामाङ भाषालाई यही फागुनसम्ममा गुगल अनुवादमा लैजाने तयारी गरिएको छ ।

तामाङ अनुवाद टोलीका संयोजक अमृत योञ्जन तामाङले आउँदो फागुनसम्ममा गुगल अनुवाद प्रणालीमा लैजाने प्रयास भइरहेको जानकारी दिएका हुन् । यसका लागि एक लाख वाक्य लक्षित गरिएकोमा काठमाडौं विश्वविद्यालयको प्राविधिक टोलीले तयार गरेको वेबसाइट tmt.ilprl.ku.edu.np मा ५० हजार तामाङ शब्दहरुले प्रवेश पाइसकेको योञ्जनले बताए । 

काठमाडौंको बौद्धस्थित तामाङ अध्ययन प्रतिष्ठानमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरी संयोजक योञ्जनले भने, 'आउँदो फागुनसम्ममा तामाङ भाषालाई गुगल अनुवाद सेवामा प्रवेशको लागि पहल गरिने छ ।' 

उक्त प्रणाली जनवरी महिनाभर समुदाय तहमा प्रतिक्रिया र सुझाव लिन खुला गरिएको छ । सही अनुवादका लागि चारवटा अनुवाद मोडलहरू रहेको र यसमा सम्पादन गरी सुझाव दिनसमेत सकिने अनुवाद टोलीका सदस्य इन्द्र तामाङले बताए । 'तामाङ अनुवाद उपयुक्त नलागेमा आ-आफ्ना प्रतिक्रिया र सुझावको लागि व्यवस्था गरिएको छ,' तामाङले भने । 

समुदाय तहको प्रतिक्रियापछि एउटा मोडललाई प्रशिक्षित गराइने र थप सुधारका लागि तामाङ भाषी केही गाउँपालिकाहरूमा पुगेर थप प्रतिक्रिया लिइने तयारी रहेको अनुवाद टोलीले जनायो।  

Preparations to bring Tamang language to Google Translate by Falgun

गुगल रिसर्चका लागि 'गुगल त्रैभाषिक मिसिन अनुवाद परियोजना'को प्रारम्भिक उद्घाटन पुस ११ गते गरिएको थियो । तामाङ-नेपाली-अंग्रेजी भाषाहरू बिचको अन्तर-अनुवादको लागि यो परियोजना सक्रिय छ । प्राविधिक पक्षका लागि सूचना तथा भाषा प्रक्रिया, कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभाग, काठमाडौं विश्वविद्यालयका प्रा.डा. बालकृष्ण बल र तामाङ अनुवाद पक्षका लागि तामाङ राष्ट्रिय पुस्तकालय (तारापु) का अध्यक्ष योञ्जनबीच सहकार्यको लागि २०८२ साउन ४ गतेमा हस्ताक्षर भएपछि अनुवाद थालिएको थियो ।

त्रैभाषिक मिसन अनुवाद मोडल तयारीमा काठमाडौं विश्वविद्यालयका प्रा.डा. बल, डा. प्रकाश पौड्याल, रूपकराज घिमिरे र विपेशराज सुबेदी, डुबलिन सिटी विश्वविद्यालयका प्रविन आचार्य र त्रिभुवन विश्वविद्यालयका प्रा.डा. बलराम प्रसाईं छन् भने अनुवाद टोलीमा संयोजक योञ्जनसँगै, इन्द्र तामाङ र अनुवादकहरू पेमाछिरिङ तामाङ, बुद्ध योञ्जन लामा, उदय थिङ, यकिना अगाध र बिनुका लामा छन् । 

नेपालका १४ लाखभन्दा बढीले बोल्ने तामाङ भाषा गुगल अनुवाद सेवामा प्रवेश पाएमा तामाङ भाषा विश्व भाषा मञ्चमा उपलब्ध हुनेछ । हालसम्म नेपाली भाषाका अतिरिक्त दुइटा मातृभाषा मैथिली (सन् २०२२) र नेवाभाषा (सन् २०२४) ले मात्र गुगलमा प्रवेश पाएका छन् । तामाङ भाषा गुगलमा प्रवेशसँगै विश्वका जुनसुकै स्थानमा बसोबास गरिरहेका प्रयोक्तालाई (१) तामाङ-नेपाली (२) नेपाली-तामाङ (३) तामाङ-अंग्रेजी (४) अंग्रेजी-तामाङ अन्तरअनुवाद सम्भव हुने जनाइएको छ । 

दैनिकी र पर्यटनका साथसाथै शिक्षा, सञ्चार र सरकारी कामकाजमा गुगल अनुवादले सहयोग पुऱ्याउने र भविष्यमा अनुवाद सेवाका साथै सर्च, भ्वाइस सर्च, युट्युब सब-टाइटल आदिमा पनि यसको सेवा विस्तार हुन सक्ने संयोजन टोलीको भनाइ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully