अत्यधिक स्क्रिनको असरबाट ८ वर्ष पुग्दासम्म निर्णय लिने क्षमता ढिलो हुने तथा १३ वर्ष पुग्दासम्म चिन्ता र तनावसम्बन्धी लक्षण बढ्ने देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।
What you should know
काठमाडौँ — बालबालिकाको डिजिटल मिडिया प्रयोगबारे विश्वभर चलिरहेको बहसमा सिंगापुरका अनुसन्धानकर्ताले गरेको अध्ययनले नयाँ वैज्ञानिक आधार थपेको छ ।
सिंगापुरमा लामो समय गरिएको यस अध्ययनमा २ वर्ष देखि १० वर्षको उमेरका १ सय ६८ जना बालबालिकाहरूको दिमागी विकास र अन्य पक्षहरू पछ्याइएको थियो । विभिन्न चरणमा उनीहरूको दिमागको स्क्यानसमेत गरिएको थियो । प्रारम्भिक दुई वर्षमा धेरै स्क्रिन हेर्ने बालबालिकामा आफूले देखेको कुरा बुझ्ने र त्यसमा प्रतिक्रिया दिनेसँगै स्नायु सञ्जालसँग जोडिएका विषयमा परिवर्तन देखिएको अनुसन्धानमा उल्लेख छ ।
अत्यधिक स्क्रिनको असरबाट ८ वर्ष पुग्दासम्म निर्णय लिने क्षमता ढिलो हुने तथा १३ वर्ष पुग्दासम्म चिन्ता र तनावसम्बन्धी लक्षण बढ्ने देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
सिंगापुरको एजन्सी फर साइन्स, टेक्नोलोजी एन्ड रिसर्च र नेसनल युनिभर्सिटी अफ सिंगापुरका प्रमुख वैज्ञानिकहरूका अनुसार शिशु अवस्था दिमाग विकासका लागि अत्यन्त संवेदनशील समय हो । यही चरणमा अत्यधिक डिजिटल एक्स्पोजरले सन्तुलित दिमागी विकासको सट्टा केही स्नायु मार्गहरू समयभन्दा अगाडि नै सक्रिय गरिदिन सक्छ । स्क्रिनबाट आउने तीव्र दृश्य र ध्वनि उत्तेजनाले केही स्नायु छिट्टै विकसित भए पनि उच्च तहको सोच, आत्मनियन्त्रण र निर्णय क्षमतासँग सम्बन्धित कार्यहरू अपेक्षाकृत कमजोर रहन सक्ने उनीहरूको निष्कर्ष छ ।
यो अध्ययनको नतिजा अन्य अन्तर्राष्ट्रिय अनुसन्धानसँग पनि मेल खान्छ । ‘जामा पेडियाट्रिक्स’मा प्रकाशित चीनका बालबालिकामाथिको अध्ययनले सानै उमेरदेखि लामो समय स्क्रिन प्रयोग गर्ने बालबालिकामा बौद्धिक क्षमता (आईक्यू) कम हुने र भावनात्मक तनाव बढी देखिने निष्कर्ष निकालेको थियो । त्यस्तै, विभिन्न शोध अध्ययनहरूले बाल्यकाल र किशोरावस्थामा अत्यधिक स्क्रिन टाइम बिताउँदा चिन्ता र डिप्रेसनजस्ता आन्तरिक मानसिक समस्याको जोखिम बढ्ने संकेत गरेका छन् ।
यद्यपि कारण र परिणामको सम्बन्धबारे अझै थप अध्ययन आवश्यक रहेको विज्ञहरू बताउँछन् । सार्वजनिक स्वास्थ्यसम्बन्धी पछिल्ला सुझावहरूले सानै उमेरका बालबालिकाको स्क्रिन समय सीमित गर्न सिफारिस गर्दै आएका छन् । भाषा, सामाजिक सीप र कार्यक्षमता तीव्र रूपमा विकास हुने यही चरणमा स्क्रिनको अत्यधिक प्रयोगले दीर्घकालीन असर पार्न सक्ने चेतावनीलाई पछिल्लो अध्ययनले वैज्ञानिक प्रमाणसहित पुनः पुष्टि गरेको छ ।
अनुसन्धानले अभिभावकहरूका लागि व्यवहारिक सुझाव पनि दिएको छ । तीन वर्षको उमेरपछि अभिभावक र बालबालिकाबीच सँगै किताब पढ्ने, कुरा गर्ने र खेल्ने जस्ता गतिविधिले शिशुकालको स्क्रिन प्रयोगबाट देखिने केही नकारात्मक असर कम गर्न सक्ने देखिएको छ ।
विज्ञहरूका अनुसार प्रत्यक्ष अन्तरक्रिया, मानव सम्पर्क र गुणस्तरीय समय नै स्वस्थ दिमाग विकासका आधार हुन् । स्क्रिन प्रयोग तीव्र रूपमा बढिरहेको अवस्थामा, बालबालिकालाई कहिले र कसरी डिजिटल उपकरण प्रयोग गर्न दिने भन्ने विषयमा अभिभावक, शिक्षक र नीति निर्माताबीच गम्भीर छलफल आवश्यक भएको यो अध्ययनले औंल्याएको छ ।
