एआईले बदल्यो इन्टरनेटमा प्रश्न सोध्ने शैली

विश्वका करिब ८ अर्ब इन्टरनेट प्रयोगकर्ताले सर्च इन्जिन र च्याटबटमा छोटा प्रश्नको सट्टा लामा र विस्तृत प्रश्न राख्न थालेका छन्, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढेपछि जिज्ञासा राख्ने शैली फेरिएको छ भने ७० प्रतिशतभन्दा धेरैले भ्वाइस सर्च गरेको देखिन्छ

पुस ६, २०८२

सजना बराल

AI has changed the way we ask questions on the internet.

What you should know

काठमाडौँ — २०२५ मा इन्टरनेटमा सबैभन्दा बढी के खोजियो होला ? सर्च इन्जिनमध्ये चर्चित गुगल र विभिन्न एआई च्याटबटहरूले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार साबिकझैं राजनीतिक घटनाक्रम, युद्ध, जलवायु परिवर्तन, पप–कल्चर र जीवनशैलीका विषयवस्तुबारे नै यस वर्ष धेरै खोजी भयो ।

तर, फरक के रह्यो भने, यसपालि खोजी गर्ने विषयवस्तुभन्दा खोजी गर्ने शैलीमा परिवर्तन देखिएको छ । गत वर्षको तुलनामा यसपालि ‘यसबारे थप जानकारी चाहियो’ शैलीका प्रश्न झन्डै ७० प्रतिशत र ‘म यो कसरी गर्न सक्छु ?’ व्यहोराका प्रश्न २५ प्रतिशतले बढेको गुगलको प्रतिवेदनमा उल्लेख छ । 

विश्वका करिब ८ अर्ब इन्टरनेट प्रयोगकर्ताले सर्च इन्जिन र च्याटबटमा पहिलेझैं छोटा प्रश्नको सट्टा लामा र विस्तृत प्रश्न राख्न थालेका छन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढेपछि मानिसहरूको जिज्ञासा राख्ने शैली फेरिएको गुगल ट्रेन्ड्सका डेटा सम्पादक साइमन रोजर्सले उल्लेख गरेका छन् ।

AI has changed the way we ask questions on the internet.प्रविधि र कामकाजका विभिन्न विषयसँगै अत्यन्तै व्यक्तिगत मनोसामाजिक विषय, चिकित्सा जानकारी, स्वास्थ्य तथा दैनिक जीवनका अन्य विषयबारे इन्टरनेटमा ज्यादा खोजी भएको छ । रोचकचाहिँ, सामाजिक सञ्जालमा पोस्ट गरिने आफ्ना विचारसमेत एआईमा आधारित सर्च इन्जिनमा खोज्ने क्रम बढेको प्रतिवेदनले देखाएका छन् । कतिपयले २०२५ लाई ‘टेल मी अबाउट’ वर्षका रूपमा सम्झिनुपर्ने भन्दै ठट्यौली गरिरहेका छन् किनभने इन्टरनेट प्रयोगकर्ताले ‘टेली मि अबाउट’ भन्दै हरेक विषय च्याटबटमा खोजेका थिए । 

‘मानिसहरू छोटा उत्तर खोजिरहेका छैनन्, आफू वरिपरिको दुनियाँबारे बुझ्न चाहिरहेका छन्,’ गुगल ट्रेन्ड्सका डेटा सम्पादक रोजर्सले ब्लगमा लेखेका छन्, ‘एआई सुविधाका कारण मानिसहरूले गुगलमा बोलीचालीको शैलीमा, साथीसँग बोलेझैं गरी प्रश्नहरू सोधिरहेका छन् ।’

यही नयाँ शैलीको इन्टरनेट प्रयोगमा मानिसहरूलाई पारंगत बनाउन वर्ष २०२५ ले उल्लेख्य भूमिका खेलेको विश्लेषण भइरहेको छ । इन्टरनेट सर्चमा देखिएको फेरबदलसँगै गुगल, एज, फायरफक्सलगायत सर्च इन्जिनहरूले यस वर्ष ‘एआई एसिस्टेन्ट टुल’ मा पनि राम्रो लगानी गरे । 

गुगलमा भारतीय विषयवस्तुको वर्चस्व

गुगलमा सबैभन्दा धेरै गुगलकै एआई एसिस्टेन्ट टुल, जेमिनाईबारे खोजी भएको थियो । दोस्रोमा इन्डिया भर्सेस इंग्ल्यान्ड, चार्ली कर्क, क्लब वर्ल्ड कप, इन्डिया भर्सेस अस्ट्रेलिया, डिपसिक, एसिया कप, इरान, आइफोन १७ र पाकिस्तान एन्ड इन्डियाबारे सबैभन्दा धेरै सर्च गरिएको 

थियो । गुगल ट्रेन्डिङको ‘खोजी’, ‘समाचार’, ‘मानिस’, ‘दिंवगत व्यक्ति’ विधामा कुनै न कुनै भारतीय विषयवस्तु समावेश छन् । यसको अर्थ, वर्ष २०२५ मा गुगलमा भारतीय कन्टेन्ट प्रशस्त खोजिएका थिए । 

गुगल ट्रेन्डिङको ‘समाचार’ विधामा चार्ली कर्कको हत्या, इरान, अमेरिकी सरकार सटडाउन, नयाँ पोपको निर्वाचन, लस एन्जलसको आगजनी, मेलिसा आँधी, टिकटक प्रतिबन्ध, जोहरन मम्दानी निर्वाचित, यूएसएड र कमचट्का भूकम्प तथा सुनामीबारे सबैभन्दा धेरै खोजी भएको थियो । यस्तै, गुगल ट्रेन्डको ‘मानिस’ विधामा अमेरिकी गायक डेभिडबारे सबैभन्दा धेरै सर्च गरिएको थियो । र्‍यापर केन्ड्रिक लमार, कमेडियन जिम्मी किम्मेल, चार्ली कर्कको हत्या आरोपी टाइलर रोबिन्सन, पोप लियो १४ औं, भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशी, अस्ट्रेलियन फेसन डिजाइनर बियान्का सेन्सुरी र जलवायु अभियन्ता ग्रेटा थुनबर्गबारे उल्लेख्य खोजी गरिएको थियो । 

दिवंगत व्यक्तिहरूमा अमेरिकी राजनीतिक अभियन्ता चार्ली कर्कबारे धेरै सर्च गरिएको पाइयो । सेप्टेम्बर १० मा युटा भ्याली विश्वविद्यालयको मञ्चमा बोलिरहेका बेला कर्कको गोली हानी हत्या गरिएको थियो । अभियुक्तका रूपमा २२ वर्षे टाइलर रोबिन्सनलाई पक्राउ गरिएको छ । चार्ली कर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक तथा रिपब्लिकन पार्टीका सहयोगी तथा एक प्रमुख दक्षिणपन्थी कार्यकर्ता थिए । कर्कबारे बनाइएको ‘पडकास्ट सो’ पनि धेरै सर्च गरिएको सामग्रीमध्ये पर्छ ।

त्यस्तै, प्रख्यात बेलायती गायक ओजी अस्बर्न, रेस्लिङ खेलाडी हल्क होगन, अमेरिकी अभिनेत्रीद्वय मिसेल ट्राच्टेनबर्ग र डायना किटन, पोप फ्रान्सिस र बलिउड अभिनेता धर्मेन्द्रबारे गुगलमा निकै खोजी गरिएको थियो । ‘खाना र पेय पदार्थ’ विधामा हट हनी, म्यारी मी चिकेन, चिमिचुर्री, सिया पुडिङ, ह्वाइट चिकेन चिल्ली बनाउने तरिका धेरैले जान्न चाहेका थिए ।

‘गेम्स’ मा आर्क रेडर्स, ब्याटलफिल्ड सिक्स, स्ट्रयान्ड्स, स्पिल्ट फिक्स, क्लेयर अब्स्योर : एक्स्पेडिसन ३३ बारे गुगलमा धेरै खोजी भएको थियो । गुगल म्याप्समा भने टोकियोको इकेबुकुरो स्टेसन, ओसाकाको सिन–ओसाका स्टेसन, ओसाका स्टेसन, मियागीको सेन्डाई स्टेसन र हिरोसिमा स्टेसनबारे धेरै खोजी भएको थियो । 

वर्ष ‘टेल मी अबाउट...’ 

वर्ष २०२५ मा ‘टेल मी अबाउट...’ र ‘हाउ डु आई...’ व्यहोराका जिज्ञासा उल्लेख्य रूपमा बढेको अध्ययनले देखाएका छन् । यसपालि इन्टरनेट सर्चका लागि क्रोम, एज, सफारीजस्ता ब्राउजरमा निर्भर नरही प्रयोगकर्ताले एप र डिभाइस पनि उपयोग गरे । इन्टरनेट सर्चमा आएको परिवर्तनपछि माइक्रोसफ्टले एज ब्राउजरलाई ‘एआई ब्राउजर’ भन्न थाल्यो । एजमा रहेको ‘को–पाइलट मोड’ ले प्रयोगकर्ताले खोलेका सबै ट्याब पढ्ने र प्रयोगकर्ताले के खोज्दै छन् भन्नेबारे बुझेर त्यसका आधारमा इन्टरनेट सर्च गर्ने सुविधा ल्याएको छ । योसँगै इन्टरनेट सर्च अब स्वचालित बनेको छ । अर्थात् प्रयोगकर्ताले सोध्नुअघि नै जवाफ र सूचनाहरू उपलब्ध हुन्छन् । 

सिरी, एलेक्सा, गुगल एसिस्टेन्टजस्ता ‘भ्वाइस एसिस्टेन्ट टुल’ हरू पनि यस वर्ष इन्टरनेट सर्चका आधारभूत शैलीका रूपमा स्थापित भएको टेकक्रन्चको समाचारमा उल्लेख छ । विश्वव्यापी रूपमा ७० प्रतिशतभन्दा धेरैले भ्वाइस सर्च गर्ने र यसले प्रश्नको ढाँचा परिवर्तन गरी ‘को’, ‘कहिले’, ‘कहाँ’, ‘कसरी’ जस्ता शब्दसहितको पूर्ण वाक्यका प्रश्न गरिन थालेको विश्लेषकहरूले औंल्याएका छन् ।

चुनाव, नेतृत्व परिवर्तन, राजनीतिक द्वन्द्वसँगै मतदान अधिकार, आर्थिक नीति र सुरक्षाका विषयमा प्रयोगकर्ताहरूले ‘के भएको ?’ मात्र नभई ‘मेरा लागि यसले के अर्थ राख्छ ?’ शैलीका जिज्ञासा राख्ने गरेको एपी र एक्सियोसमा प्रकाशित सेली चेङ, हुमेरा लोधी, माया स्विडलर र नोआ ब्रेस्नरका समाचारमा विश्लेषण गरिएको छ ।

समसामयिक विषयवस्तुसँगै निजी जीवनका आवश्यकताबारे पनि प्रयोगकर्ताहरूले इन्टरनेटमा सूचना खोज्ने गरेको पाइयो । 

घर खर्च व्यवस्थापन, सहायक रोजगारी, खाद्यन्नको मूल्य र मानसिक स्वास्थ्यबारे ‘हाउ डु आई...’ व्यहोराका प्रश्नको संख्या औसतमा उल्लेख्य बढेको प्रतिवेदनले औंल्याएका छन् । अमेजन अलेक्साले रिलिज गरेको ‘सन् २०२५ मा सर्वाधिक सोधिएका प्रश्न’ को सूचीमा ‘अन्डा पोच बनाउन कति बेर लाग्छ ?’, ‘पृथ्वीको चौडाइ कत्रो छ ?’, ‘कसरी चाँडै निदाउने ?’, ‘बिटक्वाइनको मूल्य कति हो’, ‘एआई भनेको के हो ?’, ‘डोनाल्ड ट्रम्पको उमेर कति हो ?’ जस्ता प्रश्न धेरै सोधिएको देखिन्छ ।

अलेक्सालाई यस वर्ष हलिउड स्टार टम क्रुजबारे धेरै सोधिएको थियो । त्यसपछि बेलायती खेलाडी पिटर क्राउचबारे पनि प्रशस्त प्रश्न गरिएको थियो । बेलायती प्रयोगकर्ताले क्रिस्टियानो रोनाल्डो, टेलर स्विफ्ट र इलन मस्कबारे एलेक्सलाई सोधेका थिए । ‘मानिसहरूले मस्क, युट्युबर मिस्टर बिस्ट र टेलर स्विफ्टको कुल सम्पत्तिबारे धेरै जिज्ञासा राखेका थिए,’ सीएनएन बिजनेसमा पत्रकार लियान कोलिरिनले लेखेकी छन्, ‘इड सिरिनले कोसँग विवाह गरेका छन् र रब स्टेवार्टकी पत्नी को हुन् भन्नेबारे पनि धेरै सोधिएको पाइयो ।’

अलेक्सालाई सबैभन्दा धेरै टेलरकै गीत बजाउन प्रयोगकर्ताले अह्राएका थिए । ब्रुनो मार्स र रोजले गाएको ‘आपचे’ गीत सवार्धिक बजाइएको थियो । नेटफ्लिक्सको ‘के–पप डिमन हन्टर्स’ का गीत पनि सर्वाधिक बजाइएका गीतमा परे । गुगल र अमेजन अलेक्साका रिपोर्टमा देशअनुरूप कहाँ के धेरै सर्च भयो भन्नेबारे उल्लेख गरिए पनि नेपाल त्यसमा समावेश छैन । भारतमा भने अलेक्सामा के–पप कलाकार बीटीएस, जेनी र ब्ल्याक पिंकबारे धेरै सूचना खोजिएको थियो । साथै, विराट कोहलीको कुल सम्पत्ति, अविवाहित सलमान खानकी ‘पत्नी’ बारे पनि धेरै सोधिएको थियो ।

२०२५ मा इन्टरनेटमा सर्वाधिक के खोजियो ?

गुगल एआई एसिस्टेन्ट टुल जेमिनाई, इन्डिया भर्सेस इंग्ल्यान्ड, चार्ली कर्क, क्लब वर्ल्ड कप, इन्डिया भर्सेस अस्ट्रेलिया, डिपसिक, एसिया कप, इरान, आइफोन १७, पाकिस्तान एन्ड इन्डिया

चार्ली कर्कको हत्या, इरान, अमेरिकी सरकार सटडाउन, नयाँ पोपको निर्वाचन, लस एन्जलसको आगजनी, मेलिसा आँधी, टिकटक प्रतिबन्ध, जोहरन मम्दानी निर्वाचित, यूएसएड, कमचट्का भूकम्प तथा सुनामी

अमेरिकी गायक डेभिड, र्‍यापर केन्ड्रिक लमार, कमेडियन जिम्मी किम्मेल, चार्ली कर्कको हत्या आरोपी टाइलर रोबिन्सन, पोप लियो १४ औं, भारतीय क्रिकेटर वैभव सूर्यवंशी, अस्ट्रेलियन फेसन डिजाइनर बियान्का सेन्सुरी, जलवायु अभियन्ता ग्रेटा थुनबर्ग

अमेरिकी राजनीतिक अभियन्ता चार्ली कर्क, बेलायती गायक ओजी अस्बर्न, रेस्लिङ खेलाडी हल्क होगन, अमेरिकी अभिनेत्रीद्वय मिसेल ट्राच्टेनबर्ग र डायना किटन, पोप फ्रान्सिस, बलिउड अभिनेता धर्मेन्द्र

हट हनी, म्यारी मी चिकेन, चिमिचुर्री, सिया पुडिङ, ह्वाइट चिकेन चिल्ली बनाउने तरिका

आर्क रेडर्स, ब्याटलफिल्ड सिक्स, स्ट्र्यान्ड्स, स्पिल्ट फिक्स, क्लेयर अब्स्योर : एक्स्पेडिसन ३३

– एजेन्सीको सहयोगमा 

सजना बराल बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully