नेपालमा गतिलो फोरजी छैन, फाइभजी त परको कुरा : एनसेल सीईओ फोले

अपरेटरहरूले खास फोरजी सेवासमेत प्रदान गर्न नसकिरहेको बेला नेपालमा फाइभजीको कुरा टाढाको विषय भएको उनले उल्लेख गरे ।

मंसिर २२, २०८२

कान्तिपुर संवाददाता

There is no fast 4G in Nepal, let alone 5G: Ncell CEO Foley

What you should know

काठमाडौँ — दूरसञ्चार सेवा मानव अधिकारका रूपमा स्थापित भएको उल्लेख गर्दै नेपालमा भने यस्तो सेवा विश्वव्यापी मापदण्डअनुरुप नभएको एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले बताएका छन् ।

अपरेटरहरूले खास फोरजी सेवासमेत प्रदान गर्न नसकिरहेको बेला नेपालमा फाइभजीको कुरा टाढाको विषय भएको उनले उल्लेख गरे ।

सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नख्खुस्थित एनसेल कार्यालय पुगेका बेला सीईओ फोलेले नेपालको वर्तमान दूरसञ्चार सेवा अन्तर्राष्ट्रिय मानकभन्दा तल रहेको बताएका हुन् । नेपालमा ९४ प्रतिशत प्रयोगकर्ताले फोर जी ह्यान्डसेट लिइसकेको भए पनि सेवा प्रदायकका रूपमा आफूहरूले फाइभजी त परै जाओस्, वास्तविक फोरजी सेवासमेत दिन नसकेको उनले स्वीकार गरेका हुन् ।

सीईओ फोलेले नेपालको अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन, युवाहरूलाई अवसर प्रदान गर्न र व्यवसायहरूलाई यहाँ ल्याउन उन्नत दूरसञ्चार पूर्वाधार आवश्यक रहेको बताए । यस्ता पूर्वाधार ठूला सहरहरूमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि आवश्यक रहेको उनको भनाइ थियो । यसका लागि दूरसञ्चार क्षेत्रमा निरन्तर र ठूलो लगानी आवश्यक पर्ने औँल्याउँदै उनले सेवा प्रदायकलाई नेपालमा ‘भविष्य छ’ भन्ने सुनिश्चितता चाहिएको स्पष्ट पारे ।

कार्यक्रममा मन्त्री खरेललाई स्वागत गर्दै एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत फोलेले जेन–जी आन्दोलनका क्रममा कम्पनीले भोगेको क्षतिबारे जानकारी दिएका थिए । भदौ २४ गतेको जेन–जी प्रदर्शनमा एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालयमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । त्यसयता कम्पनीले नख्खुस्थित कार्यालयबाट सेवा सञ्चालन गरिरहेको छ। 

स्थलगत अवलोकनपछि मन्त्री खरेलले आफू एनसेलले भोगेको क्षतिको विवरण बुझ्न आएको बताए । साथै, एनसेलले जेन–जी लक्षित नयाँ ‘प्याक’ ल्याउन तयारी गरिरहेको थाहा पाएर खुसी लागेको उल्लेख गरे । 

कान्तिपुर

Link copied successfully