एनसेलले पायो नयाँ मोबाइल नम्बर रेञ्ज '९७१'

एनसेलले ९७१ बाट सुरु हुने नयाँ रेञ्जका मोबाइल नम्बर उपलब्ध गराउन थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई यो रेञ्जको नम्बर वितरण गर्न अनुमति प्रदान गरेको थियो ।

मंसिर २२, २०८२

कान्तिपुर संवाददाता

Ncell gets new mobile number range '971'

काठमाडौँ — यो नयाँ नम्बर रेञ्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ वितरण योजना (नेसनल नम्बरिङ अलोकेसन प्लान)को नियमअनुरुप जारी भएको हो । प्राधिकरणले यसअघि एनसेललाई जारी गरेको नम्बर रेञ्ज ९८०, ९८१, ९८२, ९७० अपुग भएकोले नयाँ नम्बर रेञ्ज प्रदान गरेको हो ।

'बजारको अवस्थालाई ध्यानमा राखी नयाँ नम्बर रेञ्जको अनुमति प्रदान गरेकोमा हामी प्राधिकरणप्रति आभारी छौँ,' एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भनेका छन्, 'आवश्यक तयारीपश्चात नयाँ नम्बर रेञ्जका नम्बरहरू वितरण थालिएको छ । साधारण सञ्चार सेवा बाहेक डिजिटल कारोबार र विभिन्न सेवा मोबाइलमार्फत नै लिने क्रम बढिरहेको हालको अवस्थामा नयाँ नम्बरले उपभोक्ताका साथै सेवा प्रदायकलाई लाभ प्रदान गर्नेछ ।' 

दूरसञ्चार सेवाहरू बाहेक विविध सेवा/सुविधासँग सम्बन्धित वान टाइम पासवर्ड (ओटीपी) प्राप्त गर्न, मोबाइल एप तथा वेबमा आधारित सेवाहरूमा साइन अप गर्न र विभिन्न डिजिटल कारोबार गर्न मोबाइल नम्बर आवश्यक हुन्छ । 

कान्तिपुर

Link copied successfully