मस्तिष्क विकासका पाँच चरण, कुन चरणमा कसरी गुज्रन्छ ?

३२ वर्षको आसपास मानिसको मस्तिस्कमा सबैभन्दा शक्तिशाली रुपान्तरण हुन्छ ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

What are the five stages of brain development, and how does it go through each stage?

What you should know

एजेन्सी — वैज्ञानिकहरुले मानव मस्तिष्क विकासको पाँच चरणको पहिचान गरेका छन् । हाम्रो शिशुकालदेखि बुढेशकालसम्मको न्युरल वायरिङ परिवर्तनबारे यो अहिलेसम्मकै सबैभन्दा बिस्तृत अध्ययन रहेको बेलायती सञ्चारमाध्यम द गार्डियनमा प्रकाशित समाचारमा उल्लेख छ । 

नेचर डटकममा प्रकाशित यस अध्ययनका क्रममा एक वर्षदेखि ९० वर्षसम्मका झन्डै ४ हजार मानिसको मस्तिष्क स्क्यान गरिएको थियो । अध्ययनले पाँचवटा बृहद चरणको खुलासा गरेको छ । त्यसलाई चारवटा प्रमुख टर्निङ पोइन्टका रुपमा विभाजन गरिएको छ । जहाँ मस्तिष्क फरक अवस्थामा प्रवेश गर्छ । 

९, ३२ वर्ष, ६६ वर्ष र ८३ वर्षमा मस्तिष्कको अवस्था रुपान्तरण हुने यसले देखाएको छ । जसअनुसार जन्मदेखि ९ वर्षको उमेरसम्मको अवस्थालाई शिशु अवस्थादेखि बाल्यवस्था मानिएको छ । ९ देखि ३२ वर्षसम्मको अवस्थालाई दोस्रो अवधि  मानिएको छ । 

यसपछि मात्रै मानिसको मस्तिष्कको न्युरल वायरिङ वयस्क मोडमा जान्छ । जो सबैभन्दा लामो अर्थात् ३२ देखि ६६ वर्षसम्म रहन्छ । ६६ वर्षको उमेरमा मात्रै मानिसको मस्तिष्कमा बुुढ्यौली सुरु हुन्छ । र, ८३ वर्षको उमेरमा गएर यो बुढो हुन थाल्छ । वैज्ञानिकहरुले १२ वटा विधिमार्फत यसबारे अध्ययन गरेका थिए । 

शिशु अवस्थादेखि बाल्यअवस्थासम्मको अवधिमा हाम्रो मस्तिष्क ‘नेटवर्क कन्सोलिडेशन’ प्रक्रियाबाट गुज्रन्छ । शिशुहरुको मस्तिष्कमा धेरै साइनाप्स (न्युरोनहरुबीचका कनेक्सन ) हुन्छन्, तर धेरै प्रयोग भएका साइनाप्समात्रै बाँच्छन् । यस अवधिमा मस्तिष्कको वायरिङ केही हदसम्म कम प्रभावकारी हुन्छ ।  यस समय मस्तिष्कको ग्रे र ह्वाइट म्याटर निकै चाडों बढ्छन् । जसले मस्तिष्कको बाहिरी तहलाई पातलो बनाउँछ र सतहका फोल्डहरुलाई स्थिर राख्छ । 

दोस्रो चरणमा  ह्वाइट म्याटर बढ्दै जान्छ । जसले मस्तिष्कका सञ्चार नेटवर्कलाई थप व्यवस्थित बनाउँछ । यस समय मस्तिष्कको सम्पर्क थप प्रभावकारी हुन्छ र यसले सोचाई र सिकाईमा सुधार ल्याउँछ । 

‘हामीले यो भनेका होइनौं कि २० वर्षको अन्त्यतिर पुगेका मानिसहरु पनि किशोरझैं व्यवहार गर्छन् वा उनीहरु मस्तिष्क किशोरजस्तै हुन्छ,’ अध्ययनको नेतृत्व गरेकी एलेक्सा माउस्लेले भनिन्, ‘यो वास्तवमा प्याट्रनको परिवर्तन हो ।’

उनले यस अध्ययनले मानसिक स्वास्थ्य समस्यासँग जोडिएका जोखिमलाई कम गर्नका लागि सहयोग गर्ने बताइन् । यस्तो समस्या प्रायः दोस्रो चरणमा देखिने गर्छ । 

३२ वर्षको आसपास मानिसको मस्तिस्कमा सबैभन्दा शक्तिशाली रुपान्तरण हुन्छ । अभिभाकत्वले पनि यस्तो परिवर्तन गराउँछ । यद्यपी, यसबारे बिस्तृत अध्यनन हुनै बाँकी छ । ‘हामीलाई थाहा छ बच्चा जन्माएपछि आमाको मस्तिष्क परिवर्तन हुन थाल्छ,’ माउस्लेले भनिन्, ‘यी कोशेढुंगाहरुबीच सम्बन्ध हुनसक्छ र त्यसले मस्तिष्कमा प्रभाव पार्छ भनेर अनुमान लगाउन सकिन्छ ।’

३२ वर्षपछि पहिलेका दुई चरणको दाँजोमा मस्तिष्कको विकास स्थिर रहने अध्ययनले देखाएको छ । यस समय बौद्धिकता र व्यक्तित्व पनि विकास हुँदै जाने अन्य अध्ययनहरुले संकेत गरेका छन् । त्यस्तै मस्तिष्कका विभिन्न हिस्सा थप अलग र विशिष्टिकृत हुँदै जानेछन् ।

६६ वर्षपछि मस्तिष्कको कनेक्टिभिटी घट्न थाल्नेछ । ८३ वर्षपछि थप घट्नेछ । बुढ्यौंली र मस्ष्तिकमा रहेको ह्वाइट म्याटर कम हुँदै जाँदा यस्तो अवस्था आउनसक्ने बताइएको छ । 

कान्तिपुर

Link copied successfully