३आई/एट्लास : अलग साैर्य मण्डलबाट आएको तेस्रो धुमकेतु, नासाले सार्वजनिक गर्‍यो नयाँ तस्बिर

यसअघि सन् २०१७ मा ओमुवामुवा र सन् २०१९ मा २आई/बोरिसोभलाई वैज्ञानिकहरुले रेकर्ड गरेका थिए ।

मंसिर ५, २०८२

कान्तिपुर संवाददाता

3I/ATLAS: NASA releases new image of third comet from outside the solar system

What you should know

एजेन्सी — अमेरिकी अन्तरिक्ष अध्ययन एजेन्सी (नासा) ले भर्खरै मात्र हाम्रो सौर्य मण्डलमा यात्रा गरिरहेको धुमकेतुका नयाँ तस्विर सार्वजनिक गरेको छ ।

यसलाई ‘३आई/एट्लास’ नाम दिइएको छ । केही समयपछि फेरि अर्को सौर्य मण्डलमा जानेछ र कहिल्यै आउने छैन ।

अंग्रेजीमा यसलाई ‘कोमेट’ भनिन्छ । नासाका अनुसार  चिसिएर बनेको ग्याँसको ढिक्का, चट्टान र धुलो मिलेर धुमकेतु बन्छ । ‘‘३आई/एट्लास’ को गति र दिशा हेर्दा यो सूर्यको गुरुत्वाकर्षणमा बाँधिएजस्तो देखिदैंन ।

अर्थात्, यो धुमकेतु अर्को कुनै सौर्य मण्डलमा उत्पन्न भएको थियो र घुम्दै–घुम्दै हाम्रो सौर्य मण्डल भए ठाउँ आइपुग्यो । यसको यात्राले अनुसन्धानकर्ताहरुलाई हाम्रो सौर्य मण्डलबाहिरको विषय अध्ययन गर्ने मौका दिएको छ ।

‘यसले धुमकेतुजस्तै व्यवहार गर्छ । सबै प्रमाणहरुले यसलाई धुमकेतु नै भएको देखाएका छन्, ’ नासाका एशोसियट प्रशासक अमित क्षत्रीयले यसको नयाँ तस्विरहरु सार्वजनिक गर्दै भनेका छन् , ‘तर यो हाम्रो सौर्य प्रणाली बाहिरबाट आएको छ । त्यहीकारण यो अनौठो र वैज्ञानिक रुपमा निकै महत्वपूर्ण छ ।  हो ।’

गत महिना मंगलग्रहमा तथा त्यसनजिक रहेका युरोपियन स्पेस एजेन्सी (इएसए) का दुई स्याटेलाइट र नासाका धेरै अन्तरिक्ष यानहरुले जुम गरेर यसको तस्विर लिएका थिए ।

त्यसबेला यो धुमकेतु मंगलग्रहभन्दा २९ मिलियन किलोमिटरमात्रै पर थियो ।  वैज्ञानिकहरुले अन्तरिक्षमा यसको गति ६१ किलोमिटर प्रतिसेकेन्डभन्दा छिटो रहेको  बताएका थिए । र, सूर्यको नजिक पुग्दा यसको गति थप बढेको देखिन्छ ।

बिहान घाम उदाउनुभन्दा केही मिनेटमात्रै अघि (उषा) कालमा यसलाई आकाशमा देख्न सकिने पनि वैज्ञानिकहरुले बताएका छन् । तर, यसका लागि बाइनोकुलर्स वा टेलिस्कोपको सहारा लिनुपर्छ ।

मध्य डिसेम्बरमा यो धुमकेतु पृथ्वीको सबैभन्दा नजिक २६९ मिलियन किलोमिटर वर आउने वैज्ञानिकहरुले बताएका छन् ।

अहिलेसम्म यसको आकारबारे स्पष्ट भइसकेको छैन ।नासाले यो धुमकेतुको आकार ४ सय ४० मिटरदेखि ५.६ किलोमिटर डायमिटरसम्म हुनसक्ने अनुमान लगाएको छ । 

‘हामी यसबारे अझै स्पष्ट हुनेछौं,’ नासाका वैज्ञानिक थोमस स्टेटलरले भने ।

केही समयअघि मात्रै सामाजिक सञ्जाल एक्समार्फत नासाले यस धुमकेतुले पृथ्वीमा कुनै चुनौती खडा नगर्ने जनाएको छ । नासाका वैज्ञानिकहरुले यो धुमकेतु हाम्रो सौर्य प्रणालीभन्दा पनि पुरानो सौर्य प्रणालीबाट आएको हुनसक्ने अनुमान लगाएका छन् ।

‘यो केवल अर्को सौर्य मण्डलको झल्को मात्रै होइन  गहिरो विगत बुझ्ने माध्यम पनि हो । यसले हाम्रो पृथ्वी र सूर्यको निर्माणभन्दा पनि पहिलेको समयको झल्को दिन्छ ।’

हाम्रो सौर्य मण्डलमा अन्यत्रबाट आएर यात्रा गरेका धुमकेतुमध्ये तीनवटालाई मात्रै वैज्ञानिकहरुले पहिचान गर्न सकेका छन् । यसअघि सन् २०१७ मा ओमुवामुवा र सन् २०१९ मा  २आई/बोरिसोभलाई वैज्ञानिकहरुले रेकर्ड गरेका थिए । 

कान्तिपुर

Link copied successfully