एप्पलका फोन र ग्याजेट मन पराउनेका लागि कम्पनीले एउटा नयाँ उत्पादन सार्वजनिक गरेको छ- फोन राख्न मिल्ने थैली ।
What you should know
काठमाडौँ — थैलीको शुल्क कति नै पर्ला र भन्ने सोच्नुभएको छ भने, तपाईं आश्चर्यमा पर्न सक्नुहुन्छ । थ्रीडी शैलीमा तयार गरिएको 'एप्पल पकेट' भनिने यो थैलीको बजार मूल्य २ सय ३० अमेरिकी डलर अर्थात झन्डै ३२ हजार रूपैयाँभन्दा बढी राखिएको छ ।
चर्चित जापानी डिजाइनर इज्जे मियाकीसँगको सहकार्यमा डिजाइन गरिएको थैली भोलि शुक्रबारदेखि बजारमा उपलब्ध गराउने कम्पनीको योजना छ। मियाकीको ‘एक टुक्रो कपडा’ सिद्धान्तअनुसार यसलाई विशेष रूपमा तयार गरिएको उल्लेख छ।
थैलीमा आइफोनसँगै एअरपड, लिपबाम र साँचो अटाउने एप्पलले जनाएको छ। साथै, मियाकीको बहुचर्चित फ्यासन शैलीमा यो थैली तयार गरिएको एप्पलको दाबी छ। ‘झुल्कक्क हेर्दा तिमीले यो चिज के हो भन्ने नबुझ्न पनि सक्त छौ,’ मियाकीले भनेका छन्, ‘आफ्नै शैलीमा आइफोन लिएर वा भिरेर हिँड्ने अनुभव दिलाउन यो थैली बनाइएको हो।’
कतिपयले भने ठिकठाकको स्मार्टफोन नै किन्न सकिने मूल्यमा एउटा थैली बेच्न खोजेको भन्दै एप्पलको आलोचना गरेका छन्। प्रविधिसम्बन्धी युट्युबर मार्केस ब्राउनलीले ‘यो पछिल्लो उत्पादनमार्फत एप्पलका प्रयोगकर्ताहरू कम्पनीले जे बेचे पनि किन्छन् भन्ने बुझाइको परख हुने’ प्रतिक्रिया दिएका छन्।
यो थैली दुई वटा डिजाइनमा उपलब्ध छ। एउटा, हातमा लिएर हिँड्न मिल्ने डिजाइनमा छ, जसको मूल्य १ सय ५० अमेरिकी डलर अर्थात् झन्डै २१ हजार रुपैयाँ पर्छ। दोस्रो, भिर्न मिल्ने डिजाइनको थैलीलाई भने झन्डै २ सय ३० अमेरिकी डलर वा ३२ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।
प्रविधि विषयमा रुचि राख्नेहरूले ‘विश्वकै महँगो मोजा’ भनेर यसलाई व्यङ्ग्य गरिरहेका छन्। एप्पलका उत्पादन नछुटाई किन्नेहरूलाई भने यसले कत्तिको आकर्षित गर्ला त?
