वर्ल्डलिंकले सार्वजनिक गर्‍यो वाइफाई-सिक्स राउटर

इन्टरनेट सेवा प्रदायक, वल्डलिंक कम्युनिकेसन्सले ‘वल्डलिंक सिक्स जी’ नामक नयाँ पुस्ताको वाईफाई प्रविधि सार्वजनिक गरेको छ ।

कार्तिक २४, २०८२

कान्तिपुर संवाददाता

Worldlink launches WiFi-Six router

What you should know

काठमाडौँ — भविष्यको इन्टरनेटको रूपमा प्रस्तुत गरिएको वल्डलिंक सिक्स जी वाईफाईले विद्यमान फाइजभी राउटरभन्दा ४० प्रतिशत बढी कभरेज र चार गुणासम्म उच्च थ्रुपुट (डेटा क्षमता) प्रदान गर्ने कम्पनीले जनाएको छ । 

वर्ल्डलिंकका अध्यक्ष एवं प्रबन्ध निर्देशक दिलीप अग्रवालले सिक्स जी राउटरको क्षमता, स्पिड र लेटेन्सीबारे जानकारी दिँदै अन्य देशको तुलनामा आफूहरूले सुपथ मूल्यमा यस्तो राउटर उपलब्ध गराएको दाबी गरे । उनले सन् १९९५ मा आफू विद्यार्थी छँदा अमेरिकाबाट एउटा कम्प्युटर र मोडम बोकेर नेपाल आई इमेल सेवा स्थापना गरेको अनुभव पनि सुनाए । सन् १९९७ मा ३३.६ केबीपीएस स्पिडको डायल-अप इन्टरनेट सेवा शुरु भएको स्मरण गर्दै उनले फाइबर टु द होम (एफटीटीएच) सेवाको नयाँ पुस्तामा नेपालले फड्को मारेको बताए ।

नयाँ वाइफाई सिक्स राउटरले घरमा रहेका धेरै डिभाइसहरूको लोड सजिलै व्यवस्थापन गर्ने, फोर के स्ट्रिमिङमा बफरिङ नहुने, अनलाइन गेमिङको लेटेन्सी कम हुने तथा जुम कलहरूमा अवरोध नहुने वर्ल्डलिंकले जनाएको छ । प्राविधिक साझेदारका रूपमा वर्ल्डलिंकसँग जोडिएको नोकियाले नेपालको फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तारमा आफूहरूले थप सहकार्य गर्ने कार्यक्रममा जनाएको छ ।

नोकियाका प्रतिनिधिहरूले वर्ल्डलिंकसँगको साझेदारीबारे आइतबार आयोजित कार्यक्रममा प्रकाश पारेका थिए । नोकियाका मार्केट डिभलप्मेन्ट डिरेक्टर नेमानिया पिलिपोभिकले नेपालको डिजिटल प्रगतिबारे बोल्दै यसले सेवा प्रवाह र नेपालको अर्थतन्त्र सुधारमा सहयोग पुर्‍याएको विचार राखे । ‘नेपालमा अहिले जे भइरहेको छ, यसले नेपाललाई डिजिटल जगतमा एक कदम अगाडि पुर्‍याउनेछ,’ उनले भने, ‘नेपालले अरूलाई पछ्याउने मात्र होइन, कतितपयलाई विस्तारै उछिन्न पनि सक्छ ।’ 

कार्यक्रममा नोकियाका प्रतिनिधि तथा भारत तथा सार्क क्षेत्रका लागि हेड अफ सेल्स विशाल हेम्नेले वर्ल्डलिंक र नोकियाको साझेदारीले नेपालमा उच्च स्तरीय इन्टरनेट सेवा विस्तार गर्ने लक्ष्य राखेको बताए । त्यस्तै, वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले वाईफाई सिक्स राउटरको मूल्य निर्धारण गर्दा जतिसक्दो सस्तोमा दिन खोजिएको दाबी गरे । उनले भने, ‘न्यूनतम र दिगो मुनाफासहित जति सक्दो सस्तो मूल्यमा सेवा तथा उत्पादन उपलब्ध गरान हामी जोड दिन्छौँ । फाइबर टु द होम सार्वजनिक गर्दा पनि कम्पनीले सस्तो मूल्य निर्धारण गरी धेरै ग्राहकको पहुँचमा पुर्‍याएको थियो ।’ 

वर्ल्डलिंकको ‘सिक्स जी इन्टरनेट’ प्याकेज दुई प्रकारमा उपलब्ध छन्- इन्टरनेट मात्र र ‘सिने प्लस’ । कम्पनीका अनुसार, सिक्स जी इन्टरनेट प्याकेज अन्तर्गत २००, ४००, ५०० र ६०० एमबीपीएसका विकल्प राखिएका छन् । तीन महिनाको प्याकेजमा २०० एमबीपीएस इन्टरनेटको मूल्य ३,४५० रुपैयाँ, ४०० एमबीपीएसको ३,७५० रुपैयाँ, ५०० एमबीपीएसको ४,२०० रुपैयाँ र ६०० एमबीपीएसको ५,३०० रुपैयाँ तोकिएको छ ।

एक वर्षको प्याकेजमा भने २०० एमबीपीएसको मूल्य १३ हजार रुपैयाँ, ४०० एमबीपीएसको  १४ हजार ५ सया रुपैयाँ, ५०० एमबीपीएसको १६ हजार र ६०० एमबीपीएसको २० हजार रुपैयाँ राखिएको छ । ‘सिने प्लस’ सहितको प्याकेजमा २०० एमबीपीएसको दर ३ महिनाका लागि ४ हजार २ सय र १२ महिनाका लागि  १५ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, ६०० एमबीपीएससम्मका प्याकेजहरू रू ५,८०० (३ महिना) र रू. २२,००० (१२ महिना) का लागि उपलब्ध छन् ।

‘सिक्स जी’ र ‘वाईफाई-सिक्स’ के हो ?

वर्ल्डलिंकका अनुसार, सिक्स जी इन्टरनेट ‘वाईफाई-सिक्स’ प्रविधिमा आधारित छ । यस्तो इन्टरनेट आधुनिक घरका स्मार्ट टीभी, ल्यापटप, मोबाइल, क्यामेरा र अन्य आईओटी डिभाइसहरूका लागि उपयुक्त हुन्छ । यस प्रविधिले धेरै उपकरणहरू एउटै समयमा जडान हुँदा पनि स्पिडमा कमी नआउने र सुरक्षाका दृष्टिले भरपर्दा हुने बताइएको छ ।

कान्तिपुर

Link copied successfully