स्विडिस रोयल एकेडेमी अफ साइन्सेसका अनुसार, यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार ‘एक विद्युतीय सर्किटमा देखिएको म्याक्रोस्कोपिक क्वान्टम मेकानिकल टनेलिङ र ऊर्जा क्वान्टाइजेसनको खोजका लागि’ प्रदान गरिएको हो ।
काठमाडौँ — यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार बेलायती, फ्रान्सेली र अमेरिकी वैज्ञानिकहरूलाई गरिएको हो ।
अमेरिकी जोन मार्टिनिस, बेलायती जोन क्लार्क र फ्रान्सेली मिशेल डेभोरेटलाई २०२५ को भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको हो ।
स्विडिस रोयल एकेडेमी अफ साइन्सेसका अनुसार, यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार ‘एक विद्युतीय सर्किटमा देखिएको म्याक्रोस्कोपिक क्वान्टम मेकानिकल टनेलिङ र ऊर्जा क्वान्टाइजेसनको खोजका लागि’ प्रदान गरिएको हो ।
उनीहरुले ११ मिलियन स्विडिस क्रोना (करिब १ करोड ६५ लाख रुपैयाँ), स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । यो पुरस्कार डिसेम्बर १० तारिखमा स्टकहोममा प्रदान गरिनेछ।
जोन क्लार्क सन् १९४२ मा बेलायतको क्याम्ब्रिजमा जन्मेका थिए । उनले सन् १९६८ मा क्याम्ब्रिज विश्वविद्यालय, बेलायतबाट पीएचडी गरेका हुन् । उनी क्यालिफोर्निया विश्वविद्यालय, बर्कले, संयुक्त राज्य अमेरिकामा प्रोफेसर छन् ।
त्यस्तै, मिशेल डेभोरेट,सन् १९५३ मा फ्रान्सको पेरिसमा जन्मेका थिए । उनले सन् १९८२ मा पेरिस-सुड विश्वविद्यालय, फ्रान्सबाट पीएचडी गरेका हुन् । उनी येल विश्वविद्यालय, न्यू हेभन, सीटी र क्यालिफोर्निया विश्वविद्यालय, सान्ता बारबरा, संयुक्त राज्य अमेरिकामा प्रोफेसर छन् ।
अमेरिकी वैज्ञानिक जोन मार्टिनिस, सन् १९५८ मा जन्मेका थिए । उनले सन् १९८७ मा क्यालिफोर्निया विश्वविद्यालय, बर्कले, संयुक्त राज्य अमेरिकाबाट पीएचडी गरेका हुन् । उनी क्यालिफोर्निया विश्वविद्यालय, सान्ता बारबरा, संयुक्त राज्य अमेरिकामा प्रोफेसर छन् ।
