इन्टरनेट सेवा प्रदायकहरूले भीपीएनको उच्च प्रयोगका कारण अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत बढेर आज रातिसम्म इन्टरनेट प्रयोग गर्न लायक नहुने चेतावनी दिएका छन् ।
What you should know
काठमाडौँ — अहिलेकैजस्तो स्थिति रहे, आज रातिसम्म इन्टरनेट चलाउनै नमिल्ने गरी स्लो हुने इन्टरनेट सेवा प्रदायकहरूले जनाएका छन् । भीपीएनको उच्च प्रयोगले अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत बढेर इन्टरनेट कन्जेसनको अवस्था आउने चेतावनी दिएका हुन् ।
सेवा प्रदायकहरूको छाता संगठन, आईस्पान र सुबिसु केबल नेटका अध्यक्ष सुधीर पराजुलीले इन्टरनेटको स्थिति अहिलेजस्तै कायम रहेमा, बेलुकादेखि प्रयोग गर्न नसकिने (युजेबल नहुने) बताएका हुन् ।’ इन्टरनेटमा अत्यधिक ट्राफिक कन्जेसन बढेकाले इन्टरनेट स्लो भई सर्भर टाइमआउटको समस्या आउनेछ,’ उनले भने, ‘त्यसपछि समग्री इन्टरनेटको गुणस्तर खस्किएर युजेबल नै नहुने हुन्छ ।’
पराजुलीले सोमबारदेखि अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत र ट्राफिक ह्वात्तै बढेको जानकारी दिए । दिनभर जेन-जी आन्दोलनमा प्रतिबन्धित सामाजिक सञ्जालमा पहुँच बनाउन भीपीएन प्रयोग बढेको उनको अनुभव छ । पराजुलीले 'युजेबल' नहुनुको अर्थ इन्टरनेट सामग्री 'लोड' गर्न नसक्नु हो भन्ने स्पष्ट पारे । ‘ट्राफिक यति धेरै भएर इन्टरनेट यति 'स्लो' हुन्छ कि 'डिमान्ड' गरिएको आईपीमा जानकारी पुग्न सक्दैन,’ उनले थप प्रष्ट्याए, ‘त्यसले गर्दा सर्भरमा टाइम आउट भइरहन्छ । र, कुनै पनि इन्टरनेटको कन्टेन्ट लोड हुँदैन ।’
सामाजिक सञ्जालको प्रतिबन्ध खुकुलो पार्ने गरी कुनै सेवा प्रदायकहरूले कुनै परिवर्तन नगरेको र ब्लकहरु खुकुलो नपारिएको पराजुलीले बताए । ‘हिजो हाम्रो पात्रोसम्बन्धी ब्लक हटाउन भनिएएको भए पनि अन्य कुनै निर्देशन आएको छैन,’ उनले भने ।
सोमबार दिउँसो फेसबुक, ह्वाट्सएप, इस्टाग्रामजस्ता एप स्मुथ तरिकाले चल्न थालेपछि सेवा प्रदायकले जेन-जीलाई सञ्चारमा सहज होस् भनेर आईपी ब्लक नगरेको चर्चा चलेको थियो ।
