मन्त्रालयका प्रवक्ता ठाकुरले एक्सले नेपालमा दर्ताका लागि इमेल पठाएको र मन्त्रालयले आवश्यक जानकारी दिएको पुष्टि गरे।
काठमाडौँ — सूचीकृत नभएका सामाजिक सञ्जाल प्लाटफर्महरू बन्द गर्ने सरकारी निर्णयपछि एक्स (पहिलेको ट्विटर)ले नेपालमा दर्ता हुन चाहेको भन्दै इमेल पठाएको छ । एक्सले शुक्रबार मन्त्रालयलाई आधिकारिक इमेल लेखेर सूचीकरण प्रकियाबारे सोधेको छ ।
मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले नेपालमा सूचीकृत हुने विषयमा एक्सले इमेल पठाएको पुष्टि गरे । ‘एक्सको सिंगापुरस्थित कार्यालयबाट एलिजा मार्कोले मन्त्रालयलाई इमेल पठाउनु भएको छ,’ उनले भने, ‘नेपालमा दर्ता हुन आवश्यक कागजातबारे सोधिएको छ । मन्त्रालयले त्यसको जवाफ पठाइसकेको छ ।’
मन्त्रालयले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेपछि एक्सले यो कदम चालेको हो । हालसम्म एक्सले नेपालमा दर्ताको लागि कुनै आधिकारिक निवेदन भने दिएको छैन ।
ठाकुरका अनुसार, हाम्रो पात्रो दर्ता प्रक्रियामा गइसकेको छ। मेटा (फेसबुक, इन्स्टाग्रामको मातृ कम्पनी) बाट भने कुनै आधिकारिक पत्र वा निवेदन आएको नआएको उनले स्पष्ट पारे । मन्त्रालयले दर्ता निवेदन नदिने सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउने प्रक्रियालाई निरन्तरता दिइरहेको उनले बताए ।
