भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेमीकन्डक्टर चिपलाई '२१औं शताब्दीको डिजिटल हिरा' भन्दै भारतको प्राविधिक पुनर्जागरणको प्रतीकको रूपमा व्याख्या गरेका छन् ।
What you should know
काठमाडौँ — प्रधानमन्त्री मोदीले स्थानीय स्तरमै निर्मित सेमीकन्डक्टर चिप ‘विक्रम ३२०१’ मंगलबार सार्वजनिक गरेका छन् । नयाँ दिल्लीमा आयोजित 'सेमिकन इन्डिया २०२५' सम्मेलनको उद्घाटन समारोहमा उक्त चिप सार्वजनिक गरिएको हो । यो चिप भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र चण्डीगढस्थित सेमिकन्डक्टर ल्याबोरेटरीले बनाएका हन् ।
३२-बिट माइक्रोप्रोसेसर भएको विक्रम ३२०१ अन्तरिक्ष यात्रामा प्रयोग हुने यानलगायतका कठोर परिस्थितिलाई सहन सक्ने गरी निर्माण गरिएको भारतको दाबी छ । यो चिप १८० एनएम सिमस प्रविधिमा निर्माण गरिएको छ । यसले ठूलो मात्रामा मेमोरी व्यवस्थापन गर्न र जटिल कमान्डहरू कार्यान्वयन गर्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उपग्रह तथा अन्तरिक्ष मिसनका लागि उपयुक्त यस चिपको पहिलो ब्याच यसअघि नै एक अन्तरिक्ष मिशनका क्रममा परीक्षण गरी विश्वसनीयता पुष्टि भइसकेको पनि सो अवसरमा जानकारी दिइएको थियो । साधारणतया उन्नत सेमीकन्डक्टरहरू उच्च लागतमा जटिल प्रविधिबाट निर्माण हुने भएकाले हजारौँ अमेरिकी डलरसम्म पर्ने गरेका छन् । तर विक्रमको मूल्य भने खुलाइएको छैन ।
भारतका सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले प्रधानमन्त्रीलाई चिप हस्तान्तरण गर्दै यसलाई ‘भारतको प्राविधिक पुनर्जागरणको प्रतीक’ भनेका छन् । उनले पाँचवटा नयाँ सेमिकन्डक्टर युनिट निर्माणाधीन रहेको र १६ खर्ब भारतीय रुपैयाँभन्दा बढी लागतका १० ठूला परियोजना ६ वटा राज्यमा स्वीकृत भइसकेको जानकारी दिए । वैष्णवले भने, ‘केही वर्षअघि मात्रै हामीले प्रधानमन्त्रीको दूरदर्शी दृष्टिले नयाँ सुरुवात गरेका थियौँ । आज विश्वले भारतलाई आत्मविश्वास साथ हेर्छ ।’
विक्रम ३२०१ सार्वजनिक हुनुलाई भारतको ‘आत्मनिर्भर भारत’ भिजनतर्फको महत्त्वपूर्ण उपलब्धि मानिएको छ । यसले विश्वव्यापी चिप बजारमा कायम आपूर्ति श्रृंखला अवरोधबीच आयातमा निर्भरता घटाउने लक्ष्य लिएको छ । मोदीले सेमीकन्डक्टरलाई ‘२१औं शताब्दीको डिजिटल हिरा’ भन्दै यसको रणनीतिक महत्वमा जोड दिए । उनले भने, ‘भारतमा डिजाइन भएर निर्माण भएको तर विश्वले नै पत्याउने किसिमको सेमीकन्डक्टर प्रविधि निर्माण हुने दिन अब टाढा छैन । सन् २०२१ यता सेमिकन्डक्टर क्षेत्रसँग सम्बन्धित १० वटा परियोजनामा १८ अर्ब अमेरिकी डलर लगानी भइसकेको छ । चिप उत्पादनका लागि आवश्यक दुर्लभ खनिज सुनिश्चित गर्न क्रिटिकल मिनरल्स मिसन पनि सुरु गर्ने योजना छ ।’
अमेरिका र चीनबीच चर्किएको व्यापार युद्ध र एकअर्कालाई प्रतिबन्ध लगाउन थालेपछि सेमीकन्डक्टर बजारमा एकपछि अर्का समस्या आएका छन् । यसको मूल्य पनि अकासिएको छ । भारतले सन् २०३० सम्म विश्वको दस खर्ब अमेरिकी डलरभन्दा ठूलो सेमिकन्डक्टर बजारमा महत्त्वपूर्ण हिस्सा ओगट्ने महत्वाकांक्षी लक्ष्य तय गरेको छ । हाल भारतको आफ्नै आन्तरिक माग ४५ देखि ५० अर्ब अमेरिकी डलर रहेको छ ।
सम्बन्धित अन्य समाचार
