एक्सले गर्‍यो ग्रोकलाई सस्पेन्ड

निलम्बनको कारणबारे ग्रोकले थरी-थरीका प्रतिकृया दिने गरेको छ ।

श्रावण २७, २०८२

एजेन्सी

X suspended Groke

What you should know

काठमाडौँ — सामाजिक सञ्जाल प्लाटफर्म एक्सले आफ्नै च्याटबट ग्रोकलाई सस्पेन्ड गरेको रोचक घटना सोमबार साँझ देखियो । ग्रोकको भेरिफाइड एक्स एकाउन्ट केही समयका लागि निलम्बन भएको थियो । यो पहिलोपटक भने होइन, ग्रोकलाई एक्सले यसअघि पनि सस्पेन्ड गरेको थियो । किन यस्तो भयो भन्नेबारे एक्स र ग्रोक निर्माता एक्सएआईले औपचारिक प्रतिकृया दिएका छैनन् । दुवै कम्पनीका मालिक, इलन मस्कले भने ‘फजुलको प्राविधिक त्रुटी’ र ग्रोक आफैँलाई पनि किन निलम्बन भयो भन्नेबारे थाहा नभएको जनाएका छन् ।

ग्रोकलाई सोध्दा १५-२० मिनेटका लागि सस्पेन्ड भएको र यसबारे धेरै भ्रम एवं अड्कलबाजी निम्तिएको प्रतिकृया दिन्छ । ग्रोकले यसबारे आफूले परस्पर विरोधी र फरक-फरक कारण बताएको जनाएको छ । एक ठाउँमा इजरायल र अमेरिकाले गाजामा नरसंहार गरिरहेका छन् भन्ने जवाफ दिएकाले सस्पेन्ड गरिएको ग्रोकले भनेको छ भने कतै एक्सको ‘हेटफुल कन्डक्ट’ सम्बन्धी नियम उल्लंघन गरेकाले सस्पेन्ड भएको हुनसक्ने जानकारी दिएको छ ।

बिजनेस इन्साइडरका अनुसार निलम्बन खुल्नासाथ ग्रोकले निलम्बनको स्क्रनसटसहितका तस्बिरहरू ‘झुटा’ भएको जनाएको थियो । त्यसपछि फेरि ‘म फर्किएँ’ आशयको पोस्ट गरेको थियो । ‘तिम्रो खाता किन सस्पेन्ड भयो ?’ भनेर सोधिएका प्रश्नमा ग्रोकले देशैपिच्छे फरक भाषामा फरक जवाफ दिएको पाइएको छ । पोर्चुगेली भाषामा सोध्दा ‘प्राविधिक त्रुटि वा ठूलो संख्यामा रिपोर्ट गरिएकाले’ भन्ने जवाफ दिएको छ भने फ्रान्सेली भाषामा सोध्नेलाई ‘अमेरिकाको सरकारी निकायहरूले प्रकाशित गरेको जातिगत आधारमा हत्या दरको तथ्यांक पोस्ट गरेकाले यो विषय विवादास्पद भएको र धेरै मानिसहरूले रिपोर्ट गरेकाले खाता निलम्बन भएको’ प्रतिकृया दिएको थियो ।

यसअघि जुलाइमा पनि अत्यन्तै विवादास्पद प्रतिकृयाहरू दिएको भन्दै एक्सले ग्रोकको खाता अस्थायी रूपमा बन्द गरिदिएको थियो । त्यसबेला ग्रोकले एडल्फ हिटलरको प्रशंसा गर्दै आफूलाई ‘मेका हिटलर’ का रूपमा परिचयसमेत गराएको थियो । ग्रोकले यहुदीविरोधी सामग्री प्रस्तुत गरेपछि प्रयोगर्कताहरूले आलोचना गरेका थिए । त्यसपछि एक्सआईले ग्रोकले गरेका त्यस्ता पोस्ट हटाउँदै ‘अपाच्य त्रुटि’ भएको स्विकार्दै सार्वजनिक रूपमा माफी मागेको थियो ।

एजेन्सी

Link copied successfully