नास-आईटी बोर्डअन्तर्गत गठन भएको समितिमा निजी क्षेत्र र प्राविधिक समुदायको सहभागिता रहेको छ । यसको उद्देश्य नेपालमा साइबर सुरक्षाको अवस्था सुधार गर्नु हो ।
काठमाडौँ — नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास-आईटी) ले साइबर सुरक्षा समिति गठन गरेको छ । नेपालको डिजिटल क्षेत्रलाई सुरक्षित, सुदृढ र भविष्यका लागि तयार बनाउन सहयोग पुर्याउने उद्देश्यले समिति स्थापना गरिएको विज्ञप्तिमा भनिएको छ ।
समितिमा साइबर सुरक्षा विज्ञ र नास-आईटीकै सदस्य कम्पनीका प्रतिनिधिहरू संलग्न छन् । यसको मुख्य लक्ष्य नेपालमा साइबर सुरक्षाको अवस्था सुधार गर्नु रहेको उल्लेख छ । नास-आईटी बोर्डअन्तर्गत सञ्चालन हुने यो समितिले निजी क्षेत्र र प्राविधिक समुदायभित्र महत्त्वपूर्ण गतिविधिहरूको नेतृत्व गर्ने भनिएको छ ।
साइबर सुरक्षा समितिका मुख्य उद्देश्यहरूमा स्पष्ट र प्रभावी साइबर सुरक्षा नियम र कानुनहरूको विकासलाई समर्थन गर्नुका साथै निजी कम्पनी, सरकारी निकाय र विश्वविद्यालयहरूबीच सामूहिक कार्यमा सुधार गर्ने लगायत रहेका छन् ।
समितिको नेतृत्व भैरव टेक्नोलोजी सेक्युरिटीबाट विजय लिम्बू सेनिहाङले गर्नेछन् । सदस्यहरूमा बिज सर्भ आईटीबाट घनश्याम ओली, एमिनेन्स वेजबाट प्रज्ज्वल गौतम, लगपोइन्टबाट रोशन पोखरेल र जेनेस सोलुसनबाट सम्पन्न श्रेष्ठ रहेका छन् । सल्लाहकारमा नास-आईटी सञ्चालक समितिबाट गोक्यो ल्याब्सका अभय पौडेल, लगपोइन्टका दीपन चापागाईं र इमिनेन्स वेजका नारायण कोइराला संलग्न रहेको जानकारी दिइएको छ ।
