हाम्रो टेलिग्राम च्यानल निरन्तर सञ्चालनमा छ: रुसी दूतावास

श्रावण ८, २०८२

कान्तिपुर संवाददाता

Our Telegram channel is in continuous operation: Russian Embassy

काठमाडौँ — नेपालस्थित रूसी दूतावासले आफ्नो आधिकारिक टेलिग्राम च्यानल सञ्चालनमा रहेको जनाएको छ  । तथापि, नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र टेलिग्राम प्लाटफर्म बन्द गर्ने निर्णय गरेको हुँदा च्यानल एक्सेस गर्न केही समस्या आउन सक्ने दूतावासले जनाएको छ । 

प्राधिकरणले साउन २ मा सूचना निकालेर टेलिग्राम एपमार्फत अनलाइन ठगीको संख्या बढ्दै गएकाले र मनी लन्डरिङजस्ता गम्भीर अपराधमा संलग्नता देखिएकाले उक्त एपमा तत्काल रोक लगाउन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको थियो । त्यसको भोलिपल्ट, साउन ३ मा नै दूतावासले पनि सूचना सार्वजनिक गर्दै आफूहरूको च्यानल निरन्तर सञ्चालनमा रहेको जनाएको हो । 

दूतावासले सूचना आदानप्रदानलाई निरन्तरता दिन वैकल्पिक माध्यम प्रयोग गरिने पनि उल्लेख गरेको छ । ‘स्थिर सञ्चार सुविधा कायम राख्न र जानकारीहरू अद्यावधिक गराउन हामी हाम्रा वेबसाइट तथा भीके, फेसबुक र इन्स्टाग्रामजस्ता अन्य सामाजिक सञ्जाल प्रयोग गरिरहेका छौँ,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।

अनलाइन सुरक्षासम्बन्धी चिन्ता बढ्दै गएको सन्दर्भमा नेपालले केही समयअघि मात्रै अर्को सामाजिक सञ्जाल प्लाटफर्म, टिकटक बन्द गरिदिएको दूतावासको सूचनामा उल्लेख छ ।  

दूतावासले भने आगामी दिनमा टेलिग्राम पहुँचसम्बन्धी कुनै परिवर्तन भए जानकारी गराइने प्रतिबद्धता जनाएको छ । भीके, इन्स्टाग्राम र वेबसाइटमार्फत दूतावासमा सम्पर्क राख्न सकिने जानकारी पनि दिएको छ । रुसमा लोकप्रिय भिकोन्टाक्ते (भीके) एप फेसबुकजस्तै सामाजिक सञ्जाल प्लाटफर्म हो । यसका संस्थापक भने टेलिग्रामकै सीईओ दुरोभ पाभेल हुन् । 

कान्तिपुर संवाददाता

Link copied successfully