चीनमा रोबोटको फुटबल र किकबक्सिङ प्रतियोगिता

असार २४, २०८२

कान्तिपुर संवाददाता

Robot soccer and kickboxing tournaments in China

काठमाडौँ — अघिल्लो महिना मानव-आकृति (ह्युमनोडइ) रोबटबीच किकबक्सिङ प्रतियोगिता आयोजना गरेको चीनले हालै मात्र रोबटलाई फुटबल मैदानमा उतारेको छ ।

सो फुटबल प्रतियोगिताका भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छन् । बेइजिङमा आयोजित एआई रोबोट फुटबल प्रतियोगितामा रोबोटलाई सिधा उभिन र बललाई लात्ताले हान्न निकै कसरत गर्नुपरेको भिडियोमा देखिन्छ । 

सो प्रतियोगितामा कतिपय रोबोट कुद्दा-कुद्दै आफैँ लडेर घाइते भएपछि मैदानबाट बाहिरिनु परेको थियो । कतिपयले त यसलाई ‘नेमार-शैली’ को सम्झना दिलाएको भनेर सामाजिक सञ्जालमा हाँसी-मजाक गरिरहेका छन् । दुईटा रोबोटचाहिँ भुइँमा लडेर उठ्न नसकेपछि स्ट्रेचरमा हालेर बाहिर निकालिएको थियो । आधुनिक खेलकुद प्रतियोगिता अधिक रणनीतिकेन्द्रित हुँदा, ती रोबोटिकजस्तो लाग्ने गुनासो आइरहेका बेला रोबोटको खेल प्रदर्शनले भने कि लियन एमबाप्पेको जागिर सुरक्षित नै रहेको देखाउने द गार्जियनमा पत्रकार दान मिल्मोको ठट्यौलो टिप्पणी छ ।

Robot soccer and kickboxing tournaments in China

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को सहयोगमा स्वाचालित रूपमा सञ्चालित रोबोटलाई तीन-तीन जनाको टोली बनाएर फुटबल खेलाइएको थियो । खेल्ने क्रममा उनीहरू धेरैपटक पुक्लुक्कै लड्ने र धरमराएको देखिएपछि अझै धेरै अभ्यासको खाँचो रहेको प्रतिक्रिया आइरहेका छन् ।

प्रतियोगिताको फाइनलमा सिङ्गुआ विश्वविद्यालयको टीएचयू रोबोटिक्सले चाइना एग्रिकल्चरल युनिभर्सिटीको माउन्टेन सी टोलीलाई ५-३ गोलले हराएर च्याम्पियनसिप जितेको थियो । 

Robot soccer and kickboxing tournaments in China

चीनको ‘बुस्टर रोबोटिक्स’का संस्थापक चेङ हाओले खेलकुद प्रतियोगिता रोबोटको विकासका लागि राम्रो परीक्षण मैदान भएको बताएका छन् । एडिनबर्ग विश्वविद्यालयका प्रोफेसर सुव्रमनियन राममूर्तिले रोबोटमा वार्षिक उल्लेख्य प्रगति भइरहेको प्रतिक्रिया दिएका छन् । 

Robot soccer and kickboxing tournaments in China

यसअघि, २०२५ को मे महिनामा चीनले ह्युमोनोइड रोबोटबीच किकबक्सिङ प्रतियोगिता आयोजना गरेको थियो । त्यसलाई यस प्रकृतिको विश्वकै पहिलो प्रतियोगितासमेत भनिएको थियो । सो प्रतियोगितामा ६ वटा युनिट्री जी१ ईडीयू मोडलका रोबोटले शीर्ष स्थानका लागि प्रतिस्पर्धा गरेका थिए ।

रिमोट कन्ट्रोलबाट सञ्चालित ती रोबोटमध्ये ‘एआई स्ट्र्याटेजिस्ट’ नामक रोबोटले उपाधि जितेको थियो । सहभागी सबै युनिट्री जी १ मोडलका रोबोटलाई सीधा पन्च, हुक, किक र घुँडा प्रहारजस्ता ‘फाइट टेक्निक’ सम्बन्धी प्रशिक्षण दिइएको थियो । भ्वाइस कमान्ड अर्थात आवाजमार्फत, मोसन-सेन्सिङ वा रिमोट कन्ट्रोलद्वारा तिनलाई नियन्त्रण गर्न सकिन्थ्यो । 

कान्तिपुर

Link copied successfully