चीनमा फाइभ जी बेस स्टेसनको संख्या ४५ लाख, प्रयोगकर्ता १.१ अर्ब

असार १४, २०८२

कान्तिपुर संवाददाता

The number of 5G base stations in China is 45 million, and the number of users is 1.1 billion

काठमाडौँ — चिनियाँ मोबाइल अपरेटरहरूले सन् २०२५ को पहिलो पाँच महिनामै २ लाख ३५ हजार फाइभ जी बेस स्टेसन सञ्चालनमा ल्याएका छन् । यससँगै चीनमा मोबाइल डेटाको उन्नत प्रविधि, फाइभ जीका बेस स्टेसनको संख्या करिब ४५ लाख पुगेको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयको तथ्यांकले देखाएको छ ।

चिनियाँ दूरसञ्चार सेवा प्रदायकहरूले सन् २०२४ को अन्त्यसम्ममा ६० लाखभन्दा धेरै एलटीई बेस स्टेसनहरू स्थापना गरेका थिए । हाल फाइभ जीका बेस स्टेसनहरूको संख्या चीनमा कुल बेस स्टेसनको ३५.३ प्रतिशत पुगिसकेको मोबाइल वर्ल्ड लाइभका लागि एसियाका सम्पादक जोसेफ वारिङले जनाएका छन् ।  

ग्राहक संख्याका आधारमा विश्वको सबैभन्दा ठूलो मोबाइल अपरेटर चाइना मोबाइलले यस वर्ष ३ लाख ४० हजारवटा फाइभ जी बेस स्टेसन थप्ने योजना बनाएको छ । यसबाट फाइभ जी बेस स्टेसनको संख्या २८ लाख पुग्नेछ ।

गत मार्चसम्ममा चीनमा फाइभ जीका प्रयोगकर्ताको संख्या करिब १.१ अर्ब पुगेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमास (जनवरी-मार्च) मा गत वर्षको यही अवधिको तुलनामा चाइना मोबाइलका मात्रै ९ करोड ग्राहक थपिएका थिए । योसँगै चाइना मोबाइलका फाइभ जी प्रयोगकर्ताको संख्या ५७ करोड ८० लाख पुगेको छ । 

विश्वव्यापी फाइभ जी बेस स्टेसनको संख्या करिब १ करोड अनुमान गरिएको छ । भारतमा फेब्रुअरीको अन्त्यसम्ममा करिब ४ लाख ७० हजार फाइभ जी बेस स्टेसन सञ्चालनमा रहेको त्यहाँको सञ्चार मन्त्रालयले जनाएको छ । सन् २०२४ को अन्त्यसम्ममा भारतका फाइभ जी ग्राहकहरूको संख्या २९ करोड पुगेको थियो ।

रिलायन्स जियो र भारती एयरटेलले सन् २०२२ को अक्टोबरमा फाइभ जी सेवा सुरु गरेका थिए । चिनियाँ अपरेटरहरूले भने सन् २०१९ मै फाइभ जी सेवाहरू सञ्चालनमा ल्याएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully