काठमाडौँ — चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी, डिपसिकले चीनको सेना र गुप्तचर निकायलाई अमेरिकी प्रविधिसँग प्रयोगकर्ताका डेटा उपलब्ध गराउन गोप्य रूपमा सहयोग गरिरहेको अमेरिकी अधिकारीहरूले आरोप लगाएका छन् । रोयटर्स समाचार एजेन्सीका अनुसार डिपसिकले चीनमाथिको अमेरिकी प्रतिबन्ध छल्न दक्षिणपूर्वी एसियामा 'शेल कम्पनी' खडा गरेर उन्नत सेमिकन्डक्टर चिप चीन भित्र्याउन खोजेको दाबीसमेत गरिएको छ ।
अमेरिकी अधिकारीहरूको यो आरोपले प्रविधि क्षेत्रमा तरंग ल्याएको छ । विशेषगरी, डिपसिकले दक्षिणपूर्वी एसियाली देशहरूका डेटा सेन्टरहरूमार्फत अमेरिकी चिप्स हासिल गर्ने प्रयास गरिरहेको बताइएको छ । कम्पनीले आफ्ना प्रयोगकर्ताहरूको विवरण र तथ्यांकहरू बेइजिङको निगरानी संयन्त्रलाई साझा गर्ने गरेको पनि अमेरिकी अधिकारीहरूको आरोप छ । चीनको कानुनअनुसार त्यहाँ सञ्चालित कम्पनीहरूले सरकारले मागेको बेला डेटा उपलब्ध गराउनुपर्छ ।
अमेजन, माइक्रोसफ्ट र गुगलजस्ता अमेरिकी कम्पनीले आफ्ना ग्राहकहरूलाई डिपसिक चलाउन दिएका छन् । यसको अर्थ, डिपसिकले अमेरिकी प्रयोगकर्ताका विवरण चिनियाँ सरकारलाई उपलब्ध गराएको साँचो भएमा त्यसले गोपनीयता र अन्य चिन्ताहरू बढाउन सक्छ । रोयटर्सका अनुसार केही अमेरिकी सांसदहरूले पनि डिपसिकले आफ्नो गोपनीयता नीतिअनुसार अमेरिकी प्रयोगकर्ताहरूको डेटा चीन पठाउने बताएका थिए । ती डेटा चिनियाँ सरकारी दूरसञ्चार कम्पनी, चाइना मोबाइलको 'ब्याकइन्ड प्रणाली' मार्फत पठाउने गरिएको उनीहरूको दाबी थियो ।
पछिल्लो समय चिनियाँ कम्पनीहरूले एआईको विकासमा गरेको प्रगतिसमेत 'बढाइचढाइ' भएको र ती कम्पनीहरू खासमा अमेरिकी प्रविधिमै निर्भर रहेको हुनसक्ने अनुमान गरिएको छ । गत जनवरीमा सार्वजनिक भएको डिपसिक एप अमेरिकी प्रविधिजत्तिकै शक्तीशाली तर अमेरिकी प्रविधिभन्दा न्यून लागतमा निर्माण गरिएको भनेर व्यापक चर्चा भएको थियो । अमेरिकाले हालसम्म डिपसिकलाई कुनै पनि व्यापार प्रतिबन्धको सूचीमा राखेको छैन ।
डिपसिकले भने चीनको सेना र गुप्तचर निकायलाई ‘सहर्ष सहयोग’ गरिरहेको अमेरिकी अधिकारीहरूको दाबी छ । यो सहयोग डिपसिकको ओपेन-सोर्स एआई मोडलको पहुँचभन्दा बाहिर रहेको उनीहरूले बताएका छन् । डिपसिकसँग अमेरिकी कम्पनी एनभिडियाका उच्च श्रेणीका एच१०० चिप्स ठूलो परिमाणमा रहेको पनि अमेरिकाको दाबी छ । यी चिप्स सन् २०२२ देखि चीनमा निर्यात गर्न प्रतिबन्ध लगाइएको थियो । डिपसिकले दक्षिणपूर्वी एसियामा शेल कम्पनी स्थापना गरेर निर्यात नियन्त्रण छल्न खोजेको उनीहरूको आरोप छ । यद्यपि, एनभिडियाले डिपसिकले वैध रूपमा प्राप्त एच८०० चिप्स प्रयोग गरेको दाबी गरेको छ ।
