भारतमा आइफोन मर्मत गर्ने जिम्मा टाटालाई

जेष्ठ २४, २०८२

एजेन्सी

Tata is in charge of repairing iPhones in India

काठमाडौँ — एप्पलले भारतीय बजारमा आइफोन र म्याकबुक डिभाइसहरूको मर्मत गर्ने जिम्मा टाटा समूहलाई दिएको छ । यसले एप्पलको आपूर्ति श्रृंखलामा भारतीय कम्पनी टाटा समूहको भूमिकालाई थप महत्त्वपूर्ण बनाएको टिप्पणी भइरहेको छ ।

चीनभन्दा बाहिर आफ्नो उत्पादन विस्तार गर्न खोजिरहेको एप्पलका लागि टाटा प्रमुख आपूर्तिकर्ता बनेको द हिन्दुको समाचारमा भनिएको छ । टाटाले हाल दक्षिण भारतका तीनवटा कारखानामा स्थानीय तथा विदेशी बजारका लागि आइफोन असेम्बल (उत्पादन) गरिरहेको छ । त्यसमध्ये एउटा कारखानामा आइफोनका केही पाटपूर्जा निर्माण नै भइरहेको अनुमान गरिएको छ ।

टाटाले एप्पलको ताइवानी साझेदार ‘विस्ट्रन कम्पनी’को भारतीय शाखा ‘आईसीटी सर्भिस म्यानेजमेन्ट सोलुसन्स’ बाट मर्मतको जिम्मा लिन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अब टाटाले कर्नाटकस्थित आइफोन असेम्बली क्याम्पसबाटै मर्मत सेवा सञ्चालन गर्नेछ ।

विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार मानिने भारतमा आइफोन बिक्री तीव्र रूपमा बढ्दै गएकाले मर्मत सेवाको माग पनि बढेको छ । अनुसन्धान संस्था काउन्टरपोइन्टका अनुसार गत वर्ष भारतमा करिब १ करोड १० लाख आइफोन बिक्री भएका थिए । त्यसले भारतीय बजारमा एप्पलको हिस्सा ७ प्रतिशत पुर्‍याएको थियो । सन् २०२० मा एप्पलको हिस्सा १ प्रतिशत मात्रै थियो । 

रोयटर्सको समाचार अनुसार टाटाले कर्नाटकको कारखानाबाट जटिल प्रकृतिका मर्मत सेवा उपल्बध गराउनेछ । एप्पलका आधिकारिक सेवा केन्द्रहरूमा सम्भव नहुने खालका मर्मत यहाँ गरिन लागेका हुन् ।

एजेन्सी

Link copied successfully