मेटाले एआईका लागि आणविक ऊर्जा प्रयोग गर्ने

जेष्ठ २२, २०८२

एजेन्सी

Meta uses nuclear energy for AI

काठमाडौँ — ठूला प्रविधि कम्पनीहरूले आणविक ऊर्जा क्षेत्रमा लगानी गर्दै गइरहेको पछिल्लो श्रृंखलामा मेटा पनि थपिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्प्युटिङका आवश्यकता पूरा गर्न फेसबुकको प्यारेन्ट कम्पनी, मेटाले ‘कन्स्टिलेसन इनर्जी’सँग २० वर्ष अवधिको सम्झौता गरेको छ ।

योसँगै इलिनोइसस्थित कन्स्टिलेसन इनर्जीको आणविक ऊर्जा केन्द्रको उत्पादन क्षमता पनि विस्तार हुने भएको छ । यसअघि माइक्रोसफ्टले पनि कन्स्टिलेसनसँग ऊर्जा खरिद सम्झौता गरेको थियो ।

मेटासँगको सम्झौतापछि कन्स्टिलेसनको ‘क्लिन्टन क्लिन इनर्जी सेन्टर’ समेत पुन: सञ्चालनमा आउने भएको छ । अधिक घाटा बेहोरेपछि सन् २०१७ मै बन्द गर्न लागिएको सो सेन्टर त्यो बेला अमेरिकामा जिरो-इमिसन क्रेडिट प्रोग्राम (शून्य-उत्सर्जन क्रेडिट कार्यक्रम) सम्बन्धी कानून पारित भएकाले जोगिएको थियो ।  

नयाँ सम्झौताले प्लान्टको उत्पादन ३० मेगावाटले बढाउने, स्थानीयस्तरमा ११ सय कर्मचारीको जागिर थामिनु साथै वार्षिक १ करोड ३५ लाख अमेरिकी डलर राजस्व सिर्जना गर्ने कम्पनीको दाबी छ । एपीको समाचारअनुसार क्लिन्टन प्लान्टबाट हाल करिब ८ लाख अमेरिकी घरधुरीलाई विद्युत् आपूर्ति भइरहेको कम्पनीले जनाएको छ । 

एआई र डेटा सेन्टरहरूका लागि आवश्यक ठूलो परिणामको ऊर्जा आपूर्ति बढाउन र हरितगृह ग्यास उत्सर्जन उल्लेख्य रूपमा कटौती गर्ने विषयमा हाल ठूला प्रविधि कम्पनीहरूले दबाब सामना गरिरहेका छन् । स-साना न्युक्लियर रियाक्टरहरूमा लगानी बढिरहेका बेला ठूला कम्पनीहरू वैकल्पिक ऊर्जाका लागि आणविक ऊर्जामा सम्भावना खोजिरहेका छन् । 

फाइनान्सियल टाइम्सका अनुसार गत वर्ष अमेजन र गुगलले ऐतिहासिक ऊर्जा खरिद सम्झौता गरेका थिए । गुगलले काइरस पावर कम्पनी र अमेजनले एक्स-इनर्जी रियाक्टरसँग सम्झौता गरेको थियो । माइक्रोसफ्टले कन्स्टेलेसन इनर्जीसँगै खरिद सम्झौता गरेको र उक्त सम्झौता सन् २०२८ बाट कार्यान्वयन आउने र २० वर्ष अवधिको लागि मान्य हुने कन्स्टेलेसन इनर्जीले जनाएको छ । यस प्लान्टले माइक्रोसफ्टलाई झन्डै ८३५ मेगावाट कार्बनरहित ऊर्जा उपलब्ध गराउनेछ ।

एजेन्सी

Link copied successfully