काठमाडौँ — जर्मन सरकारले गुगल र फेसबुकजस्ता अनलाइन प्लाटफर्महरूलाई १० प्रतिशत कर लगाउने विषयमा मनन गरिरहेको जनाएको छ । त्यहाँको संस्कृति मन्त्रालयका राज्यमन्त्री वोल्फ्राम वेइमरले सञ्चारमाध्यमलाई यसबारे बताएका हुन् । यस कदमले ट्रम्प प्रशासनसँगको व्यापार तनावलाई थप जटिल बनाउने सम्भावना देखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटघाटका लागि जर्मन चान्सलर फ्रिडरिक मर्ज छिट्टै वासिङ्टन जान लागेका बेला अमेरिकी कम्पनीहरूमाथि नै कर लगाउने प्रस्ताव चर्चामा आएको छ । यद्यपि, भ्रमणबारे आधिकारिक घोषणा गरिएको छैन ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो देशका प्रविधि कम्पनीमाथि विद्युतीय सेवा शुल्क लगाउने देशमाथि कडा कदम उठाउने घोषणा गरेका थिए ।
राज्यमन्त्री वेइमरले अनलाइन प्लाटफर्ममा १० प्रतिशत करसम्बन्धी कानुनी प्रस्तावको मस्यौदा तयार भइरहेको र प्लाटफर्म अपरेटरहरूसँग छलफल गर्न खोजिरहेको बताएका छन् । उनले ती कम्पनीहरूलाई ‘कर छल्न चतुर’ भन्दै आलोचनासमेत गरेका छन् ।
यस वर्षको सुरुमा जर्मनीका सत्तारूढ दलहरूले डिजिटल सेवा करबारे विचार गर्न सहमति जनाएका थिए । तथापी, हालसालै गठबन्धनले प्राथमिकतामा राखेका परियोजनाहरूको सूचीमा भने परेन ।
