काठमाडौँ — प्रख्यात अमेरिकी एआई चिप निर्माता कम्पनी, एनभिडियाले साउदी अरेबियामा १८ हजार उन्नत सेमिकन्डर चिप निर्यात गर्ने भएको छ । यसमा लागि साउदी अरेबियाको सार्वजनिक लगानी कोष (पीआईएफ) मातहतको एआई स्टार्टअप ‘हुमेन’ सँग एनभिडियाले साझेदारी गरेको छ ।
उक्त सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरेबिया, कतार र यूएईको भ्रमणका क्रममा भएको हो । एनभिडियाका अत्याधुनिक ब्ल्याकवेल एआई चिप्स हुमेनको ५ सय मेगावाट क्षमताको डेटा सेन्टरमा प्रयोग गरिने जानकारी दिइएको छ । रियादमा आयोजित साउदी अरेबिया-अमेरिका लगानी फोरमले यसबारे अवगत गराएको फोर्ब्सले जनाएको छ ।
एनभिडियाले पहिलो चरणमा पठाउने चिप्स ‘जीबी ३०० ब्ल्याकवेल’ हुने जनाएको छ । यसैबीच, क्वालकमले पनि हुमेनसँग डेटा सेन्टर सीपीपू निर्माण गर्न सम्झौता गरेको छ। एएमडीले पनि हुमेनसँग सम्झौता भइरहेको जनाएको छ । हुमेनले पाँच वर्षभित्र ५ सय मेगावाट क्षमताको एआई हार्डवेयर पूर्वाधार तयार गर्न १० अर्ब डलरसम्म लगानी गर्ने योजना बनाएको छ ।
साउदी अरेबियन कम्पनी डाटाभोल्टले अमेरिकामा एआई डेटा सेन्टरहरूमा २० अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । यी खबर बाहिरिएसँगै एनभिडियाको सेयर मूल्य उच्च भएको छ भने सीईओ जेन्सेन हुआङको सम्पत्ति करिब १२० अर्ब डलर पुगेको फोर्ब्सले जनाएको छ ।
एनभिडया र हुमेनबीचको सम्झौता बुधबार रियादमा आयोजित साउदी-अमेरिका लगानी फोरमका मुख्य आकर्षणमध्ये एक थियो । सो कार्यक्रममा अमेरिकी राष्ट्रपति ट्रम्प पनि सहभागी थिए ।
